भगवानको नाममा प्रधानमन्त्रीको मौनता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको इच्छा डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउने थियो । भदौ ५ गते त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँको पदावधि सकिएपछि मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले पनि डा. कोइरालाकै नाम त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्ताव नगरेका होइनन् । तर, उपचारका लागि सिंगापुर जाने तयारीमा जुटेका प्रधानमन्त्री ओली डा. कोइरालाका नाममा मौन बसेका कारण उपकुलपति चयन हुन सकेन ।
प्रधानमन्त्री ओली उपचारका निम्ति सिंगापुर जानुभन्दा अघिल्लो दिन त्रिविलगायत खाली रहेका पूर्वाञ्चल, कृषि तथा वनविज्ञान र संस्कृत विश्वविद्यालयका उपकुलपति चयनको बैठक बसेको थियो । सो दिन बिहान ८ बजेदेखि ११ बजेसम्मै शिक्षामन्त्री पोखरेल, सर्च कमिटीका सदस्यहरू डिल्लीराम शर्मा र कमल गुरागाईंसमेतको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीसामु डा. कोइरालाको नाम सिफारिस गरे । सिफारिस गर्ने क्रममा मन्त्री पोखरेलले भने, ‘कोइराला कुन पार्टीका हुन्, कसलाई भोट हाल्छन्, यो विषयलाई त्यति महŒव नदिऔं । तर, उनलाई उपकुलपति बनाइयो भने त्रिविमा देखापरेका विसंगति हट्छन्, उनले सुधार ल्याउन सक्छन् ।’
प्रधानमन्त्रीसामु शिक्षामन्त्री पोखरेलले डा. कोइरालाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले भने कुनै प्रतिक्रिया जनाएनन् । डा. कोइरालाको नाममा प्रधानमन्त्री मौन रहे पनि उपकुलपतिको नाम प्रधानमन्त्री स्वयंले सिफारिस गर्न सक्थे । सर्च कमिटी औपचारिताका लागि मात्रै गठन हुने भएको हुँदा प्रायजसो उपकुलपति प्रधानमन्त्रीले चाहेकै व्यक्ति हुने परम्परा रहँदै आएको छ । तर, सो बैठकमा प्रधानमन्त्रीले उपकुलपतिका लागि कुनै व्यक्तिको नाम सिफारिस नगरेका कारण उपकुलपति छनोट हुन सकेन र शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले त्रिविको कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाइन् । सोही बैठकमा रिक्त रहेका अरू तीन विश्वविद्यालयमा पनि कार्यवाहक उपकुलपति नियुक्त गरिएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालाको अवधि सकिएको हुँदा ती विश्वविद्यालयमा क्रमशः डिन शारदा थपलिया, डिन बेजुकुमार थपलिया र रेक्टर रमेश ढकालले कार्यवाहक उपकुलपतिको जिम्मेवारी पाएका छन् ।
त्यसो त त्रिविको उपकुलपतिमा प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुअघि शिक्षामन्त्री पोखरेलले डा. कोइरालासँग परामर्श गरेका थिए । शिक्षा मन्त्रीले उपकुलपतिमा प्रस्ताव राखेपछि डा. कोइरालाले पनि रुचि देखाएका थिए । डा. कोइरालाले भनेका थिए, ‘म उपकुलपति बन्न इच्छुक छु । तर, मलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ । अझ मेरो नियुक्तिपछि त्रिविमा ताला लाग्न सक्छ । मेरा विरोधीहरूले आन्दोलन गर्न सक्छन् । त्यस्तो स्थिति उत्पन्न भयो भने मलाई शिक्षा मन्त्रालयमै एउटा कोठाको व्यवस्थासमेत गरिदिनुपर्छ, जहाँबाटै म त्रिवि सञ्चालन गर्न सकूँ ।’
त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा प्राध्यापनरत डा. कोइरालाले तत्कालीन उपकुलपति डा. खनियाँ र अर्का प्राध्यापक डा. गोविन्द केसीसँग असहमति जनाउँदै सेवाबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि डा. कोइरालाले ‘केसी र भिसीका कारण मैले राजीनामा दिनुप¥यो’ भनेर सार्वजनिक रूपमै बोलेका थिए । विगतमा उपकुलपति र डा. केसीसँग असहमत डा. कोइरालालाई उपकुलपति बनाउन पाए हुन्थ्यो भन्ने लागेर नै शिक्षामन्त्री पोखरेलले उनको नाममा जोड दिएको बताइन्छ । राजीनामा दिएपछि डा. कोइराला बाल अस्पताल खोल्ने तयारीमा जुटेका थिए । उनले सरकारले उपलब्ध गराएको ३ सय रोपनी जग्गामा अत्याधुनिक बाल अस्पताल खोल्न लागेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply