झन् सल्बलाउन थाले सुन तस्कर
काठमाडौं । पछिल्लो समय सुन तस्करहरू चर्को ढंगले सल्बलाउन थालेका छन् । ३३ किलो सुन तस्करीको छानविन प्रक्रियाले अन्तिम टुंगो नपाउँदै विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । यसले नेपाल अन्तर्राष्ट्रिय तस्करहरूको ट्रान्जिट बिन्दु भएको र उनीहरूले निर्धक्क सेटिङ मिलाएर विमानस्थलबाटै सुन तस्करी गरिरहेको स्पष्ट भएको छ ।
हङकङबाट आएको नेपाल एयरलाइन्सको उडान आरए ४१० बाट ती दुई चिनियाँ नागरिक उक्त सुनसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू चेन होङयाङ र चेन इङचुहाङ रहेका छन् ।
त्यसैगरी अर्का चिनियाँ नागरिक सा लुटुई एक किलो सुनसहित पक्राउ परे । तिब्बत एयरमा चीनबाट काठमाडौं आएका लुटुईले मलद्वारभित्र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यी दुई घटना एक साताबीचका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तस्करी नरोकिएको बरु उल्टै बढ्दै गएको यी दुई घटनाले पुष्टि गर्दछ । भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै सुनको तस्करी रसुवाको केरुङ नाकाबाट हुँदै आएको थियो ।
संगठित रूपमा ठूलो परिमाणको सुन केरुङबाट तस्करी हुँदै आएकोमा अहिले त्रिभुवन विमानस्थलबाट पनि सुन तस्करी भइरहेको पुष्टि भएको छ ।
प्रहरीको संरक्षणबिना सुन तस्करी हुनै नसक्ने बताइन्छ । तसर्थ, यी दुई घटना प्रहरीसँग सेटिङ नगरी ल्याइएका कारण वा लेनदेनमा कुरा नमिलेपछि प्रहरीले पक्राउ गरेको हो, अड्कल काट्न कसैलाई गाह्रो पर्दैन ।
एयरपोर्टबाट सुन तस्करी गर्ने गिरोह अहिले संगठित रूपमा लागेको मात्रै होइन, विमानस्थलमा कार्यरत सुरक्षा निकायहरूलाई प्रभावमा पारी तस्करीमा सक्रिय छ भन्ने कुरा पनि पुष्टि हुन्छ ।
हुन्डीको अवैध कारोबारमा संलग्न रहेका तस्करहरू नै अहिले सुन तस्करीमा लागेको आशंका व्यापारीहरूले गर्दै आएका छन् । स्थलमार्ग केरुङबाट सुन ल्याउँदा धेरै जोखिम मोल्नुपर्ने र बीचमा लुटपाट हुनसक्ने भएका कारणले पनि विमानस्थललाई प्रयोग गरेर सुन तस्करी सुरु भएको देखिन्छ ।
पछिल्लो सयम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिमाण हेर्दा सेटिङमा नै सुन तस्करी भइरहेको पुष्टि हुन्छ । तस्करीमा हुन्डीका तस्करदेखि विगतमा सुनको तस्करीमा संलग्न रहेका तस्करहरू नै सक्रिय हुन थालेको आशंका गरिएको छ । प्रहरीले सुन तस्करीको जालो तोडिएको दाबी जति गरे पनि त्यो झूटो साबित भएको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य बढी भएका कारण पनि सुन तस्करहरू नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करीमा सक्रिय हुँदै आएका छन् ।
प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पनि विगत एक वर्षमा विमानस्थलबाट मात्रै ३६ किलो सुनसहित ९१ जना पक्राउ परेको देखिन्छ । सुनसहित पक्राउ परेकामध्ये सबैभन्दा बढी नेपाली र त्यसपछि भारतीयहरू रहेका छन् । एयरपोर्टबाहेक रसुवाको केरुङ, गोरखाको उत्तरी नाका र संखुवासभाको किमाथांका नाकाबाट सुनको तस्करी भइरहेको देखिन्छ ।
२०७४ चैत २० गते गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदनमा समेत यी नाकाहरूको नाम उल्लेख गरिएको छ । पौडेलको समितिले दिएको प्रतिवेदनकै आधारमा पक्राउ परिने डरले सुन र डलरको तस्करका रूपमा आफ्नो छवि बनाएका मोहनकुमार अग्रवाल हालसम्म पनि फरार छन् । उनीविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरे पनि पक्राउ गर्न सकेको छैन । अग्रवालले लामो समयदेखि डलर, हुन्डी र सुनको अवैध कारोबार गर्दै आएका थिए । विशेष टोलीले झन्डै ३ सय जनामाथि थप अनुसन्धानको सिफारिससहित गत साउनमा सरकारलाई बुझाएको प्रतिवेदनमा अग्रवालमाथि मुख्य लगानीकर्ता, व्यवस्थापक र तस्कर भएको उल्लेख छ ।
विमानस्थलबाट भित्रिने सुन विशेष गरेर दुबई, कतार, हङकङ, थाइल्यान्ड, सिंगापुर र चीन हुँदै भित्रिने गर्दछ । प्रहरी मुख्यालयको तथ्यांकले ६ वर्षको अवधिमा ६ क्विन्टल तस्करीको सुन बरामद भएको र यसको कारोबारमा संलग्न ३ सय ८८ जना पक्राउ परेको देखिन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply