हिन्दु देवताको शल्यक्रिया
क्रिस्टोफर कडबेलले भनेका थिए, ‘धर्म एक मिथ्या सूर्य हो, जो दिग्भ्रमित मानिसहरूको वरिपरि परिक्रमा गर्दछ ।’ हुन पनि, मानव जातिको उत्पत्तिकालदेखि नै धर्मको प्रभाव रहँदै आयो र बहुसंख्यक मानिसहरूलाई त्यही समयदेखि नै दिग्भ्रमित तुल्याउँदै आएका छन् । विभिन्न धर्मले विभिन्न खाले देवीदेवताहरूका निर्माण गरेर मनुष्यलाई ती देवताहरूप्रति झन्झन् आस्थावान् तुल्याउन बाध्य पारिरहेको छ । विभिन्न धर्महरूमा जस्तै हिन्दु धर्मप्रति आस्थावान् मानिसहरूले विभिन्न देवताहरूलाई पुज्दै, मान्दै आएका छन् । मूलतः हिन्दु धर्मले ब्रह्मा, विष्णु र महेश्वर (शिव) लाई प्रमुख देवताको मान्यता दिएको छ र संसारमा जति पनि हिन्दु धर्मावलम्बी छन्, तिनीहरूले यिनै तीन देवतालाई मान्दै आएका छन् ।
स्रष्टा रोहित दाहालले भने हिन्दु धर्मावलम्बीहरूले अति पुज्ने गरेका केही देवताहरूका यथार्थ खोतल्ने प्रयत्न गरेका छन् । उनको कृति ‘विष्णुका अवतार ः माक्र्सवादी विश्लेषण’मा विभिन्न देवताका शल्यक्रिया गरिएको छ । माक्र्सवादी चिन्तक÷लेखकहरूले लामो समययता हिन्दु धर्मका अनेक पक्षमाथि गहन र शोधपरक विश्लेषण गर्दै आएका छन् । सोही क्रममा विभिन्न देवताका वास्तविक रहस्य उतार्न पनि तल्लीन देखिएका छन् । दाहालको यो पुस्तक हिन्दु देवताहरूको चिरफार गर्ने कडीकै एक शृंखला हो ।
विष्णुको चामत्कारिक अवतारबारे विभिन्न ग्रन्थहरूमा अनेक कथा÷उपकथा रचिएका छन् । निर्जीव पदार्थहरूदेखि वनस्पतिहरूमा समेतमा विष्णुको छवि र उपस्थिति देख्ने र सोहीअनुरूप पूजा–आराधना गर्ने क्रम लामो समयदेखि चल्दै आएको छ । पीपलको रूखलाई विष्णु भगवान् सम्झेर जल चढाउने, पूजा–अर्चना गर्ने कार्य होस् वा निर्जीव ढुंगालाई विष्णुको प्रतिक मानेर पुज्ने कार्य होस्, धर्मप्रति आस्था राख्नेहरूले यस्ता कार्य नित्य रूपमा गर्दै आएका छन् । दाहालले भने विष्णुदेखि अरू भगवान्हरूका अवतारको वास्तविकतालाई माक्र्सवादी कोणबाट हेर्ने प्रयत्न गरेका छन् । उनले मत्स्य, कर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्की अवतारबारे मिहीन ढंगले केलाउन चाहेका छन् ।
पहिलो खण्डमा विष्णुलगायत देवताहरूका अवतार खोतल्ने क्रममा उनले लेखेका छन्, ‘कुनै समयमा जन्मिएको वा जन्माइएको अवतारका कथाहरू रच्दा ती अवतारहरूको अतिरञ्जित प्रशंसा गर्ने र उनीहरूलाई आश्चर्यजनक पात्रको रूपमा प्रस्तुत गराउने प्रयत्न पनि गरिएको पाइन्छ । आजको एक्काइसौं शताब्दीमा कतिपय बाबा र अन्यको अतिरञ्जित प्रचार हुन सक्छ भने त्यस बेलाका रचनाहरूमा त्यस्ता आश्चर्यजनक घटनाहरू समेटिनु कुनै अनौठो कुरा होइन ।’
दोस्रो खण्डमा भने ईश्वरको जन्म, आदिम साम्यवाद र ईश्वरको उत्पत्ति, दास प्रथा, सामन्तवादी व्यवस्थाकालमा राजा र धार्मिक गुरुहरूको चहलपहल, पुँजीवाद र ईश्वरको व्यापार, समाजवाद र ईश्वरको भौतिक मृत्युलगायतका विषय उठाइएका छन् । उत्पादन शक्ति र उत्पादन सम्बन्धहरूले नै सबै सामाजिक सम्बन्धहरूको चरित्र निर्धारण गर्दै आयो । देवताहरूका उत्पत्ति–कथा र त्यसले समाज र व्यक्तिमा छाडेको गहिरो प्रभावमा पनि उत्पादनशक्ति र उत्पादन सम्बन्धहरूको उल्लेख्य भूमिका रहेको छ । लेखकले यो पक्षलाई माक्र्सवादी चिन्तन प्रक्रियाबाट विश्लेषण गरेका छन् ।
निश्चय नै, अनेक देवीदेवताहरूको उत्पत्ति मानव जीवनको असुरक्षा र अनिश्चयका कारण हुन पुग्यो । जब मानिसहरू भय र डरले थिचिन्थे, त्यहाँ एउटा न एउटा देवताले जन्म लिन्थ्यो । ब्रह्मा, विष्णु र शिवजस्ता देवताहरूको जन्म पनि मानव भय, असुरक्षा र अनिश्चयकै परिणति हो । लेखक दाहालले यिनै कुरामा केन्द्रित रहेर देवताहरूको वास्तविकता खोतल्न चाहेका छन् ।
कृति ः विष्णुका अवतार ः माक्र्सवादी विश्लेषण
विधा ः लेख–सँगालो
लेखक ः रोहित दाहाल
प्रकाशक ः खेमनाथ खतिवडा
पृष्ठ ः ९०
मूल्य ः रु. २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply