वैचारिक ताप
निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका छन् ।
‘मौलिकता’मा संसारमा कुनै पनि चिज मौलिक नरहेको ठम्याइ गर्न खोेजेका छन् उनले । आज जसले आफ्नो सिर्जनालाई मौलिक रहेको प्रचार गरे पनि पूर्ववर्ती समाज र व्यक्तिहरूले त्यसको प्रयोग गरिसकेको हुँदा मौलिकताको कुरा गर्नुको अर्थ नरहेको निचोड निकाल्छन् उनी । नयाँ स्रष्टाले मौलिक रचना सिर्जना गर्न पूर्ववर्ती स्रष्टाहरूका सिर्जनालाई गहन अध्ययन गर्नुपर्ने सुझाव पनि उनी दिन चाहन्छन् । ‘सम्पादनको शक्ति’मा भने कुनै पनि सर्जकको कोरा सिर्जनालाई झकिझकाउ पार्ने कला सम्पादकहरूसँग हुने तथ्यप्रति बोध गराउन चाहेका छन् । आफूसँग संगत भएका साहित्यिक पत्रिकाका केही सम्पादकहरूसँगको अनुभव पस्किँदै उनले सम्पादकलाई यस्तो उपमा दिएका छन्, ‘सम्पादक भनेका पारसमणि हुन् ।’
‘सैलुङ’ उनको स्मृतिसँग जोडिएको निबन्ध हो । बाल्यकालीन दिनहरूमा आफूले हरेक दिन देख्ने गरेको उच्च पहाडी भूभाग सैलुङलाई सम्झेर उनी आह्लादित बन्न पुगेका छन् । ‘ऐना’ भने हरेक क्षेत्रमा व्याप्त भ्रष्ट मनोवृत्तिलाई नंग्याउन उद्यत देखिन्छ । सामान्य वेतन थाप्ने कर्मचारीहरूले सहरमा गगनचुम्बी महल ठड्याउनुमा के भ्रष्ट आचरणले निर्देश गरेको छैन ? यस्तो प्रश्न उठाएका छन् उनले । र, भ्रष्ट चरित्र बोकेकाहरूले देश र समाजलाई रित्याउँदै लगेकोमा चिन्तासमेत प्रकट गरेका छन् ।
‘सर्पहरूको संगीत’मा तिखो कटाक्ष अंकित छ । सर्पहरूको आचरण, स्वभाव र प्रवृत्तिका हरेक अंशलाई केलाउनतिर उद्यत रहे पनि त्यो निबन्धले मान्छेको आवरणभित्र लुकेर बसेको सर्प–प्रवृत्तिमा माथि निखर व्यंग्य वाण सोझ्याएका छन् । एउटा पंक्ति हेरौं, ‘बाँच्नु जीवनको एउटा आधार र डस्नु उनीहरूको रंगीन परम्परा भएकाले पनि समयको यति लामो प्रवाहमा हेलिँदा उनीहरू परम्पराबोधबाट पृथक् भएर अगाडि बढ्न सकिरहेका छैनन् अथवा खोजिरहेका छैनन् ।’ उनका दुई दर्जनजति निबन्धहरूले जीवनका नैतिक मूल्य र मान्यताहरूलाई चित्रांकित गर्न खोजेका छन् ।
हरेक रचनामा अनुभवसिद्ध विश्लेषण गर्ने उनको खुबी र दक्षताले उनको निबन्धकारिता समकालीन सर्जकहरूभन्दा केही पृथक् लाग्छन् । उनी हरेक घटनामा लुकेर बसेको नैतिक मूल्यलाई मूल्यांकन गर्छन् । तर, लामो वाक्य–संरचनाले भने कतिपय निबन्धलाई बोझिलो बनाएको छ । एउटा उदाहरण हेरौं, ‘पाकेको बेल पाएर हर्ष न बिस्मात् हुन पुगेको लाचार कागझैं गरिबीको आकण्ठ भासमा डुबेका निसहाय मानिसलाई भोकको खग्रासले खँगारेर आच्छु–आच्छु पार्दै हिँडेको हुनाले पनि खाली पेटको सकसले शिथिल हुन पुगेको दरिद्र घडमा कसैले वास्ता राख्न नसकेको हुन सक्छ ।’
अतः उनका रचनाहरूमा सुस्पष्ट रूपमा वैचारिक उत्तेजनाको ताप देख्न सकिन्छ । राष्ट्र, समाज र व्यक्तिहरूमा बदलिँदै गएका परिवेशको रेखांकन नियाल्न सकिन्छ । सहजै भन्न सकिन्छ, आफ्ना सिर्जनाहरूले उनलाई एक सजग, संवेदनशील र मानवीय सरोकारप्रति चिन्तित विचारकका रूपमा स्थापित तुल्याएको छ ।
कृति ः लाक्षागृह
विधा ः निबन्ध
निबन्धकार ः माधव काफ्ले
प्रकाशक ः अभिव्यक्ति प्रकाशन
पृष्ठ ः २१६
मूल्य ः २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply