बहुसंख्यकलाई चित्त बुझेन हेटौंडामा राजधानी
काठमाडौं । बहुसंख्यक सांसदहरूको असहमतिका बाबजुद सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ३ को राजधानी र नामकरण टुंगो लगाएपछि यो विषय अझ पेचिलो बन्ने देखिएको छ । राजधानी र नाम टुंग्याउन सोमबार आह्वान गरिएको प्रदेशसभाको बैठक सुचारु रूपमा अघि बढ्न सकेको छैन । हिजो प्रदेशको राजधानी र नाम टुंग्याउन बैठक बोलाइए पनि सहमति जुट्न नसकेकाले स्थगित भएको थियो ।
प्रदेशसभा गठन भएदेखि नै प्रदेश ३ को राजधानी र नामकरणको विषय अल्झिँदै आइरहेको थियो । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले हेटौंडालाई अस्थायी राजधानी तोक्ने निर्णय गरेको थियो भने नामकरणको विषयमा प्रदेशसभामा विभिन्न नाम प्रस्ताव गरिएका थिए । तर, लामो समयदेखि राजधानी र नाम टुंगो नलागेपछि सत्तारूढ नेकपाको सचिवालयले केही दिनअघि हेटौंडालाई राजधानी तोक्ने र बाग्मती नाम राख्ने टुंगो गरेको थियो ।
नेकपाको सचिवालयले नाम र राजधानी टुंगो लगाएपछि सोमबारदेखि प्रदेशसभाको बैठक सुरु भएको थियो । तर, प्रदेशसभाको बैठकमा बहुसंख्यक सांसदले हेटौंडालाई राजधानी र प्रदेशको नाम बाग्मती नस्विकार्ने संकेत देखिएको थियो । हेटौंडाभन्दा पायक ठाउँमा राजधानी बनाउनुपर्नेमा अधिकांश सांसद उभिएका छन् । सत्तारूढ दल नेकपाको सचिवालयले हेटौंडालाई राजधानी तोके पनि उक्त निर्णयको पक्षमा ६ जना सांसदमात्र उभिएका थिए । सो पक्षमा सांसदहरू अजयक्रान्ति शाक्य, योगेन्द्र संग्रौला, गणेश दुलाल, दीपक निरौला र राजेश शाक्य मात्र रहेका थिए । उनीहरूले हेटौंडालाई राजधानी स्विकार्न सकिने बताए पनि नाम भने बाग्मती राख्न नहुने पक्षमा अडान लिएका थिए । उनीहरूले प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्नुपर्ने बताउँदै आएका छन् ।
तर, बहुसंख्यक सांसद भने राजधानी र नाम दुवै परिवर्तन गर्नुपर्ने पक्षमा उभिएका छन् । सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, प्रकाश श्रेष्ठ, वसन्त मानन्धर, केशव पोखरेल, रमा आले, कुसुम कार्की, उर्मिला कर्माचार्य, केशव स्थापित, लक्ष्मण लम्साल, चन्द्र लामालगायत भने राजधानी काभ्रेमा राख्नुपर्ने पक्षमा उभिएका छन् । उनीहरूले नामको विषयमा पनि सोच्नुपर्ने कुरा उठाएका छन् । यसअघि प्रदेशसभाले राजधानी र नाम सिफारिस गर्न संसदीय समिति बनाएको थियो । उक्त समितिले राजधानीको विषयमा हेटौंडा, काभ्रे, नुवाकोट, भक्तपुरलगायत ठाउँ सिफारिस गरेको थियो भने नामकरणको विषयमा बाग्मती, नेवा–ताम्सालिङ, गौरीशंकर, नेपालमण्डललगायत नाम सिफारिस भएको थियो ।
नेकपाको सचिवालयले राजधानी र नाम टुंग्याए पनि सांसदहरूलाई अहिलेसम्म कुनै निर्देशन भने नदिएको बताइन्छ । सचिवालयले टुंग्याएसँगै सोमबारदेखि संसद् बैठक आह्वान गरिएको थियो र सभामुख सानुकुमार श्रेष्ठले हिजो मंगलबार प्रदेशको नाम र राजधानीको विषयमा कार्यतालिका सार्वजनिक गरेका थिए । तर, बहुसंख्यक सांसदको असहमति देखिएपछि मंगलबारको कार्यतालिकालाई एक दिनपछि सारेर आज बुधबार प्रस्ताव हुने भएको छ ।
हेटौंडालाई राजधानी बनाउने विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सुरुदेखि नै नेकपाका शीर्ष नेतृत्वसँग लबिइङ गरेका थिए । सूत्रका अनुसार मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि यो विषयमा सहमत तुल्याएका थिए । तर, पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडा पुगेर हेटौंडाको पक्षमा अभिमत दिएपछि हेटौैंडा राजधानी तोकिएको हो ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply