बदलिँदो सामाजिक विकृति र विश्व अनुभव
प्रत्येक समाजका आ–आफ्ना विशेषता हुन्छन् । समाजअनुसार सामाजिक मुद्दा र समस्याहरू पनि रहेका हुन्छन् । समाजमा हुने आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्तरीकरण, विभेद, अन्याय, विमति, बेमेल आदिका कारण मानिसहरूका सरोकार, प्र्राथमिकता र आवश्यकता फरक खालका हुन्छन् । व्यक्ति, परिवार तथा विभिन्न सामाजिक एकाइ मिलेर एउटा समाज बनेको हुन्छ । व्यक्ति–व्यक्तिका आफ्ना आवश्यकता वा मुद्दा मिलेर सामाजिक मुद्दा बन्ने गर्छन् । समाजको आफ्नै आवश्यकता, इतिहास र स्वभावअनुसार मानिसहरूका काम, पेसा, विचार, प्राथमिकता आदिका कारण उनीहरूमा सामाजिक स्तरीकरण हुँदै आएको हुन्छ । कुन पेसा वा आयका मानिसहरूले कस्तो खालको जीवन निर्वाह गर्ने गरेका छन् । त्यसले पनि स्तरीकरण वा सामाजिक विभेदलाई मलजल गरेको हुन्छ । समाजमा रहेको सहर–बजार, भूगोल–क्षेत्र, तह–तप्का, भाषा–शिक्षा, लवाइ–खवाइ एवं भौतिक वस्तुको प्रयोगको क्षमता र तरिका आदिका कारण पनि मानिसहरूमा विभेद हुने गरेको पाइन्छ । नेपाली समाज आधुनिकतातर्फ तीव्र गतिमा लम्किरहेको छ भने अनेकौं सामाजिक समस्यासमेत बढेर गएका छन् । विकसित युरोप र अमेरिकी समाजमा समेत सामाजिक स्तरीकरण र एक प्रकारको सामाजिक विभेद हुने गरेको छ । उनीहरूले त आफ्नो समाजसम्बन्धी धारणामै माथिल्लो स्तर (अपर क्लास), मध्यम स्तर (मिडल क्लास) र न्यून स्तर (लोअर क्लास) भन्ने व्याख्या गरिआएका छन् । यसरी हेर्दा सामाजिक स्तरीकरणको मूल आधार पनि आर्थिक आधार नै हो भन्ने प्रमाणित हुन्छ । जर्मनका चर्चित दार्शनिक कार्ल माक्र्सले त्यसैले समाजमा ‘हुँदा खाने र हुने खाने’ बीचमा सधैं द्वन्द्व हुने उल्लेख गरेका थिए । त्यस प्रकारको आर्थिक असमानता र खाडलको न्यूनीकरण गर्न नै राज्यले सामाजिक न्यायमा आधारित आर्थिक अधिकार र अवसरबाट सबैलाई समेट्नुपर्ने धारणाको विकास भएको हो । नेपाली समाजमा पनि सन् १९९० को राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, समावेशीकरण, समता, समानता, न्याय, सहभागिताजस्ता धारणाले स्थान पायो । सन् २००६ को लोकतान्त्रिक आन्दोलन र सन् २०१५ को नयाँ संविधान निर्माण भएपछि त्यसमा अझ व्यापक रूपमा औपचारिकता तथा संवैधानिक हैसियत स्थापित भएका छन् । मानिसको लागि पहिलो र आधारभूत अधिकार बाँच्ने अधिकार भएको कुरालाई सन् १९४५ को संयुक्त राष्ट्रसंघको बडापत्र, सन् १९४८ को मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, सन् १९६६ का नागरिक तथा राजनीतिक अधिकार तथा आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धि अनुबन्धहरूले ग्यारेन्टी गराएका छन् । त्यसो त मानिसका बाँच्न पाउने, बोल्न पाउने जस्ता राजनीतिक अधिकार तथा बाँच्नका लागि आवश्यक हुने विभिन्न आर्थिक अधिकारको औपचाकिता दिने विश्व घटनामा सन् १७७६ को अमेरिकी स्वतन्त्रता संग्राम, सन् १७८९ को फ्रान्सेली क्रान्ति, सन् १७८९ को अमेरिकी संविधानजस्ता विश्व चर्चित घटना र क्रान्तिलाई प्रमुख मानिन्छ । नेपाली समाज र राजनीतिमा समेत त्यस्ता घटना भारतीय राजनीति र समाज हुँदै आएको देखिन्छ । मानिसका आफ्ना उमेर, वर्ग, क्षेत्र, भूगोल, भाषा, धर्म, लिंग आदिका आफ्नै खालका मुद्दा, समस्या, भोगाइ र सामाजिक आवश्यकता हुन्छन् । त्यसैमा पनि सामाजिक स्तरीकरण तथा विभेद रहेका हुन्छन् । त्यस्ता प्रकारका विभेद, पीडा र मुद्दाको समाधान गर्न नै मानिसको लागि विधिसम्मत्त राजनीतिक प्रणाली, संविधान–कानुन, लोकतन्त्र, प्रणाली, व्यवस्थापन, सामाजिक न्याय, जननिर्वाचित सरकार, उत्तरदायी प्रशासन, नागरिक समाजजस्ता कुराको आवश्यकता भएको हो । व्यक्ति र समाज हुनेबित्तिकै आफ्ना प्रकारका हित र आवश्यकता हुन्छ नै । सोही कारण साधन–स्रोतका लागि सामाजिक द्वन्द्व पनि हुँदै आएको हुन्छ र छ । विकसित युरोप–अमेरिकाको इतिहास हेर्ने हो भने पनि त्यहाँ ठूला–ठूला सामाजिक–राजनीतिक, आर्थिक–धार्मिक अनेका प्रकारका भयंकर हिंसा र द्वन्द्वबाटै समाज आजको अवस्थामा आइपुगेको देखिन्छ । त्यस्ता द्वन्द्व र हिंसाको विधिसम्मत्त, शान्तिपूर्ण र तार्किक समाधानका लागि उनीहरूले लोकतान्त्रिक विधि र प्रणालीको विकास गर्दै आएका हुन् र गर्दैछन् । व्यक्ति र नागरिकको शासन प्रणालीमा अपनत्व र सहभागिताका लागि उनीहरूले विधिको शासन, सीमित सरकार, शक्ति पृथकीकरण, आवधिक निर्वाचन, स्वतन्त्र र सक्षम न्यायालय, नागरिक समाज जस्ता कुराको विकास र बिस्तार गर्दै आएका हुन् । र, नेपाली समाजले पनि त्यस्ता आधुनिक र अपरिहार्य कुराहरूको अनुभवबाट सिक्दै र लागू गर्दै आएको देखिन्छ । सामाजिक समस्या तथा मुद्दाहरूको विधिसम्मत्त र शान्तिपूर्ण समाधान गरी द्वन्द्वलाई न्यूनीकरण गर्न र नागरिकको अपनत्व स्थापित गर्न शासनमा नागरिक सहभागिताको मुद्दालाई स्वीकार गरिएको हो । मानिसको समग्र विकासका लागि आधारभूत विषयमा रहेको शिक्षालाई विश्वका सबैजसो सरकार र समाजले प्रत्येक नागरिकको न्यूनतम अधिकारका रूपमा व्याख्या र लागू गरिआएका छन् । शिक्षा र जागरणका कारण मानिसहरूको सोच, विचार र क्षमतामा पनि व्यापक विकास र विस्तार भएको देखिन्छ । मानिसमा महिला र पुरूष मात्र हुन्छन् भन्ने स्थापित सामाजिक मान्यतासमेत आज खण्डित भइसकेका छन् । नेपाली समाजमा समेत तेस्रोलिंगीलाई सामाजिक, संवैधानिक र कानुनी मान्यता प्रदान गरिएका छन् । त्यस्तै समाजमा रहेका शारीरिक दृष्टिले असक्षम व्यक्तिको समेत सबै अधिकारलाई संवैधानिक, कानुनी, सामाजिक र व्यावहारिक हिसाबले सुरक्षित र व्यवस्थित गरिएका छन्, गरिँदैछन् । र, पुरातन समाजमा असक्षम र पाप ठानिने त्यस्ता व्यक्तिले समेत आफूलाई अन्य सरहका कतिपय कार्यमा सक्षम साबित गरेका घटना नेपाली समाजमा पनि देख्न र सुन्न सकिन्छ । यस दृष्टिकोणले हरेक व्यक्तिका चाहना, आवश्यकता, अधिकार आदिको दायरा फराकिलो भएका छन् । अर्काेतर्फ व्यक्तिले आफ्ना भौतिक, शारीरिक एवं मनौवैज्ञानिक आवश्यकता पूर्तिका लागि विभिन्न प्रकारका वैध–अवैध, कानुनी–गैरकानुनी, सामाजिक–गैरसामाजिक, हुने–नहुने सबै प्र्रकारका कार्य र व्यवहार गर्दै आएका छन् । आधुनिकता र सहरीकरणसँगै यस्ता गतिविधि बढेका छन् । नेपाली समाजका लागि पनि यो खालको समस्या एउटा ठूलो चुनौती बनेर खडा भएको छ । आधुनिक र विकसित समाजमा ज्ञान–विज्ञान, भौतिक वस्तु एवं सूचनाको विकाससँगै मानिसका अनेकथरी आवश्यकता चौतर्फी रूपमा बढिरहेको छ र सोही कारण विभिन्न प्रकारका नयाँ–नयाँ अपराध तथा गैरसामाजिक हर्कत र कुकर्म बढिरहेका छन् । मानिसले आफूलाई समाजमा देखाउन, स्तरीकरण भएको अनुभूति गर्न र आर्थिक रूपले टिकाउन सामाजिक र गैरसामाजिक, कानुनी र गैरकानुनी, नैतिक र अनैतिक सबै प्रकारका कार्य गर्दै आएकाले आधुनिक भनिने समाजमा सोच्नै नसकिने खालका समस्याहरू देखिन थालेका छन् । भौतिकता, ज्ञान, विज्ञान, विकास, समृद्धिजस्ता सबै कुरा हाम्रा लागि आवश्यक विषय हुन् । तर जसरी शरीरका लागि विभिन्न प्रकारको पोषण तŒवको आवश्यक हुन्छ र सोही पोषण तŒवको सन्तुलन गर्न सकिएन भने सुगर, प्रेसर, क्यान्सरजस्ता अनेकौं रोग लाग्न सक्ने भएजस्तै आधुकिकता र विकास, सूचना र विश्वव्यापीकरण, वस्तु र सेवाको उपभोगका कारण व्यक्ति र समाजमा अनगिन्ति सामाजिक रोगका लक्षण देखिन थालेका छन् । खाएको व्यवस्थापन गरेर शरीर स्वस्थ्य राख्नु परेजस्तै समाजमा देखिएका अनेक असामाजिक र कुमर्मलाई न्यूनीकरण गर्दै सभ्य समाजको निर्माण गर्नु आजको नीति र राज्य प्रणालीको मूल चुनौती र सवाल हो । सामाजिक समस्या र मुद्दा अन्त्य हुने विषय होइनन् । बरु नयाँ–नयाँ रूप, शैली र तरिकाबाट प्रकट भइरहेका हुन्छन् । यसलाई शिक्षा, सचेतना, दण्ड र पुरस्कार आदिका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । आज विश्वका कुनै समाज र मुलुक सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक आदि समस्याबाट मुक्त छैनन् र पूर्ण रूपमा मुक्त सम्भव हुने कुरा पनि होइन । नेपाली समाज पनि विकास, आधुनिकता, विश्वव्यापीकरण, निजीकरण, बजारीकरण, सूचना, प्रविधि, ज्ञान, सहरीकरण आदिको विस्तारबाट प्रभावित हुँदै आएको छ । कतिपय अवस्थामा यसले व्यक्ति र समाजलाई माथि लग्न टेवा दिएका छन् । तर विकसित युरोप–अमेरिकामा आज देखिएका सामाजिक समस्या र मुद्दाबाट पाठ सिकेर भोलीको नेपाली समाजमा देखिन सक्ने सामाजिक विकृति, समस्या र मुद्दाको आजैदेखि आँकलन गर्नु आजको आवश्यकता र चुनौती दुवै हो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply