अर्थसचिवको आँखा गभर्नरतिर
काठमाडौं । यसै हप्ता नेपाल सरकारका केही सचिवले अवकाश पाए । अर्थ सचिव राजन खनाल, गृहसचिव प्रेमकुमार राई लगायतको अवकाशसँगै अर्को मालदार निकायमा नियुक्तिका लागि सेटिङ भइसकेको बुझिएको छ । जीवनभरि सरकारी जागिर खाएर पेन्सनरहरुलाई अवकाश भएको केही दिनमै अर्को ठाउँमा नियुक्ति दिने प्रचलन बढेको छ । दिनेश थपलियालाई निर्वाचन आयोगमा पनि यसैगरी लगिएको थियो । अवकाशको चार दिनअघि राजीनामा स्वीकृत गराएका गृहसचिव राईको बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘उहाँ जत्तिको मान्छेलाई हामीले अर्को ठाउँमा जिम्मेवारी दिने कुरा तय गरिसकेका छौं’ भनेर कुनै संवैधानिक आयोगमा जिम्मेवारी दिने संकेत गरेका थिए ।
त्यसो त रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा राईको नियुक्तिको यसअघि नै चर्चा चलेको थियो । हुन त आयुक्तका लागि अर्थ सचिव राजन खनालले पनि आँखा लगाएका हुन् । तर, सो पदमा राईको निश्चित जस्तै हुने भएपछि खनालले राष्ट्र बैंकको गभर्नरमा नजर लगाएको थाहा भएको छ ।
नेपाल राष्ट्र बैंकको गर्भनरका लागि विभिन्न व्यक्ति सक्रिय बनेका छन् । शक्ति केन्द्र धाउने चलनलाई पछ्याउँदै नेताहरूको आशीर्वाद लिन गभर्नरका आकांक्षीहरूको दौड सुरु भएको हो । दुई महिनापछि हालका गभर्नर चिरञ्जीवी नेपालको पदावधि सकिँदैछ । केन्द्रीय बैंकको बहालवाला गभर्नर डाक्टर चिरञ्जीवी नेपालको आगामी चैत ५ गते कार्यकाल सकिँदैछ । अवकाशको एक महिनाअघि नै गभर्नर बिदामा बस्ने परम्परा छ । त्यस अवधिमा सिफारिस समिति गठन हुन्छ । हाल राष्ट्र बैंककै अधिकारीहरू र केही बाहिरबाट आएका नाम समेतको चर्चा छ । खासगरी अर्थमन्त्री डा. युवराज खतिवडालाई पट्याएकाले निवर्तमान अर्थ सचिव खनालको नाम गर्भनरमा एक नम्बरमा चर्चा चलेको छ । यसबाहेक बैंकभित्रबाट डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी, बाहिरबाट राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारी लगायतका व्यक्ति कडा प्रतिस्पर्धामा देखिएका छन् । अर्थविद्हरू भने सरकारसँग समन्वय गर्ने र मुलुकको हितमा स्वयं निर्णय क्षमता भएका गभर्नर बनाइनुपर्ने बताउँछन् । आकर्षक पद र लाभपूर्ण जिम्मेवारी भएकाले सो पदमा पुग्न अहिले धेरैले आ–आफ्नो तहबाट लबिङ गरिरहेको बुझिएको छ । राष्ट्रबैंकको नेतृत्व बलियो नभए समग्र अर्थतन्त्र नै प्रभावमा पर्न सक्ने हुनाले योग्य र पोख्त गभर्नर छान्नुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply