हिमालयन बैंकमा होडबाजी
काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बनेका अशोक राणाले बैंकमा एकाधिकार जमाएपछि म्युचल टेडिङ प्रालिमार्फत लगानी गरेका खेतान समूहले राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्ने प्रयास थालेका हुन् । आज हुने साधारणसभामा पाँचजना सञ्चालक चयन गर्ने कार्यक्रमसमेत राखिएको छ ।
खेतान समूहले बैंक सञ्चालक समितिमा बहुमत कायम गर्न हबिबी बैंक लिमिटेड पाकिस्तान र कर्मचारी सञ्चय कोष र शशीकान्त अग्रवालको समेत सहयोग लिने भएको छ । उक्त बैंकमा पाकिस्तानको हबिबी बैंकको २० प्रतिशत, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत र शशीकान्त अग्रवालको ४.४ प्रतिशत संस्थापक सेयर छ । यसैगरी छाया सेन्टरको ८.८९ प्रतिशत संस्थापक सेयर छ ।
हिमालयन बैंकमा अहिले एन टेडिङ कम्पनी प्रालि झम्सिखेलका तर्फबाट मनोजबहादुर श्रेष्ठ अध्यक्ष छन् । त्यसैगरी, हबिबी बैंक लिमिटेड पाकिस्तानको तर्फबाट फैसल एन लालनी, कर्मचारी सञ्चयकोषको तर्फबाट तुलसीप्रसाद गौतम, छाया सेन्टरका तर्फबाट प्रचण्डबहादुर श्रेष्ठ, आभा इन्टरनेसनलका तर्फबाट सुशीलविक्रम थापा सञ्चालक छन् । यसैगरी, विजयबहादुर श्रेष्ठ र स्वतन्त्र सञ्चालकबाट राधाकृष्ण पोते छन् । त्यसैगरी, अल्टरनेटिभ डाइरेक्टरमा दुई महिला रञ्जना श्रेष्ठ र मेनुका श्रेष्ठ छन् ।
अहिले हिमालयन बैंकमा नौजना (अल्टरनेटिभ सहित) सञ्चालक छन् । तीमध्ये एकजना महिला र एकजना स्वतन्त्र गरी सातजना सञ्चालक हुनुपर्ने व्यवस्था छ । बैंकको सञ्चालक हुन राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीच तीव्र धु्रवीकरण देखिएको छ । पाण्डे समूहले छाया इन्टरनेसनल प्रालिमार्फत हिमालयन बैंकमा संस्थापक सेयर खरिद गरेका छन् । हिमालयन बैंकमा चार समूहबीचको द्वन्द्वले बैंकको अवस्था दिनप्रतिदिन गिर्दो अवस्थामा पुगेको छ । लगानीकर्तालाई दिने लाभांश दरमा कमी हुँदै आएको छ । यो वर्ष १० प्रतिशत बोनस र १२ प्रतिशत नगद मात्र दिने प्रस्ताव गरेको छ । केही समय पहिला राम्रो रहेको बैंकको वित्तीय स्थिति कमजोर बनेको र हिमालयन बैंकले पछिल्लोपटक ऋण उठाउनसमेत सकेको छैन ।
बैंकको खराब कर्जा एकाएक बढेको छ । खराब कर्जा बढेर १ प्रतिशतभन्दा बढी छ । हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर कमजोर भएको भन्दै राष्ट्र बैंकले यसअघि गुणस्तर कायम गर्न निर्देश पनि दिएको थियो । प्राय सबैजसो बैंकले पुस मसान्त भित्र वार्षिक साधारणसभा गरिसके पनि हिमालयन बैंकले भने उक्त समय भित्र वार्षिक साधारणसभा गर्न सकेन । यसले बैंकमा सुशासनको कमी भएको पनि प्रस्ट रूपमा देखाउँछ । हिमालयन बैंकले आक्रामक रूपले कर्जा विस्तार गर्नतितर लाग्दा कमजोर ऋण प्रवाह गर्दै आएको छ । बैंकप्रति सर्वसाधारणको विश्वसनीयता कम हुँदै गएपछि निक्षेप संकलनमा क्रमिक ओरालो लागेको बताइएको छ ।
२७ वर्ष पुरानो बैंकको निक्षेप संकलन हेर्दा पत्याउनै नसक्ने अवस्था छ । अहिले ऋण लगानीमा पनि बैंक सुस्ताएको छ । हिमालयन बैंकले धितोमा राखेको जग्गाको बढी मूल्यांकन गरेर ऋण प्रवाह गर्दै आएको छ । ऋण लिने व्यक्तिलाई सावाँ र ब्याज तिर्दा महँगो पर्ने भएकाले धितो राखेको जग्गा नै माया मार्दै आएका छन् । यसले गर्दा बैंकलाई अप्ठ्यारो परेको बैंक स्रोतको भनाइ छ । देशकै एक स्थापित र पुरानोमध्येको यो निजी क्षेत्रको वाणिज्य बैंकलाई राष्ट्र बैंकले अल्टिमेटम दिएर साधारणसभा गर्न बाध्य पार्नु भनेको बैंक धराशायी हुँदै आएको परिणाम भएको बताइन्छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई चारबुँदे निर्देशन दिएको थियो । उक्त निर्देशनको एउटा बुँदामा ३० दिनभित्र सञ्चालक समितिको चुनाव गराउन भनेको थियो । यसबीच अध्यक्ष श्रेष्ठले विभिन्न शक्ति केन्द्र धाएको तथा पैसाको प्रभावमा पारेर साधारणसभा टार्न ठूलो प्रयास गरेको भए पनि उक्त प्रयास असफल भएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply