फरक स्वरध्वनि
तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो कविताकृति ‘सूर्यअघि उभिएको छाया’ भित्रका अधिकांश कविताले राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा व्याप्त विडम्बनाहरूलाई सहज र सम्प्रेष्य भाषामा अभिव्यक्त गरेका छन् ।
‘सूर्यअघि उभिएको छाया’मा विश्व परिदृश्य व्याप्त छ । शक्तिसम्पन्न राष्ट्रहरूले कमजोर राष्ट्रहरूमाथि थोपरेको राजनीतिक, सामाजिक, सांस्कृतिक दासता दिनानुदिन भयावह बन्दै गइरहेको छ । मूलतः अल्पविकसित राष्ट्रहरूका प्राकृतिक स्रोत र साधनहरूको दोहन गर्ने, त्यस्ता राष्ट्रहरूमा आफ्ना विकृत संस्कृतिका हातपाउहरू फैलाउने र त्यस्ता राष्ट्रहरूमा घुमाउरो पाराले कब्जा जमाउने कार्यमा विकसित राष्ट्रहरू क्रियाशील देखिन्छन् । सांस्कृतिक संक्रमणको छायाँ त झनै डरलाग्दो गरी फिँजिइरहेको छ । यिनै पक्षहरूप्रति असहमति–स्वर गुन्जिएका छन्, उनको काव्य–मर्ममा ।
जातीय र सांस्कृतिक पहिचानको प्रश्न प्रखर रूपमा उठ्दै आएको छ, केही दशकयता । अझ, पूर्वोत्तर भारतको पहाडी इलाकामा बसोबास गर्दै आएका अल्पसंख्यक नेपालीभाषी त आफ्नो पहिचान कायम राख्न वर्षौंदेखि संघर्षको बाटो हुँदै गुज्रिरहेका छन् । ‘यो मेरो पहाड हो’ले तिनै संघर्षशील आवाजको प्रतिनिधित्व गरेको छ ः
‘हारेर पनि विजेताको हाँक दिने जो छ
त्यो मेरो पहाड हो
मरेर पनि ब्युँतिएको ठाँट देखाउने जो छ
त्यो मेरो पहाड हो… ।’
कुनै स्थान–विशेषलाई सम्बोधन गरेर वा त्यसका संगत÷विसंगत पक्षहरूलाई उघिनेर काव्य सिर्जना गर्न अधिकांश सर्जकहरू माहिर हुन्छन् । बाङ्देलले पनि केही सहरहरूलाई शब्दको कठघरामा उभ्याएका छन् । ‘काठमाडौं’ मा उनले यो महानगरलाई त्यति कटाक्ष गरेका छैनन् । काठमाडौंप्रति उनी नरम नै देखिन्छन् । तर, ‘दिल्लीमा’ भने उनले भारतको राजनीतिको संग्लो चित्र कोरेका छन् । अल्पसंख्यक जाति वा भाषीहरूलाई दिल्लीले कसरी दबाउँदै आएको छ ? यी पंक्तिले प्रस्टै बताउँछन्–
‘म बोल्नलाई जन्मिएको थिएँ मेरो गाउँमा
ऐले चुप छु
दिल्लीमा ।’
उनले पूर्वोत्तर भारतका मुख्य पहाडी सहरहरू गान्तोक, सिलगढी, कालेबुङ र दार्जिलिङलाई पनि आफ्नो काव्यिक नजरले हेरेका छन् । पुँजीवादी उपभोक्ता संस्कृतिको दुश्चक्रमा हामी बाँचिरहेको समाज फसिरहेको छ । ‘समाज ः केही तेलचित्र’मा उनले क्रमशः क्षयीकरणको दिशातिर उन्मुख सामाजिक रीतिरिवाज, संस्कृति र संस्कारहरूमाथि लघु–हेराइ राखेका छन् । दार्जिलिङ जिल्लाको एउटा गाउँ लाटपन्चरमाथि उनले दुई सुन्दर काव्य सिर्जेका छन् । आफ्नै मौलिकता बोकेर बाँचिरहेको ग्रामीण बस्तीहरूमा बहुर्राष्ट्रिय कम्पनीहरूले कसरी नंग्रा फैलाइरहेका छन् ? यो पंक्तिले प्रस्ट पार्छ–
‘हिउँदको कटकटी जाडोमा
जीवनका काँचा दाउरा
बल्दैन केही गरी
तीन ढुंगाको माझमा,
तर कोदो काटी नसकेको बारीमा
जब पिउँछ कोकाकोला
नयाँ जेनेरेसन
आफैंलाई लाटो सम्झन्छ लाटपन्चर ।’
मूलतः कवि बाङ्देलको काव्यको अन्तस्थलमा मौजुद मानवीय ऊष्मा र करुणाले पाठकलाई धेरै नै मानवीय स्पर्श र अनुभूति दिलाउँछ । यो नै उनको काव्यको शक्ति हो, पहिचान हो र फरक स्वरध्वनि हो ।
कृति ः सूर्यअघि उभिएको छाया
विधा ः कविता
कवि ः वीरु बाङ्देल
प्रकाशक ः सांग्रिला बुक्स
पृष्ठ ः १४०
मूल्य ः रु. २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply