पर्याप्त छ त कोरोनाविरुद्धको तयारी ?
काठमाडौं । पछिल्ला केही महिना यता प्रख्यात बनेको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण फैलिन नदिन देश तथा विदेश सबैतिर व्यापक सतर्कता अपनाइएको छ । सतर्कता र रोकथामका पहलका बाबजुद संसारका हरेक देशमा प्रभाव फैलिरहेको यस रोगविरुद्ध एकजुट भएर लड्न आवश्यक ठानिएको छ ।
हुन त सरकारले पनि यस सम्बन्धमा विभिन्न उपाय अवलम्बन गर्दै यसको प्रभाव कम गर्न पहल नथालेको होइन तर मूलतः हरेक नागरिक आफ्नो ठाउँबाट सचेत र सक्रिय हुन नसके सरकारको प्रयास मात्रले यसमा पर्याप्त उपलब्धि हासिल हुन नसक्ने निश्चित छ ।
सार्क मुलुक एकै ठाउँमा उभिने
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्र यसविरुद्धको लडाइँमा एक ठाउँमा उभिने भएका छन् । सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्रीबीच आइतबार भएको भिडियो कन्फरेन्सपछि यस्तो निष्कर्ष आएको हो । सो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधन गर्दै कोरोनाविद्धको लडाइँमा सार्क मुलुक एक ठाउँमा उभिने प्रतिबद्धता जनाएका हुन् । कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले सामूहिक एकताका साथ कोरोनाविरुद्धको लडाइँ सार्थक हुने बताए । उनले प्रभावकारी रणनीतिका साथ अघि बढ्नुपर्ने बताउँदै महामारी रोकथामका लागि सचेतनामूलक र विभिन्न उपायहरू अपनाउन आवश्यक भएको अवगत गराए । अहिले पर्यटकलाई अनअराइभल भिसा रोकेको तथा वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृति बन्द गरिएको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्नेमा एकमत छन् ।
कोरोना उपचार गर्न तीन अस्पताल, सबै रिपोर्ट नेगेटिभ
कोरोना उपचार गर्न सरकारले उपत्यकामा तीनवटा अस्पताल तोकेको छ । पछिल्लो समय कोरोना संक्रमणको आशंकामा नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएकोमा हालसम्म सबै रिपोर्ट नेगेटिभ देखिएको बताइएको छ । कोरोना भाइरसको हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै सरकारले त्यसको प्रभावकारी उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताललाई तोकेको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाउनेगरी सरकारले तयारी अन्तिम अवस्थामा पु¥याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रियसभाको बैठकमा यो कुराको जानकारी दिएका हुन् ।
वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारीमा सरकार लागेको उनले जानकारी दिए । मन्त्री ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए ।
सुरुआत वुहानबाट
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका सयभन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरिसकेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिरहँदा चीनले कोरोना भाइरसका बिरामीका लागि १ हजार शैयाको अस्पताल अलग्गै निर्माण गरेको थियो । उक्त अस्पताल दिनरात काम गरेर सात दिनमा तयार गरिएको थियो । यसका लागि दर्जनौं स्काभेटर रातदिन काम गर्नुका साथै वुहानस्थित २५ हजार स्क्वायर मिटरमा अस्पताल निर्माण गरिएको थियो । चीनमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि ३ करोड जनसंख्या भएको १० वटा सहर बन्द गराइयो भने । २३ वटा सहरमा सार्वजनिक सवारीसाधन ठप्प गराइएको थियो । पछिल्लो समय चीनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ । फिलिपिन्स, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, अमेरिका, मलेसियालगायतमा पनि यसको प्रभाव पर्न थालेको छ । चिनियाँ नयाँ वर्षकै संघारमा महामारीको त्रास फैलिँदा पनि चीनले सम्यमता अपनाएको थियो । कोरोना भाइरस प्रभावित सहरमा मास्क लगाउन अनिवार्य गरिएको थियो ।
कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरूले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १ सय २० र बाहिर १ सय १५ आईसीयू बेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । उनका अनुसार हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।
अर्थतन्त्रमा प्रभाव पर्ने
कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्न थालेको छ । अर्थतन्त्रमै समस्या पर्ने देखिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी–व्यवसायीलाई बोलाएको छलफलमा आर्थिक संकटकालको घोषणा गर्न एक उद्योगीहरूले माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले आर्थिक संकटकाल घोषणा गरेर अर्थतन्त्र जोगाउनुपर्ने बताएका थिए । उनले आउने दिन चुनौतीपूर्ण रहेको बताउँदै राजस्व पनि कम उठ्ने र पर्यटनलगायत क्षेत्र डुब्ने अवस्थालाई हेरेर सरकारले तत्कालै सम्बोधन गर्नेगरी प्याकेज ल्याउन मागसमेत गरे । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा बोलाएको बैठकमा उनले यो धारणा राखेका हुन् । कोरोना संक्रमणका कारण ठूलो समस्या आउनेवाला छ । भारतमा संक्रमण ¥यापिड रूपमा फैलियो भने आपूर्तिसमेत ठप्प हुन सक्ने र त्यसका लागि अहिले नै भारत सरकारसँग छलफल गरेर रेलमार्फत सामान ढुवानीका लागि पहल गर्नुपर्ने उनीहरूको सुझाव छ । त्यसो त कोरोना भाइरसको संक्रमण धेरै फैलिएको देश इटाली र चीन हो । आर्थिक संकटकाल लागे ब्याजदरमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर निक्षेप र ब्याजदरसमेत तोक्न सक्ने अवस्था हुन्छ । व्यापारीहरूले आयकर तिर्ने समय केही समय पछि सारेर भए पनि समस्या समाधान गर्न सुझाव दिएका छन् । अहिले सबैभन्दा बढी होटल, रेस्टुरेन्ट, सिनेमा हल र हवाईजहाज कम्पनी संकटमा रहेको बताउँदै ती उद्योगलाई बचाउने योजना तत्कालै ल्याउनुपर्ने उनीहरूको माग छ । छलफलमा सहभागी अरू व्यवसायीले पनि पर्यटनसँग सम्बन्धित व्यवसायमा गम्भीर समस्या परिसकेकाले तत्कालै राहत प्याकेज उपलब्ध गराउनुपर्ने धारणा राखे । ‘अहिले सबैभन्दा ठूलो समस्या पर्यटन क्षेत्रसँग सम्बद्ध उद्योग–व्यवसायलाई परेको छ,’ उनीहरूले भनेका थिए, ‘उनीहरूलाई क्यास फ्लोको समस्या आएर तलब पनि खुवाउन नसक्ने परिस्थिती आउन सक्छ । त्यसैले सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्नुपर्छ ।’ उनीहरूले उद्योगी–व्यवसायीले ब्याज अनुदान, ब्याज पुँजीकरणदेखि पुनःसंरचनासम्मको सुझाव दिएका थिए । उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बैंक ब्याज ३ प्रतिशतसम्म घटाएर उद्योगी–व्यवसायीलाई राहत दिनुपर्ने बताए । ‘अहिले सबैभन्दा बढी भिक्टिमाइज भएको पर्यटन क्षेत्र नै हो । यो क्षेत्रलाई तत्कालै राहत आवश्यक देखिइसकेको छ,’ उनले भने, ‘त्यसका कारण यो क्षेत्रलाई बचाउन सरकारले ब्याज अनुदानदेखि ब्याज तिर्ने समय रिसेड्युल गरिदिनुपर्छ ।’ छलफलपछि अर्थमन्त्री खतिवडाले कोरोना भाइरसका कारण उद्योग–व्यवसायमा परेको प्रभावबारे सरकारले पनि अध्ययन गरिरहेको बताउँदै उद्योग वाणिज्य मन्त्रालय, राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनसँग बसेर ब्याजलगायतबारे छलफल गर्ने बताए ।
कोरोनासम्बन्धी सचेतना आवश्यक
विश्वका महाशक्ति राष्ट्रहरू पनि कोरोनाको प्रकोपबाट बच्न सकेका छैनन् भने नेपालजस्तो सानो र गरिब राष्ट्रमा यसले छिट्टै फैलावट पाउने खतरा छ । त्यसैले पर्याप्त सचेतता आवश्यक रहेको विज्ञहरूको मत छ । केही दिनअघि मात्र विश्व स्वास्थ संगठनले नेपाल कोरोना प्रकोपको उच्च जोखिममा रहेको देखाएको छ । तर, खुसी भनौं वा भाग्यको कुरा, अहिलेसम्म कोरोना संक्रमणले नेपालमा प्रवेश पाइसकेको छैन । भारतमा यसको प्रभाव परिसकेको र नेपाल भारतबीच आउजाउ बढी हुनाले कोरोना भारत हुँदै नेपाल आउने बढी नै खतरा रहेको बताइन्छ । पछिल्लो समय कोरोना प्रकोपको उच्च जोखिममा रहेको नेपाल क्षेत्र मधेस क्षेत्र पर्छ, जहाँको स्वास्थ्य संस्थाहरू सबल छैनन् । मधेसी जनतामा स्वास्थ्य एवं सरसफाइकोे चेतनास्तर कमजोर रहेको पाइन्छ ।
कोरोना प्रकोपले ग्रसित चीनले नेपालका सबै सीमा बन्द गरिसकेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् । भारतमा कोरोनाले प्रभाव परिसकेको छ । नेपालको भारतको खुला सीमाक्षेत्रको अधिकांश क्षेत्र मधेससँग जोडिएको छन् । जहाँ मान्छेहरू निर्वाद रूपमा नेपाल भारत आउने जाने गर्दैछन् । त्यसबाट मधेसमा संक्रमण अझ सजिलै प्रवेश गर्न सक्ने देखिन्छ । भारततर्फबाट पनि चारवटा नाका मात्र खुला गरिएको छ भने अन्य नाकाहरूमा मालवाहक सवारीसाधन मात्र आवातजावत गर्न सकिने व्यवस्था गरिएको छ, सीमा नाकामा हेल्थ डेस्कहरू सञ्चालन गरिएका छन् तर यति मात्र कोरोना रोकथामका लागि पर्याप्त भने छैन ।
के–के हो लक्षण ?
मेडिकल जर्नल अफ अस्ट्रेलिया र बेलायतबाट प्रकाशित हुने ल्यानसेट जर्नलमा प्रकाशित तथ्यांकअनुसार ९० प्रतिशत कोरोना संक्रमित मान्छेमा निम्नलिखित तीनवटा प्राथमिक लक्षण देखिन्छ भनिएको छ । १. ज्वरो, २. खोकी र ३. सास बढ्नु । यी तीन लक्षण दैख्नेबित्तिकै स्वास्थ्य परीक्षण गर्नु÷गराउनुपर्छ । यसका लागि स्थानीय सरकारले सहज वातावरण बनाइदिनुपर्छ । हामीकहाँ मास्क लाउने चलन कमै मात्र रहेको थियो । यतिबेला स्थानीय सरकारले जनतालाई मास्कको महŒव बताई उनीहरूलाई मास्क लगाउन प्रोत्साहन गर्नुपर्छ । उपत्यकास्थित ललितपुर महागरपालिकाका आफ्नो नगरका जनतालाई सहुलियत दरमा मास्क उत्पादन गरेर बेच्न समेत थालिसकेको छ । जनताका लागि सहज र सुलभ रूपमा मास्क उपल्बध गराइदिनुपर्छ । तर नेपालमा भने माक्समै कालोबजारी भइरहेको छ । आइतबार मात्र लुकाएर राखेको मास्क फेला पारिएको छ । जनतालाई पटकपटक हात धुने कुरा सिकाउन र गर्न बाध्य बनाउन सहज छैन । यसका लागि स्थानीय सरकार सक्रिय बन्नुपर्छ । तर, साबुन पानीले हात पटकपटक धोइरहनु मात्र एक मात्र रोकथामको उपाय भएको बताइन्छ । मूलतः पोषणयुक्त खाना जसले भिटामिन सी बढाउँछ, त्यसले पनि कोरोनाको प्रभाव घटाउँछ । पोषणयुक्त खानाका रूपमा घरमै तयार गरिएको भेजिटेबल सुप, मुङको दाल, खिचडी, परम्परागत खानपानमा भात, रोटी, सलाद आदि स्वस्थकर खान सबैलाई प्रोत्साहन गर्नुपर्छ । लसुन, प्याज, नरिवलको तेलका साथ बनेका खानेकुरा, अल्मोन्ड बदाम, ओखर आदि चिज पनि खाने सल्लाह दिनुपर्छ । हरेक तरिकाले जनजनले आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई सबल बनाई राख्ने प्रयत्न गनुपर्छ । संक्रमण फाटफुट रूपमा देखापर्न थालेको अवस्थामा घरबाट बाहिर ननिस्कनु र घरलाई किटाणुनाशक औषधिद्वारा सुरक्षित राख्नु जरुरी हुन्छ ।
माक्समा पनि कालोबजारी
कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन् ।
माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन् । कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको थाहा भएको छ ।
पोखराका औषधि पसलेले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४ चार ५० मा बिक्री गरेको पाइएको छ । बढी मूल्य लिएर मास्क बेच्ने औषधि पसल स्थानीय प्रशासनले बन्द गरेको छ । अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अजिश मेडिकल फर्मामा छापा मारेको हो । त्यसो त सरकारले कारबाही अघि नबढाएको पनि होइन । यस अभियानले कालोबजारीमा केही कमी आएको छ । अनुगमनपछि मास्कमा कालोबजारी गर्ने केही मेडिकललाई जरिवाना तिराइएको छ । जसअनुसार नेपाल केयर सर्जिकल क्षेत्रपाटीले २ लाख, आयुस फामेसी वीर अस्पतालले २ लाख, आइज्याक हस्पिटल सपोर्ट क्षेत्रपाटीले २ लाख, विद्या अल्का फार्मेसी जावलाखेलले २ लाख, सदीक्षा मेडिकल हल जावलाखेलले २ लाख, गौतम फार्मेसी सेन्टर पुल्चोक २ लाख, शुभ सर्जिकल सप्लायर कुपन्डोलल लाख, पुरी सर्जिकल इक्विपमेन्ट क्षेत्रपाटी २ लाख, भरोसा फार्मेसी नयाँ बानेश्वर २ लाख, शुभम् हेल्थ केयर प्रोडक्ट क्षेत्रपाटी २ लाख, ओएमबी इन्टरप्राइजेज क्षेत्रपाटी २ लाख र बीबीआई इन्टरप्राइजेज क्षेत्रपार्टीले एक लाख जरिवाना तिरेका छन् ।
सम्बन्धित समाचार
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
- एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply