अवार्ड दिनै हतार
काठमाडौं । ‘कसैलाई के धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भन्ने उखानलाई एउटा संस्थाले चरितार्थ गरेको छ । यो उखानलाई चरितार्थ गर्ने संस्था हो– गन्तव्य नेपाल । जसले केही दिनअघि केही व्यक्तिलाई अवार्ड दिएको थियो ।
हामीकहाँ कुनै प्राकृतिक प्रकोप वा महामारी आउनै हुँदैन । केही मानिस त्यसैलाई भजाएर आफ्नो व्यापार चम्काउन उद्यत् भइहाल्छन् । कोभिड–१९ को महामारीलाई पनि गन्तव्य नेपालको नाममा केही व्यक्तिले आफ्नो व्यापार चम्काउने आधार बनाएका छन् ।
केही दिनअघि सो संस्थाले १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ ले सम्मानित ग¥यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रमुख अतिथिका रूपमा निम्त्याएर आयोजना गरिएको सो अवार्ड वितरण कार्यक्रम यतिबेला विवादित बन्न पुगेको छ । आयोजन संस्थाले सम्मानका निम्ति छनोट भएका व्यक्तिहरू देशभरबाट छनोटमा परेका भनी दाबी गरे पनि त्यस्तो दाबीमा कुनै आधार नभएको बताइन्छ ।
सो अवार्ड पाउनेमा यती एयरलाइन्सका क्याप्टेन रमेश श्रेष्ठ पनि छन् । उनलाई कोरोनाको महामारीपछि एक लाखबाट राहत अभियान सुरु गरी विभिन्न स्रोतबाट ३० लाख बराबरको आर्थिक सहयोग जुटाई करिब दुई हजार सात सयजना काठमाडौं उपत्यकाका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, नाङ्लो पसल गर्ने र चिया पसल चलाउने, सुत्केरी, एकल महिला, विभिन्न श्रमिक, अपांगता भएका र विपन्नलाई राहत उपलब्ध गराएबापत ‘कोरोना डिफेन्स अवार्ड–२०२०’बाट सम्मानित गरिएको जनाइएको छ ।
त्यस्तै, ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको र देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकारलगायतलाई स्वास्थ्य सामग्री वितरण गरेको बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ सीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरिएको पनि सो कार्यक्रममा उल्लेख गरिएको थियो ।
यी दुई व्यक्तिबाहेक अरु १५ जनालाई पनि अवार्ड दिइएको थियो । तर, पर्यटन व्यवसायीहरूका साथै केही पत्रकारले समेत सो अवार्ड पाए पनि कोभिड–१९ पछि सुरु भएको लकडाउनका बेला अग्रमोर्चामा रहेर कार्यरत रहेका स्वास्थ्यकर्मीहरू भने एकजना पनि परेका छैनन् । न त कोभिड–१९ मा असहाय, मजदुरहरूलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरू नै सो अवार्डबाट सम्मानित भएका छन् ।
सो अवार्ड ग्राह्य छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा एउटा कमिटी गठन गरिएको थियो । सो कमिटीमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपालबाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला रहेका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply