नेपाली भाषीको पहुँचमा बौद्ध दर्शन
बौद्ध दर्शन हो वा विशुद्ध धर्म ? यो बहसको विषय हुँदै आएको छ । तर, तत्कालीन समयमा प्रगतिशील दर्शनका रूपमा उदाएको बौद्ध दर्शन आधुनिक समाज र सभ्यताको विकाससँगै धर्मका रूपमा फेरिँदै गयो । बौद्ध दर्शनलाई धर्मका रूपमा मानेर चल्ने बौद्ध धर्मावलम्बीहरू क्रियाशील छन्, अचेल । बौद्धलाई धर्मको तहमा उभ्याउने प्रयत्न अद्यावधि जारी छ ।
बौद्ध दर्शनलाई धर्मका रूपमा स्विकार्नेहरूको लहर लामो रहे पनि भारतका प्रकण्ड विद्वान् राहुल सांकृत्यायनले भने बौद्ध दर्शनका केस्रा–केस्रा केलाउने कार्य गरेका थिए । उनको दर्शनसम्बन्धी बृहत् ग्रन्थ ‘दर्शन–दिग्दर्शन’ को एउटा भाग थियो– ‘बौद्ध दर्शन’ । जसलाई उनले बेग्लै पुस्तकको रूप दिएका थिए । सन् १९४३ मै प्रकाशित राहुलको ‘बौद्ध दर्शन’ बौद्ध दर्शनका छिद्रछिद्र बुझ्ने एउटा भरपर्दो कृति हो ।
अरू भाषामा प्रकाशित ‘बौद्ध दर्शन’ अब भने नेपाली भाषामा अनुवाद भएर प्रकाशित भएको छ र नेपालीभाषी पाठकहरूका पहुँचमा आइपुगेको छ । अनुवाद कर्ममा समर्पित रोशन दाहालले निकै सरल, सुललित र पाठकहरूले भेदन गर्न सक्ने गरी सुन्दर भाषामा ‘बौद्ध दर्शन’ को अनुवाद गरेका छन् । अरू भाषा (विदेशी, नेपालकै अन्य मातृभाषा) बाट नेपाली भाषामा अनुवाद गर्दा दाँत नै भाँचिने गरी ढुंगा लाग्ने अनुवाद हुँदै आएकोमा यो कृतिले भने कम्तीमा पनि पाठकहरूलाई त्यस्तो पीडाबाट पृथक् तुल्याउँछन् ।
पाँच अध्यायमा बाँडिएको छ, उक्त पुस्तक । पहिलो अध्यायमा गौतम बुद्धका मूल सिद्धान्तहरू रहेका छन् । बुद्धका चार मूल सिद्धान्तहरूबाट पुस्तकको अनावरण गरिएको छ । ईश्वरलाई नमान्नु, आत्मालाई नित्य मान्नु, कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु र जीवन प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु– बुद्धका चार मूल सिद्धान्त यिनै थिए ।
अध्याय २ मा गौतम बुद्धको जीवन–सन्दर्भहरू उल्लिखित छन् । अध्याय ३ मा भने बौद्ध दर्शनको प्रचार र विस्तारमा योगदान पु¥याएका इ.पू. १५० मा जन्मिएका विद्वान् नागसेनको जीवन–वृत्त र उनका कर्तृतहरू उजागर गर्ने कार्य भएको छ । बुद्ध दर्शनको अनात्मवाद, कर्ममा पुनर्जन्म, नाम–रूप (मन र भौतिक तत्व), निर्वाण आदिलाई अझ व्यापक बनाउने कार्य नागसेनले गरेका थिए ।
चौथो अध्यायमा भने बौद्ध सम्प्रदायहरूबारे उल्लेख छ । सो अध्यायमा बौद्धको धार्मिक सम्प्रदाय, बौद्धको दार्शनिक सम्प्रदाय, नागार्जुनको शून्यवाद, योगाचार र अरू बौद्ध दर्शनबारे उल्लेख छन् । अध्याय ५ मा भने बौद्ध दर्शनको चरम विकासबारे उल्लेख गरिएको छ । बुद्धले चेतना र भौतिक तत्वलाई विज्ञानकै दुई रूप मानेको कुरा राहुलले लेखेका थिए । लेखिएको छ, ‘विज्ञानको भित्री आकार चित्त (सुख आदिको ग्राहक) हो, यो त स्पष्ट छ । तर जुन बाहिरी पदार्थ (भौतिक तŒव घडा वा कपडा) छ, त्यो पनि विज्ञानभन्दा अलग छैन, बरु विज्ञानकै दोस्रो भाग हो । ’
‘बौद्ध दर्शन’ को अनुवाद कार्यमा खोट देखाउने ठाउँ खासै नभए पनि यसअघि भारतीय प्रकाशन संस्था किताब महलले सो कृति प्रकाशन गर्दा राखिएको प्राक्कथन र प्रकाशकीयलाई समेत अनुवाद गरेर राख्न कञ्जुस्याइँ नगरेको भए हुन्थ्यो । किनभने, सांकृत्यायनले प्राक्कथनमा बौद्ध दर्शनको महत्ताबारे थोरै शब्दमा भए पनि उल्लेख गरेका थिए र त्यो पाठकहरूका निम्ति उपयोगी साबित हुन्थ्यो ।
कृति ः बौद्ध दर्शन
विधा ः दर्शन
लेखक ः राहुल सांकृत्यायन
अनुवाद ः रोशन दाहाल
प्रकाशक ः मञ्जरी पब्लिकेसन
पृष्ठ ः २००
मूल्य ः रु. २६५ । –
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply