एउटै मञ्चमा गीति–सर्जकहरू
नेपाली साहित्यिक पत्रकारिताको समृद्ध इतिहासलाई अझ समृद्ध, जीवन्त र धरोहर तुल्याउन केही साहित्यिक पत्रिकाहरूको निरन्तर अवदान स्तुत्य छन् । त्यही क्रममा उभिएको साहित्यिक पत्रिका हो– ‘नवप्रज्ञापन’ । यात्राको २७ वर्षमा हिँड्दै गरेको ‘नवप्रज्ञापन’ ले पछिल्लो समय भने साहित्यका विविध विधामा विशेषांकहरू निकाल्दै आएको छ । सो पत्रिकाले अंक ८८ लाई भने गीत विशेषांकका रूपमा प्रकाशन गरेको छ । यसअघि भने भानुभक्त विशेषांक, छन्द कविता विशेषांक, लघुकथा विशेषांक, स्वअभिलेख विशेषांक, मुक्तक विशेषांक र बहुभाषा कथा विशेषांक प्रकाशन गरिसकेको सो पत्रिकाले केही स्रष्टा र स्थान–विशेषका स्रष्टाहरूमा केन्द्रित भएर विशेष अंक प्रकाशन गर्ने सुकार्य पनि गरिसकेका छन् ।
साहित्यको एउटा चम्किलो विधा हो– गीत । सर्वाधिक लोकप्रिय विधा पनि मान्न सकिन्छ, गीतलाई । किनभने, जब कुनै पनि गीति–सिर्जनालाई संगीत र स्वरको समन्वित रूपमा ढालिन्छन्, त्यसले लाखौं, करोडौं मानिसका मन–मस्तिष्कलाई झंकृत तुल्याउने शक्ति सँगाल्न पुग्छन् । हामीकहाँ सीमित शब्द–सामथ्र्यको परिचय दिने गीत विधामा कलम चलाउने स्रष्टाहरूको पंक्ति लामो भए पनि अहिलेसम्म कुनै पनि साहित्यिक पत्रिकाले गीतमा नै केन्द्रित रहेर विशेषांक प्रकाशन गरेका थिएनन् । यो कार्यमा ‘नवप्रज्ञापन’ ले बाजी मारेको छ ।
‘नवप्रज्ञापन’ को गीत–विशेषांकमा अग्रज र नयाँ पुस्ताका गीति–सर्जकका सिर्जनाहरूले यथोचित स्थान पाएका छन् । हरेक सर्जकका दुई–दुई थान गीतहरू समेटिएका छन् । अघिल्लो पुस्ताका कालीप्रसाद रिजाल, चेतन कार्की, यादव खरेल, भैरवनाथ रिमाल ‘कदम’, किरण खरेल, नगेन्द्र थापा, राजेन्द्र थापा, बीचको पुस्ताको डा. कृष्णहरि बराल, दिनेश अधिकारी, श्रीपुरुष ढकालदेखि पछिल्लो पुस्ताका भूपाल राई, रमेश क्षितिज, ज्ञानेन्द्र गदाल, चूडामणि देवकोटा, शुभ मुकारुङ, वसन्त वित्यासी थापा, विवश वस्ती, कृसु क्षेत्री, प्रमोद स्नेही, हरिराम पौडेल, वसन्तराज अज्ञातलगायत १ सय ६२ जना गीतकारका सिर्जना सजिएका छन् ।
सर्जकहरूका सिर्जनाका साथै गीतसम्बन्धी दुइटा सैद्धान्तिक आलेख पनि समेटिएका छन् । विश्वराज अधिकारीले ‘पूर्व र पश्चिममा गीतको उद्भव’ मा गीतको ऐतिहासिक पक्षलाई उघार्दै सैद्धान्तिक विवेचना गर्न चाहेका छन् भने डा. गीता त्रिपाठीले नेपाली गीत–संगीतमा केन्द्रित रहेर आफ्नो विश्लेषण पस्किएका छन् । नेपाली गीत र गजल लेखनमा समर्पित डा. कृष्णहरि बरालसँगको अन्तर्वार्ता अझ पठनीय छन् । डा. बरालको अन्तर्वार्तामा उल्लिखित विचार गीत लेखनमा लाग्न चाहने नयाँ पुस्ताका सर्जकहरूका निम्ति गहन सुझाव हुन सक्छन् ।
गीत विशेषांकका अतिथि–सम्पादक वसन्तराज अज्ञातले भने गीति–सर्जकहरूमाथि मिडियाले गर्दै आएको विभेदमाथि गम्भीर प्रश्न उठाएका छन् । उनी लेख्छन्, ‘सबैभन्दा दुःखको कुरा, गायक÷गायिकाहरूको अदेखि ज्ञसम्म चर्चा गर्ने मिडियाले किन गीतकारको नाम लिँदैनन् ? यो कसको गीत ? फलानाले गाएको, अझ भनौं फलानाको । यहाँ गायक वा गायिकाको गीत भनेर चिनाइन्छ, तर त्यही समय संगीतकार यो, गीतकार यो भनिँदैन या त भन्न रुचाउँदैनन् ।’ यस्तो विभेदकारी सोच, तौरतरिका बदल्नुपर्ने र समान हैसियतको व्यवहार गर्नुपर्ने कुरामा उनले जोड दिएका छन् । अन्ततः नेपाली गीत लेखन क्षेत्रमा समर्पित सर्जकहरूलाई एउटै मञ्चमा उभ्याउने कार्य गरेकामा सम्पादक÷प्रकाशक नवराज रिजाल धन्यवादका पात्र बनेकामा कुनै दुईमत देखिँदैन । स्तुत्य छन् उनको कार्य ।
कृति ः नवप्रज्ञापन (गीत विशेषांक)
विधा ः गीत विशेषांक
सम्पादक÷प्रकाशक ः नवराज रिजाल
अतिथि सम्पादक ः वसन्तराज अज्ञात
पृष्ठ ः २२४
मूल्य ः रु. ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply