महलमा बसेर रुने दिन नआओस्
‘प्रधानमन्त्री जिन्दावाद !
भारतीय दलाल मुर्दावाद !!
प्रधानमन्त्रीलाई हटाउन पाइँदैन, पाइँदैन !!!’
सडक पेटीमा हिँडिरहेको बेला यस्ता नाराहरू घन्काएको सुनियो । नारा कताबाट आए भनेर हेर्नैपर्ने भयो । कोरोनाका कारणले बजारमा निषेधाज्ञा जारी थियो । औषधि र किराना सामान बाहेकका सबै पसल बन्द थिए । त्यस्तो निषेधाज्ञा जारीका बीचबाट नारा सुनिनु अनौठो हुन गयो । त्यही भएर ध्यान दिएर सुनियो । हेरियो । अलि परबाट केही युवा र किशोरहरूको जुलुस आउँदै थियो । त्यसको अघिल्लो भागमा ठूलो ब्यानर थियो । त्यसमा प्रधानमन्त्रीको पूर्ण कदको तस्बिर अंकित थियो । एक साइडमा उपर्युक्त नाराहरू लेखिएका थिए । तिनै नाराहरू घन्काइएको थियो सहभागीहरूबाट ।
नजिकै आएपछि सोधपुछ गरियो । थाहा पाइयो कि त्यो त पार्टीको भित्री विषयसँग सम्बन्धित रहेछ । त्यति बेला पार्टी सचिवालय र स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीले, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भनी छलफल चलाएको रहेछ । ती दुवै संगठनबाट राजीनामाको निर्णय हुन सक्नेवाला कुरा पनि सुनिएको थियो । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसे पनि त्यही निर्णयलाई सदर गर्ने स्थिति देखिएको थियो । त्यो कुरा बुझेका प्रधानमन्त्रीजीले गराउनुभएको भन्ने बुझियो, जुलुस निकाल्ने काम । मैले कम्युनिस्ट पार्टीको आन्तरिक समस्यामा केन्द्रित भएर सडकमा जुलुस प्रदर्शन भएको पहिलोपटक देखें । मन रोयो । अचम्म मान्दै आँखा अघाउने गरी हेरियो ।
कोरोनाबाट त्रस्त बजार । सरकारले नै निषेधाज्ञा जारी गरेको समय । पार्टीको आन्तरिक मामिलालाई विषय बनाएर जुलुस निकालिनुलाई उचित ठानिने कुरै भएन । सामाजिक÷व्यक्तिगत दूरी र नाकमुख छोेप्ने मास्कसमेतको प्रयोग नगरिएको जुलुसका कारण कोरोनालाई हिंसक रूप लिने वातावरण बनिरहेको देख्दा लाज लागेर के गर्नु ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यतिबेला गुटबन्दीले चर्काे रूप लिएको देखिन्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षका पक्षमा नेतृत्व तहका व्यक्तिहरूको संख्या सानो भएको बुझिन्छ । पुराना योग्य र क्षमतावान् कार्यकर्ता पनि थोरै नै छन् । यसले गर्दा भर्खर पार्टी काममा लागेका नयाँ तथा कचमिला युवा किशोरहरूलाई उत्ताउलो काममा लगाउन खोजेको हो कि जस्तो देखिन्छ । पार्टी निर्णय आपूmअनुकूल नहुने स्थिति भएपछि यस्ता उत्ताउला कामको सहारा लिन खोजेजस्तो देखियो ।
अर्काे गुट अध्यक्ष पुष्पकमल दहालका समर्थनमा छ । यसमा पूर्वमाओवादीका ८० प्रतिशतजति नेता–कार्यकर्ता छन् भन्ने सुनिएको छ । यिनीहरू जनयुद्घमा रातै हुनेगरी तातेका हुनाले छिट्टै सेलाएजस्ता भेटिनु अस्वाभाविक भएन । यिनीहरू सबैजसोको मनोबल उच्च भएको लाग्दैन । यिनीहरूले पनि सुस्तसुस्त पुष्पकमल दहाललाई छोड्दै गएको देखिन्छ ।
तेस्रो गुट छ, माधव नेपाल पक्षमा । यसमा पूर्वएमालेवालाको अत्यधिक संख्या छ । यी भद्र र भलादमी स्वभावका छन् । यिनीहरूको पनि उत्साहले थकाइ मारेजस्तो लाग्छ । वामदेव र झलनाथसँग गुटगत मानिसहरू छैनन् । झलनाथले गुटबन्दी गर्न जान्दैनन् । एक्लै बोल्दा पनि उनको बोलीले प्रभाव पार्ने गरेको भेटिएको छ । वामदेवले गुटबन्दी गर्न त खोज्छन् । तर, यस विषयमा उनी कलाविहीन छन् । उनले नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने हुनाले नांगिएका छन् । पुराना सबैले उनलाई छाडिसके । कहिले केपी र कहिले पीकेका बीचमा पिङ खेलिरहनाको कारण पनि यही हो भन्न नसकिने आधार छैन ।
पार्टी, पद्घति वा प्रणालीले चलेको छैन । चलाउने मुख्य जिम्मा अध्यक्ष केपी ओलीको हो भनेर भनिरहनुपरेन । पञ्चायती समयमा नेकपा (माले) ले पार्टी सञ्चालन गर्ने प्रणालीलाई संस्थागत गरेको थियो । त्यो पार्टीमा स्थापित पनि भएको थियो । त्यसको नेता सीपी मैनाली थिए । साथमा जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू थिए । सीपी आफंैले प्रणालीको उल्लंघन गरेपछि महासचिव पदबाट निष्कासित भएका थिए । पार्टी भने निश्चित प्रक्रियाले चल्दै आयो । व्यक्तिले आपूmखुसी गर्ने कुराले स्वीकृति पाउँदैनथ्यो । त्यतिबेला केपी ओली जेलमा हुनुहुन्थ्यो । त्यसले गर्दा उहाँ पार्टी सञ्चालन गर्ने त्यो सुनौलो प्रणालीद्वारा प्रशिक्षित हुन पाउनुभएन । व्यक्तिवादी चिन्तन र व्यवहार त्यसकै परिणाम हो भन्नेमा शंका गर्नुपर्छ जस्तो लाग्दैन ।
पूर्वमाओवादी पार्टीले जनयुद्घका समयमा फौजी पद्घतिलाई पार्टी सञ्चालन प्रणाली बनाएको थियो । खुला र संसदीय राजनीतिमा आउँदा त्यो अव्यावहारिक हुनु स्वाभाविक भयो । उसले नयाँ पद्घति वा प्रणालीको विकास गर्न सकेन । फौजी प्रणाली र संसदीय पार्टी बीचको अन्तरविरोधका कारण पार्टीमा व्यापक मात्रामा गुटहरूको जन्म हुन गयो । अध्यक्ष प्रचण्डले गुटहरूको अन्तरविरोध हल गर्न योग्यता र क्षमताको विकास गर्न सक्नुभएन । परिणाम के भयोे भने उहाँले पनि गुट नबनाई नहुने स्थिति प्रकट हुन गयो । ती गुटहरू कोही फुटेर गए भने केही निराश भएर समाप्त हुन गए । उहाँको त्यस्तो क्षमता र योग्यताले पार्टी एकीकरणपछिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सफल नेतृत्व कसरी गर्न सकोस् । अहिले उहाँसँग पहिलाजस्तो उच्च मनोबलको पनि अभाव छ । मनोबल गिरेको नेतृत्वले पार्टी कसरी सञ्चालन गर्न सकोस् ।
यी दुवै अध्यक्ष भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् भन्ने प्रचारले व्यापकता पाएको छ । यस सम्बन्धमा अध्यक्ष केपी ओलीले आफ्ना निकटस्थ विश्वास पात्रहरूलाई निकै बदनाम बनाएको कुरा पनि जगजाहेर भएको छ । यसैले गर्दा उहाँहरू असफल हुने प्रक्रियामा देखिनुभएको छ । भ्रष्टाचारकै कारण राजनीतिक नियुक्तिमा पुष्पकमल, झलनाथ, माधव, वामदेवहरूलाई सन्तुष्ट बनाउन सक्नुभएको छैन, केपी वलीले । यी आचरणले गर्दा उहाँ त डुबिरहनुभएकै छ । उहाँ डुब्दा पार्टी र देश नडुबोस् भनेर होसियार हुनु आवश्यक छ ।
यतिबेला पार्टी सञ्चालन गर्ने कोही पनि छैन । सबैले गुटहरू मात्र चलाएका छन् । अध्यक्ष केपी ओली गुट चलाउन माहिर हुनुहुन्छ । पार्टीभित्रको प्रतिपक्षमा हुँदा पनि गुट चलाउन सफल हुनुहुन्थ्यो उहाँ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि त्यो योग्यताले भ¥याङ चढाएर विद्यावारिधि उत्तिर्ण गराएको छ । यो प्रवृत्तिले गर्दा लिम्पियाधुरा, लिपुलेक, कालापानी आदि क्षेत्र नेपालको नक्सामा समावेश गर्ने पार्टी निर्णय कार्यान्वयन गर्न प्रयोग भएको उच्च मनोबल, आँट र हिम्मत छायामा परेको छ । पुष्पकमल पनि गुटबाट मानिसहरू फुत्कन्छन् कि भन्ने चिन्तामा डुबिरहनुपरेको हुनाले पार्टी चलाउन भनेर सोच्न सक्ने कुरै भएन । माधव नेपाल पनि गुट नचलाई नहुने स्थितिमा पुगेका छन् । अब पार्टी कसले चलाओस् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा चलाउने आँट कसैले पनि गरेका छैनन् । पार्टी छिन्नभिन्न छ । तितरबितर छ । तीन वर्षसम्म पनि पार्टी एकीकरणको काम सकिएको छैन । सदस्य नवीकरणको कुरा त क्षितिजपारिकै विषय हुन गएको छ । सबै गुटमा थोथोरै कार्यकर्ता र नेताहरू हुनु स्वाभाविक हो । किनभने, धेरैलाई गुटबन्दी मन पर्दैन । गुटका पछिपछि घिसारिएका कार्यकर्ताले आ–आफ्ना गुटका नेताका पक्षमा बोलेको सुनिएको छ । गुटमा सामेल नभएको अति ठूलो संख्या के गर्नु के नगर्नुमा छ । यो शक्तिले अहिलै विकल्प खोजेको छैन । यसले विकल्प खोज्दाका दिन गुटका नेताहरूले निजी महलका गजुरमा अँगालो मारेर रोइरहनुपर्नेछ । होसियार ! यस्तो समयले प्रवेशाज्ञा प्राप्त गर्ने अनुमति पाउन नसकोस् ।
One response to “महलमा बसेर रुने दिन नआओस्”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
होशियार भन्दा खबरदार भन्न पो मन पल्हायो हजुर ! यथार्थ चित्रणका लागि आभार प्रकटें ।