विद्रोहका पर्याय
जहानियाँ राणा शासनविरुद्ध उठेका अनेक विद्रोहमध्ये जयतु संस्कृतम् आन्दोलनको नेपालको राजनीतिक इतिहासमा पृथक् महŒव रहेको छ । राणा शासनकालको आखिरी चरण अर्थात् २००४ सालमा उठेको त्यो आन्दोलनमा सहभागी भएको कारण देखाउँदै तत्कालीन शासकले संस्कृत पाठशालामा अध्ययनरत पाँच विद्यार्थीलाई काठमाडौं उपत्यकाबाट निष्कासन गरे । सुरुमा निष्कासित हुने तिनै पाँचजनामध्ये थिए– सदानन्द सापकोटा ।
तत्कालीन समय संस्कृत पाठशालामा अध्ययन हुने भए पनि मध्यमा र शास्त्रीको परीक्षा दिन भने बनारस जानुपथ्र्यो । बनारस जाँदा सरकारले विद्यार्थीहरूलाई बाटो खर्चबापत ५० रुपैयाँ दिन्थ्यो । तर, तत्कालीन शिक्षा डाइरेक्टर तथा माहिला गुरुज्यू हेमराज पाण्डेले विद्यार्थीहरूले पाउँदै आएको रकममा ५० प्रतिशत कटौती गरेपछि विद्यार्थीहरू आन्दोलित भए । आन्दोलनले चरम रूप लिँदै गएपछि सरकारले दर्जनौं विद्यार्थीहरूलाई कारबाही ग¥यो । कोही उपत्यका कटाइए, कसैको केस मुण्डन गरियो । त्यो समय ३८ विद्यार्थी चार भन्ज्याङ कटाइनेमा परेका थिए ।
जयतु संस्कृतम् आन्दोलनको जग खन्ने कार्यमा अग्रसर सापकोटा इतिहासको गर्तमा पुरिएका एक पात्र हुन् । उनको योगदानको उत्खनन हुन सकिरहेको थिएन । तर, अब भने उनलाई चिन्ने एउटा आधार बनेको छ– ‘सदानन्द सापकोटा ः स्मृतिपुष्प’ । स्रष्टा जीवनचन्द्र कोइरालाको सम्पादनमा प्रकाशित उक्त पुस्तकमा सापकोटालाई चिन्ने–जान्नेहरूका संस्मरणहरू प्रकाशित छन् ।
जीवनको ऊर्जावान् कालखण्ड राजनीतिक आन्दोलनमा खर्चिएका सापकोटा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनुअगावै ‘लाल कम्युनिस्ट’ का रूपमा परिचित भइसकेका थिए । २००४ सालमा स्थापित गंगालाल श्रेष्ठ (हलुवाई) को नेतृत्वमा स्थापित ‘नेपाल लाल कम्युनिस्ट पार्टी’ का उनी सक्रिय संस्थापक सदस्य थिए । उनले आफ्नो पहिचान पनि ‘लाल कम्युनिस्ट’ कै रूपमा बनाए ।
२००७ सालको परिवर्तनपछि सिन्धुली जिल्लाको गड्तिर भेगमा सामाजिक सुधार ल्याउन उनले अहं भूमिका खेले । तत्कालीन समयमा ब्राह्मणले गोरु जोत्नुहुँदैन, कथित दलित वर्गको घरमा गएर खानपिन गर्नुहुँदैन भन्ने कट्टरताले समाजलाई गाँजेको थियो । तर, सापकोटाले भने यी सबै खाले कट्टरतालाई तोड्न पहल गरे । उनले गोरु जोते, दलितहरूलाई समान र सम्मानित व्यवहार गरे । आजीवन अविवाहित रहेका उनले पुख्र्यौली सम्पत्तिमा कुनै लोभ देखाएनन् । एक हिसाबले यायावरी जीवन गुजार्दै हिँडे । तर, २०६३÷६४ सालपछि भने उनको अवस्था अज्ञात रह्यो । अधिकांश समय घरबाहिरै बिताउने उनी कता गए ? अहिलेसम्म कुनै पत्तो पाउन सकिएको छैन ।
आजीवन विद्रोहको भाका ओकल्दै हिँडेका उनलाई परिवारका सदस्यहरूका साथै शुभचिन्तकहरूले सम्झिएका छन्, सो पुस्तकमा । पुस्तकमा किरण थापा, कृष्णमञ्जरी सापकोटा, जनकराज सापकोटो, टंकप्रसाद शर्मा सापकोटा, दुर्गाहरि सापकोटा, नारायण शर्मा गजुरेल, नारायणविक्रम थापा, मोतीराज सापकोटा, लक्ष्मीकुमारी सापकोटा, वासुप्रसाद भेटुवाल, विवश वस्ती, सञ्जीवकुमार सापकोटा, सुशीलकुमार सापकोटा र हरिविनोद अधिकारीका संस्मरणहरू समाविष्ट छन् । पुस्तकमा २०१८ सालमा राजा महेन्द्रसामु उनले चढाएको निवेदन पनि समावेश गरिएको छ । सो निवेदनमा उनले प्रजातान्त्रिक मौलिक अधिकार अविलम्ब दिनुपर्ने माग गर्दै आमरण अनशन सुरु गर्ने कुरा उल्लेख गरेका छन् । त्यो समय उनले प्रजातान्त्रिक अधिकार दिनुपर्नेलगायत पाँच माग अघि सारेका थिए । अरू मागहरूमा विदेशी भर्ती बन्द गराइनुपर्ने र जमिनलाई राष्ट्रियकरण गरी भूमिहीन तथा गरिब किसानहरूलाई बाँड्नुपर्ने रहेका थिए ।
कुनै समय विद्रोहका पर्याय बनेका सापकोटाबारे लघु–आकारमै भए पनि र सीमित व्यक्तिहरूका संस्मरणलाई समेटेरै भए पनि यो पुस्तक प्रकाशित हुनु सुखद पक्ष हो । समाजलाई उज्यालोतिर डो¥याउन चाहने एउटा समृद्ध पात्रबारे ढिलै भए पनि उत्खनन हुन सकेकोमा उक्त कार्यमा लाग्नेहरू सम्मानका भागीदार बनेका छन् ।
कृति ः सदानन्द सापकोटा ः स्मृतिपुष्प
विधा ः संस्मरण
सम्पादक ः जीवनचन्द्र कोइराला
प्रकाशक ः कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी
पृष्ठ ः ९२
मूल्य ः रु. २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply