मूल्यपरक संवेदनाले भरिपूर्ण
यतिबेला सम्पूर्ण विश्व कोभिड–१९ को प्रताडना झेल्न बाध्य छ । चीनको एउटा प्रान्तमा उब्जिएको यो महामारीले विकसित होस् वा तेस्रो विश्वका मुलुकहरू होस्, पूरै आक्रान्त बनेका छन् । लाखौंले मृत्युवरण गरिसकेका छन् र करोडौं प्रभावित छन् । नेपाल पनि यो महामारीको साङ्लोले बेरिएको छ र कहिले साङ्लोमुक्त हुने हो, कुनै यकिन छैन । कोभिड–१९ को प्रभाव फैलिन थालेलगत्तै गएको चैतको दोस्रो सातादेखि सरकारले लकडाउन घोषणा ग¥यो । बढ्दो महामारी र त्यसपछिको लकडाउनपछि नेपालीहरूको मनमस्तिष्कमा आतंकको नौलो बिरुवा हुर्कियो । तर, प्रगतिशील लेखन–कार्यमा समर्पित, प्रतिबद्ध एवं समय–सचेत रचना–शिल्पी वासुदेव अधिकारीले भने लकडाउनको बेला आफ्नो सिर्जनकर्मलाई झन् उचाइ दिन चाहे । त्यसकै प्रतिफल हो– ‘बस्तीमा आगो’ ।
कोभिड–१९ ले सिर्जेको आतंक र त्यसक्रममा नेपाली समाजमा घटेका केही दुस्खान्त प्रसंगहरूलाई उनले काव्य–धरातलमा उतारेका छन् । हुन पनि विश्व भ्रमणमा निस्किएको यो नौलो व्याधिले आधुनिक विज्ञान, प्रविधिलाई लिलिपुट नै ठह¥याइदियो । आणविक अस्त्रशस्त्रका कुरा गरेर नथाक्ने शक्तिसम्पन्न राष्ट्रहरूसमेत यो व्याधिको चपेटाबाट उम्किन सकेनन् । तर, कवि भने आफ्ना काव्य–सिर्जनामा कोरोनासँग लड्नुबाहेक र भ्याक्सिन नआउन्जेल सुरक्षित रूपले बस्नुबाहेक अरू विकल्प नभएको यथार्थप्रति दृढ देखिएका छन् । यद्यपि, लकडाउन भएपछि महामारीसँग जुध्न पालना गर्नुपर्ने पक्षहरूलाई बेवास्ता गरेर कतिपय मानिसहरूले रमिता देखाएका थिए । नेपाली जन र समाजको मनोविज्ञानलाई केलाउन यी हरप्रहर अग्रसर छन्, ‘हामी सधँैं उत्तेजनामा छौं÷मानौं, रमाइलोमा छौं÷भय लिन्छौं भय दिन्छौं÷आगो बाल्छौं, धुवाँ फाल्छौं÷र त्यही गफ चुट्न चोक पुग्छौं÷बिचरा सडक सुनसान छ÷त्यै सुनसान हेर्न÷हुलहुल बाहिर निस्किन्छौं ।’
‘आफैंसित छुु’मा भने कविले बन्दाबन्दीका बेला दुई महिला स्रष्टालाई सम्झिन चाहेका छन् । नेपाली साहित्यमा बेग्लै स्थान बनाउन सफल पारिजात र पछिल्लो समय सिर्जनामा व्यस्त झमककुमारी घिमिरेलाई उनले काव्यिक–क्षितिजमा उभ्याएका छन् । बन्दाबन्दीले न्यून आर्थिक स्तर भएका कतिपय मानिसको चुलो सल्किएन होला । तर, बहुसंख्यकलाई भने स्वास्थ्य–सजगता र सिर्जनकर्ममा रमाउने अवसर भने दिलायो । यी पंक्तिहरू त्यसकै बयान हुन्– ‘प्रिय बन्दाबन्दी÷धेरै सिकायौ÷धेरै पढायौ÷धेरै सम्झायौ तिमीले÷अलिअलि हात पहिला पनि धुन्थ्यौं÷तरकारी पहिला पनि पखाल्थ्यौं÷अहिले तिमीले÷गनी गनी हात धुन सिकायौ÷दूध पखाल्न सिकायौ÷गुर्जो र जिम्बुको चिया खान लगायौ ।’
‘सेतो गाउन’ कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मीहरूप्रति समर्पित सिर्जना हो भने ‘मजदुर दिवस’ कोरोनाले थिल्थिलो तुल्याएका मजदुर वर्गप्रति सद्भाव पोखिएको काव्य हो । बन्दाबन्दीकै समयमा रुकुममा ६ जना युवा मारिए । कथित उच्च जातिका युवती भगाउन गएका दलित समुदायका युवाहरूलाई भेरी नदीमा बगाइयो । ‘गाउँमा आगो’ मानवताको खिल्ली उडाउने त्यो दर्दनाक घटनाप्रति कोरिएको मार्मिक काव्यसिर्जना हो । कवि लेख्छन्, ‘भन गाउँले भन÷इन्द्रेणी गाउन छाडेर÷के स्वादले÷खिया लागेको हतियार चलाएको ?÷आफ्नै चेलीको प्रेम महोत्सवमा÷किन क्रूरतम मृत्यु धुन बजाएको ?’
‘सूर्य दाइ’ मानवताको उपहास गर्ने घटना–बिम्ब हो । बन्दाबन्दीकै बेला कीर्तिपुरमा भोकै मर्ने एउटा मजदुरको व्यथा अंकित छ, उक्त कवितामा । ‘झरीमा आगो’मा चितवनको चेपाङ बस्ती जलाइएको प्रसंग उप्काइएको छ । बस्ती जलाउनेहरूलाई कविको प्रश्न छ, ‘घर जलाउने रोग÷खरानीको यो बिगुत÷केका लागि महाशय ?’
हामी बाँचिरहेको वर्तमान समयको क्रूर यथार्थलाई पक्रिन अधिकारीका कविताहरू सक्षम र दृढ देखिएका छन् । यी कविताहरूले जिजीविषा, दायित्वबोध र संवदेनाका अनेक आयामहरूका शक्ति र सौन्दर्य नियाल्ने क्षमता राख्नेमा कुनै सन्देह देखिँदैन । सामाजिक एवं सांस्कृतिक क्षेत्रमा व्याप्त विभेद र असहिष्णुताप्रति काव्यिक असहमति जनाउन त्रिस्याशील अधिकारीको यो कविताकृतिलाई मूल्यपरक संवेदनाले भरिपूर्ण कविताहरूको उपस्थिति मान्न सकिन्छ ।
कृति ः बस्तीमा आगो
विधा ः कविता
कवि ः वासुदेव अधिकारी
प्रकाशक ः समकालीन साहित्य प्रतिष्ठान, बेलायत
पृष्ठ ः ९२
मूल्य ः २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply