प्रेस पासको अचाक्ली दुरुपयोग, गैरपत्रकारले प्रेस लेखेर कार कुदाएपछि यसको रहस्य खुल्यो
काठमाडौं । २०७७ जेठ ६ गतेको मितिमा सञ्चार तथा सूचना प्रविधी मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले देशैभरिका पत्रपत्रिकाका सम्पादकलाई पत्राचार गर्दै एक लोककल्याणकारी विज्ञापन प्रकाशन गरिदिन अनुरोध ग¥यो । विज्ञापनको नमुनासहित प्रेसित उक्त पत्रमा बन्दाबन्दीको समयमा सञ्चारमाध्यमलाई बदनाम गराउने क्रियाकलाप भएको भन्दै सो क्रियाकलाप नियन्त्रण गर्न आग्रह गरिएको थियो । प्रेसित विज्ञापनको व्यहोरामा उल्लेख थियो, ‘हाल कोरोना भाइरस महामारीका कारण बदाबन्दीको समयमा सञ्चार क्षेत्रमा संलग्न बाहेकका व्यक्तिहरूले सञ्चार क्षेत्रको हवाला दिँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अफवाहपूर्ण विषय सम्प्रेषण गर्ने, अनधिकृत रूपमा परिचयपत्र, पोशाक र सवारीसाधनको प्रयोग गर्ने र सामाजिक मर्यादाविपरीतका क्रियाकलाप गरेको गुनासो आएको हुँदा कोहीकसैले पनि गैरकानुनी क्रियाकलाप नगर्नुहुन अनुरोध छ । यदि त्यस्तो भएको पाइएमा कानुनबमोजिम कारवाही हुने व्यहोरा सुचित गरिन्छ ।’
सरकारको आधिकारिक निकायबाटै यस्तो व्यहोराको सुचना सम्प्रेषण हुनुले हाम्रो समाजमा प्रेस सामग्री तथा परिचयपत्रहरूको दुरुपयोग व्यापकै ढंगले भइरहेको त छर्लङ्ग भइसकेको थियो । तर, यथेष्ट प्रमाणसहित त्यो मूर्त रूपमा उजागर हुन सकेको थिएन । यसको करिब चार महिनापछि काठमाडौंको बागबजारबाट तीन व्यक्ति पक्राउ परे । उनीहरू विभिन्न मिडियाको नाम र लोगो अंकित प्रेस परिचयपत्र बनाइरहेको बेला रंगेहात पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाको समन्वयमा डिएसपी दुर्गा रेग्मी नेतृत्वको प्रहरी टोलीले बागबजारको कालिका डिजाइनिङमा छापा मार्दा पर्याप्त संख्यामा मिडियाको प्रेस पास तयार भइरहेको भेटिएको हो । नक्कली प्रेस कार्ड बनाई बिक्री गर्ने तीन व्यक्ति सोमबार बागबजारबाट पक्राउ गरिएको हो । पाँच सय रुपैयामा प्रेस कार्ड बिक्री गर्ने गरेको रहस्य खुलेपछि कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपाने, शिवराम खड्का र सक्षम खड्कालाई महाशाखाबाट गएको टोलीले पक्राउ गरेको हो । प्रहरीले कार्ड बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर, लेमिनेसन मेसिन, कटिङ मेसिनलगायत उपकरणसहित डेलिभरी गर्न ठिक्क पारिएको अवस्थामा रहेका १५ थानभन्दा बढी प्रेस कार्ड तथा अन्य थुप्रै नक्कली कार्ड नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय मुलुकमा जारी लकडाउनको समयमा प्रेस कार्ड तथा प्रेस ज्याकेटको दुरुपयोग हुने गरेको पाइएपछि सामाजिक सञ्जालमा टीकाटिप्पणी तिखो रूपमा हुन थालेको थियो । प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गर्दा बजारमा नक्कली पत्रकार छ्यापछयाप्ती भएको खबरसमेत केही सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । बजार नक्कली प्रेस कार्ड भेटिन थालेपछि यसबारे खोज गर्दै जाने क्रममा सामाजिक सञ्जालमा पोस्ट नै गरेर कार्ड बिक्री भनी पोस्ट गरेको फेला परेको थियो । सामाजिक सञ्जाल फेसबुकको म्यासेजबाट कागजात (नाम र फोटो) मगाउने र कार्ड बनाएर होम डेलिभरी गर्ने गरेको पत्ता लागेको हो । यसरी प्रेस कार्ड बनाएबापत कार्डको ५०० सय र होम डेलिभरीको थप एक सय गरी ६ सयमा प्रेस कार्ड बनाउँदै आएको खुलेको छ ।
यसमा सबैतिरबाट व्यापक ढंगले कुरा उठेपछि केही दिनअघि मात्र नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले समेत प्रेस विज्ञप्ति जारी गरेर राम्रोसँग छानबिन गरेर यस विषयमा दोषीलाई कारबाही गर्न आग्रह गरिएको थियो । महासंघका महासचिव रमेश विष्टले यसरी नक्कली प्रेस पासको दुरुपायोग हुन गैरकानुनी भन्दै कडाइका साथ चेक गर्न प्रह्रीलाई आग्रह गरेका थिए । अझ अचम्म त शुक्रबार पुल्चोकमा रातो मछिन्द्रनाथको रथ जबर्जस्ती तान्ने क्रममा क्यामराको लेन्स तेस्र्याउँदै अर्को हातले ढुंगा टिपेर प्रहरीलाई हान्ने प्रेस ज्याकेटधारी अनिश महर्जनको भिडियो भाइरल भएपछि त आम पत्रकारले लज्जाबोध गरेर विभिन्न टीकाटिप्पणी सार्वजनिक गरे । इमाडोलका स्थायी बासिन्दा महर्जन पत्रकार नरहेको र कहिलेकाँही रहरमा युटुबमा केही भिडियो पोस्ट गर्ने व्यक्ति रहेको खुल्यो । महर्जन मात्र होइनन्, अन्य धेरै व्यक्तिले प्रेस सामग्री दुरुपयोग गरेको पाइएपछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा पनि गम्भीर भयो । शाखाले प्रहरीसँगको समन्वयमा केही शंकास्पद स्थानहरूको पहिचान गरी प्रहरीलाई लगेर रंगेहात छापा मारेपछि यो नक्कली प्रेस कार्ड काण्ड छताछुल्ल भएको हो । छापा मार्ने क्रममा हेम्स हस्पिटलको कार्डसमेत दुरुपयोग गर्ने थप एक जना व्यक्तिलाई समेत महाशाखाले नियन्त्रणमा लिएको हो । बजारमा प्रेस कार्डको दुरुपयोग भएकोप्रति विरोध जनाउँदै पत्रकारहरूले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै आएका थिए । केही समययता प्रेस पास र प्रेस ज्याकेट दुरुपयोग भएको खबरहरू आएयता पत्रकारहरू चिन्तित थिए । प्रहरीले नक्कली काम गर्ने गिरोह पक्राउ गरिएको र थप गिरोहको पहिचान गरी आवश्यक कारबाहीका लागि सहयोग पुग्ने आम पत्रकारहरूको विश्वास छ । यसको थप अनुसन्धान गरी यस किसिमको विकृतिको भण्डाफोर गरिनुपर्ने पत्रकारहरू बताउँछन् । यस प्रकारको कार्यले प्रेस कार्डको दुरुपयोग तथा प्रेस ज्याकेटको दुरुपयोग नियन्त्रणमा आउने बताइएको छ । मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारीसाधनलाई दिइने पासको दुरुपयोग हुने क्रम अझै रोकिएको छैन भने त्यसको उल्लंघन गर्ने मानिसको संख्यामा समेत कमी हुन सकेको छैन । हुन त यो बीचमा प्रहरीले पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झन्डै २ हजार ५ सय गाडीलाई समेत कारबाही गरेको थियो । मुलुकभर लकडाउन उल्लंघन गर्ने १ लाख १० हजारभन्दा बढीलाई पनि कारबाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार २ सय सवारी पास प्रहरीले खिचेको छ । तर, पत्रकारको पास भने त्यसरी छानबिन गरिएको थिएन । पछिल्ला दिनमा सहरमा लकडाउनका बेला मस्तसँग प्रेस लेखेर सयौंको संख्यामा कार कुदाउने र प्रहरीले प्रेस लेखेकै आधारमा त्यस्ता कारहरूलाई छानबिन नगर्ने गर्दै आएको थियो । तर केही समययता प्रेस पास र प्रेस ज्याकेट दुरुपयोग भएको खबरहरू आएयता नेपाल पत्रकार महासंघ स्वाभाविक रूपमा चिन्तित थियो । लकडाउनमा सहज आवागमनका लागि भन्दै विभिन्न प्रतिष्ठित मिडिया तथा प्रिन्टिङ प्रेसको लोगोसहितको परिचयपत्र तथा प्रेस अंकित ज्याकेटहरू बनाएर बिक्री गर्ने एक गिरोह केही दिनको अनुसन्धानपछि पक्राउ परेको छ । फेसबुकमार्फत नै सम्पर्क गर्ने, नमुनाहरू पठाइदिने र परिचयपत्र तयार गरेर होम डेलिभरीसमेत गर्दै आएको सो गिरोहले एउटा प्रेस कार्डको ५ सय देखि २ हजारसम्म लिने गरेको छ । बजारमा खुलेआम बिक्री हुनुका साथै दुरुपयोग भइरहेको प्रेस कार्ड, त्यस कार्ड बोकेर महँगो कार सडकमा दौडाउने समूह र दुरुपयोग भइरहेको प्रेस ज्याकेट नियन्त्रणमा पनि यस कदमले सघाउ पुग्नेछ भन्ने विश्वास लिइएको छ । हुन त सञ्चारकर्मी पनि व्यावसायिक मर्यादामा बसिदिनुपर्छ । पत्रकारिता पेसाभन्दा बाहिरका व्यक्तिहरूलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानलाई पनि पेसागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न साथै आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन पत्रकार महासंघले आफ्ना सदस्यहरूलाई आग्रह गर्दै आइरहेको छ । उसले प्रेस पास दुरुपयोग गरिएको पाइए नेपाल प्रहरीलगायत सम्बन्धित निकायहरूलाई तत्काल कारबाही अघि बढाउन पनि आग्रह गरेको र सवारीसाधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए–नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न पनि अपिल गरेको छ । तर पनि यसमा कमी नआउनु भने रहस्यमय छ ।
कोरोना भाइरसको महामारी फैलिएसँगै जारी भएको लकडाउनमा सञ्चारकर्मीले बोक्ने परिचयपत्र (प्रेस पास) को व्यापक दुरुपयोग भएको पाइएको छ । वास्तविक पत्रकारभन्दा पनि गैरपत्रकार हाबी हुन थालेको पाइएको छ । पत्रकारको परिचयपत्र बोकेपछि खुलमखुला हिँड्न पाइने भएपछि गैरपत्रकारहरूले प्रेस ज्याकेट र प्रेस पासको दुरुपयोग गरेको पाइएको हो ।
पत्रकारिताबारे कुनै पनि ज्ञान नभए पनि प्रेस कार्ड र प्रेसको ज्याकेट खरिद गरी सडकमा खुलेआम हिँडेको भेटिएको छ । त्यस्ता व्यक्तिलाई कतिपय मिडियाले नै कार्ड बनाइदिएको पाइएको छ भने कतिपय व्यक्तिले कुनै मिडियाको लोगो दुरुपयोग गरी परिचयपत्र बनाई प्रेसको ज्याकेट भिरेर हिँड्ने गरेको पाइएको छ । प्रेस कार्ड र प्रेस ज्याकेट लगाएपछि प्रहरीले चेकिङ पनि नगर्ने भएका कारण पछिल्लो समय गैरकानुनी काममा लागेका व्यक्तिहरूमा समेत प्रेसको कार्ड भेटिन थालेका छन ।
कतिपय व्यक्ति सवारी चालक अनुमतिपत्र लाइसेन्स तथा ब्लुबुक नभएका व्यक्तिहरूले पनि ट्राफिक प्रहरीको कारबाहीबाट बच्न प्रेस कार्ड बोकेर हिँड्ने गरेको पाइएको छ । यसरी आमसञ्चारजस्तो जिम्मेवार निकायको परिचयपत्र व्यापक दुरुपयोग भइरहँदा पनि सरोकारवाला निकायहरू केही समय मौन देखिए । पत्रकार परिचयपत्र महŒवपूर्ण परिचयपत्र भए पनि विद्यार्थीको नक्कली परिचयपत्रजस्तै पछिल्लो समय पत्रकार परिचय पत्र बोकेर गैरपत्रकार हाबी भएका छन् । जसका कारण सिंगो सञ्चारमाध्यमको मानमर्यादालाई धज्जी उडाउने प्रयासहरू भइरहेका छन् । त्यस्ता गैरपत्रकारले कतिपय स्थानमा थर्काउने धम्क्याउनेसम्म कार्य गर्ने गरेको पाइएको छ । पत्रकारको परिचयपत्र देखाएर कतिपय व्यक्ति गीतको छायांकनमा जाने गरेको पाइएको छ भने कतिपय तास खेल्न साथीकोमा जाने, परिचयपत्र बोकेर भट्टीमा छिर्नेजस्ता काम भइरहेका छन् भने कतिले गैरपत्रकारले पत्रकारको कार्ड भिरेर बाइकमा गर्लफ्रेन्ड बोकेर डेटिङसम्म जाने गरेको पाइएको छ । तर यस्ता खालका कार्य पत्रकारको आचारसंहिता बुझेका व्यक्तिले नभई गैरपत्रकारले मात्र गरिरहेका छन् । कार्ड भिरेपछि कहीँकतै चेक नहुने भएपछि गैरपत्रकारहरू हाबी भएका हुन् । यता नेपाल पत्रकार महासंघले प्रेस पास दुरुपयोग भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग भइरहेको भन्दै महासंघले दुरुपयोग नगर्न सबैमा आग्रह गरेको छ ।
महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘यस्ता दुरुपयोगले पत्रकारिता पेसाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघले पत्रकारिता पेसाभन्दा बाहिरका व्यक्तिहरूलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गरेको छ । आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानलाई पनि पेसागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न भनेको छ । त्यस्तै आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ । महासंघले कसैले प्रेसको दुरुपयोग गरेको पाइए कानुनी कारबाही गर्न पनि भनेको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply