इम्बोस्डमा कुन लिपि ?
काठमाडौं । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकामा नेपाल प्रज्ञा–प्रतिष्ठानले आपत्ति जनाउँदै आएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअधि नै प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्रीले समेत देवनागरी लिपिलाई नै इम्बोस्ड नं.मा प्रयोग गर्न आफूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताएका थिए । तर उक्त निर्देशन कार्यन्वयनमा नआएपछि गत आइतबार पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी कार्यान्वयनका निम्ति ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं. प्लेट राख्ने निर्णय हुनु उचित नभएको जानकारी गराएका थिए । देवनागरी लिपिमा साक्षरता प्रतिशत बढिरहेको नेपालमा कतिपय सहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेको अवस्थामा सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी रोमन लिपिको अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्दा सर्वसाधारण नागरिकहरूलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकहरूले सहजै न्याय नपाउने सम्भावना बढी हुनेतर्फ समेत मन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
सवारी साधनहरूको नम्बर प्लेटमा देवनागरी लिपिको नेपाली भाषा प्रयोग गरेर काम चलिरहेको अवस्थामा उक्त व्यवस्थालाई फेरेर रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्न लगाउने व्यवस्थाबाट राज्यलाई अनावश्यक आर्थिक भार थपिने मात्र होइन, राष्ट्रिय स्वाधीनताका सवालमा खरो रूपमा उत्रिएको वर्तमान सरकारप्रति नै आम जनसमुदायमा नकारात्मक धारणा फैलिनेतर्फ समेत सतर्क रहनुपर्ने तर्फ मन्त्रीलाई सचेत गराइएको थियो ।
सो अवसरमा मन्त्री नेम्वाङले प्रधानमन्त्रीबाट सवारी साधनमा देवनागरी लिपि कायम रहने गरी व्यवस्था गर्न निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताएका थिए । सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply