विकासको अठोट र कुलमानको बहिर्गमन
लोडसेडिङका ती दिन सम्झँदा मानिसहरू अहिले पनि उराठलाग्दो अनुहार बनाउँछन् । हुन पनि सबै तह र तप्काका जनता त्यतिखेर पट्यारलाग्दो लोडसेडिङबाट हायलकायल भएका थिए । व्यवहार चलाउन वैकल्पिक स्रोतका रूपमा मानिसहरूले आवश्यकता र आर्थिक हैसियतअनुसार जेनेरेटर, सोलर, इन्भर्टर, इमर्जेन्सी लाइट, मैनबत्ती, मट्टीतेल आदिको अतिरिक्त खर्च गरिरहेका थिए । हरेक घरको दैनिकी अस्तव्यस्त भएको थियो । बालबच्चाको पढाइलेखाइ कामचलाउ मात्रै भएको थियो । ठूला उद्योगधन्दा, अस्पताल र कलेजहरू लाखौं, करोडौं तिरेर ठूलो क्षमताका जेनेरेटर खरिद गर्न बाध्य भएका थिए । सबै आर्थिक र सामाजिक गतिविधि न्यून क्षमतामा चलेका थिए । मानिसहरू उकुसमुकुसको अवस्थामा थिए, निस्सासिएका थिए । विद्युत्बाट मात्र चल्ने वर्कसप र कतिपय निर्माणका काम बिजुली आउने समय कुरेर बस्ने गर्थे । बालबच्चा मात्र होइन, बूढापाकासमेत बत्ती आउन अब कति समय बाँकी छ भनेर घरीघरी घडी हेर्ने गर्थे । लोडसेडिङबाट हुन सक्नेभन्दा आधा वा त्योभन्दा कम मात्र काम हुन सक्थ्यो । टिभी र इन्टरनेट सेवाहरू त्यसैगरी आंशिक रूपमा मात्र उपयोगमा आउँथे । जन जीवनका लागि त्यतिखेर बिजुली सबैभन्दा महŒवपूर्ण कुरा भएको थियो । देशीविदेशी सबै अध्ययनकर्ताले नेपालमा आर्थिक गतिविधि सुस्ताउनुको मुख्य कारण विद्युत् संकटलाई मानेका थिए ।
जिम्मेवार व्यक्तिहरूबाट अर्को १० वर्ष लोडसेडिङ हट्दैन भनेर जनतालाई निरास पारिरहेका थिए । कसैकसैले त तत्काल लोडसेडिङको अन्त्य भए सार्वजनिक जीवनबाट सन्न्यास लिनेसम्मको महान् अभिव्यक्ति दिइरहेका थिए । सरकार र विद्युत् प्राधिकरण रमिते बनेर बस्नुसिवाय अरू केही गरिरहेका थिएनन् । जेनेरेटर व्यापारी, सोलारवाला र इन्भर्टरवालाहरू आफ्नो सेवा विस्तारमा अहोरात्र लागिरहेका थिए । सायद उनीहरू अब बल्ल हाम्रा दिन आए भनेर रमाइरहेका थिए, जस्तो अहिले मेलम्चीपछि धकेलिँदै जाँदा कथित मिनरल वाटर कम्पनीहरू रमाइरहेका छन् । देशको समग्र आर्थिक गतिविधि सुस्त रूपमा चलिरहेको थियो । ठूला मानिसले भनेको (त्यतिखेरसम्म) कुरामा विश्वास गर्ने नेपालीहरू आठ÷दस वर्ष लोडसेडिङमै रहनुपर्ने मानसिकता बनाएर बसेका थिए ।
यसैबीच चमेलियाबाट झिकेर प्राधिकरणको केन्द्रीय कार्यालयमा बिनाजिम्मेवारी थन्क्याइएका कुलमान घिसिङलाई प्राधिकरणको म्यानेजिङ डाइरेक्टर बनाइयो । यिनले पो के चमत्कार गर्लान् र (!) भनेर मानिसहरूले उनको नियुक्तिमा खासै चासो देखाएनन्, चासो देखाउने कुरा पनि थिएन । अर्थात्, सबैले यी पनि कानै चिरेका जोगी होलान् भन्ने ठानिरहेका थिए । किनभने, यस्ता एमडी कति आए, कति गए, सबै नै जनतामा संकट थप्ने खालकै निस्के भन्ने उनीहरूलाई लागेको थियो । उनीहरूलाई के थाहा कि यी नयाँ एमडी यति क्षमता, यति इमानदारी र यति लगनशिलता भएका मानिस हुन् भन्ने । यिनै विशेषता भएको देखेर नै आयोजनाका हाकिम फेरेर नगद कुम्ल्याउन पल्केका भ्रष्टहरू र यस्तैलाई पैसा खुवाएर आयोजना प्रमुख बन्न पल्केका बेइमानहरूले उनलाई चमेलियाबाट थुतेर केन्द्रीय कार्यालयमा जिम्मेवारीविहीन बनाएर थन्क्याएका थिए । उनी एमडी भएको केही समयपछि जब लोडसेडिङ घट्दै जाने क्रम सुरु भयो तब मानिसहरूको खुसी हुने सिलसिला सुरु भयो । जब त्यही वर्षको दीपावलीको समयमा समेत लोडसेडिङ भएन तब मानिसहरूलाई पत्याइनसक्नु भयो । त्यो सबैलाई चामत्कारिक नै लाग्यो । केही पछि जब देशभरि नै लोडसेडिङ पूर्ण रूपमा हट्दै गयो, तब मानिसहरूलाई लाग्न थाल्यो कि विद्युत्को उचित व्यवस्थापन गर्दा नै लोडसेडिङ हट्न सक्दो रहेछ । विगतका खुला प्रतिस्पर्धाबाट आएका भनिएका एमडीहरूले यत्ति पनि गरेका रहेनछन् । तर यसो भएकोमा उनले न कहिल्यै मैले यसोउसो गरेर लोडसेडिङ हटाएँ भनेर यसको श्रेय आफैंले मात्र लिन खोजे न कसैलाई भन्न लगाए । त्यसपछि त उनी बिजुली अर्थात उज्यालोका पर्याय नै भए । लामो समयपछि नियमित रूपमा बिजुली बाल्ने चाहना राखेका जनताको अनुहारमा खुसी छायो ।
लोडसेडिङको अन्त्य भएपछि देशका सबै गतिविधि सामान्य र पूर्ण क्षमतामा चल्न थाले । परिवारका दैनिकी आफ्नै लयमा फर्के । लोडसेडिङ अन्त्य भएको केही समयसम्म त मानिसहरू बाहिरबाट घरभित्र छिर्नासाथ पहिलो काम नै बत्ती छ कि छैन भनेर स्विच अन गर्ने हुन्थ्यो र बत्ती आइरहेको देखेपछि मुखमुद्रा प्रसन्न भएको देखिन्थ्यो । देशमा इमानदार, क्षमतावान् र लगनशील व्यवस्थापनको लामो र चर्को खडेरी परिरहेको अवस्थामा यस्ता व्यवस्थापक पनि छन् भन्ने कसैलाई विश्वास थिएन । त्यही भएकाले कुनै पनि निकायका प्रमुख फेरिँदा नेपालमा कसैमा पनि आशा नजाग्ने र वास्ता नगरिने परम्परा बसेको थियो । तर सौभाग्यवश नै भन्नुपर्दछ कि कुलमान यस्ता चमत्कारिक व्यवस्थापक निस्के ।
वास्तवमा लोडसेडिङ हटाउन कुलमानले उनैको भनाइअनुसार त्यतिखेर करिब २६ प्रतिशतमा रहेको बिद्युत चुहावट घटाउन दह्रो कदम चाले । समय तालिका मिलाएर विद्युत् गृहको मर्मत गर्न लगाए । कम विद्युत् खपत हुने समय र ठाउँको विद्युत बचत गरेर बढी खपत हुने समय र ठाउँमा वितरण गरे वर्षौंसम्म रुग्ण अवस्थामा रहेका विद्युत आयोजना सम्पन्न गर्न जोडबल लगाए अझै नपुग्ने बिजुली आयात गर्ने व्यवस्था मिलाए र यी काममा अवरोध गर्न खोज्ने प्राधिकरणभित्र र बाहिरका तŒवहरूसँग डटेर मुकाबिला गरी तिनलाई किनारा लगाए । संस्थालाई दिइएको जिम्मेवारी निभाउने एक मात्र लक्ष्य लिएर अठोटका साथ लाग्ने एउटा इमानदार र क्षमतावान् व्यवस्थापकले गर्ने काम उनले गरे । त्यसमा उनले अर्को कुनै स्वार्थ राखेनन् । संस्था र त्यसको सेवालाई उनले आफ्नो कमान्डमा राखेर सञ्चालन गरे । त्यसो गर्दा तुरुन्तै लोडसेडिङको समय घट्दै गयो, चुहावट घट्दै गयो र प्राधिकरणको घाटा घट्दै जान थाल्यो । उनले त्यही रणनीतिलाई कडाइका साथ अबलम्बन गर्दै गए, जुन गर्नु उपयुक्त थियो । र, वर्ष दिन पुग्दानपुग्दै देशभरि लोडसेडिङ हट्यो, रुग्ण आयोजनाहरू एकपछि अर्को गरी सम्पन्न हँुदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएर विद्युत् आपूर्ति बढ्यो । प्राधिकरण नाफामा जान थाल्यो ।
हेर्दाहेर्दै त्यही विद्युत् प्राधिकरणले ११ अर्ब रुपैयाँको नाफा गरेर कर्मचारीहरूलाई बोनस बाँड्न थाल्यो, विद्युत् खपत बढाउन ग्राहकहरूलाई आग्रह गर्न थाल्यो र विद्युत् निर्यात गर्ने योजनासमेत बनाउन थाल्यो । नेपालको अहिलेको परिप्रेक्ष्यमा यसलाई चमत्कारिक उपलब्धि नै मान्नुपर्छ । यस्तो चमत्कार गर्ने व्यवस्थापकलाई पुनर्नियुक्तिको चर्चा नै असान्दर्भिक हुनुपर्ने थियो । सरकार साँच्चिकै देश र जनताको भलो चाहने थियो भने र कामसँग मात्र मतलब राख्ने सरकार थियो भने डुब्नै लागेको वायु सेवा निगममा काम गर्न नसकेर बीचमै भागेका मदन खरेललाई बोलाईबोलाई ल्याएर त्यही संस्थाको जिम्मेवारी दिने सरकारले चमत्कारिक काम गरेका कुलमानलाई घर पठायो । यसले यतिखेर राम्रो भएर मात्र पुग्दैन मुख्य कुरा हाम्रो हुनुपर्दछ भन्ने जुन आरोप सरकारमाथि लाग्दै आएको छ, त्यसको पुनर्पुष्टि भएको छ ।
सरकारलाई उनको कुन कुरा मन परेन त्यो जनसरोकारको कुरा भएन, जहाँसम्म उनले संस्था र देशका लागि राम्रो काम गरिरहेका थिए । त्यसैले जिम्मेवारीको कामबाहेक अरू कुनै कुराको कारणले उनलाई घर पठाउनु अनुचित हो । विकास र समृद्धिप्रति प्रतिबद्ध सरकारले आफ्ना सबैजसो सरकारी संस्थान र प्राधिकरण अस्तव्यस्त भएको अवस्थामा यस्ता व्यवस्थापकलाई किमार्थ गुमाउन चाहँदैन । किनभने, यस्ता व्यवस्थापक यस्ता मुलुकमा सितिमिती भेटिँदैनन् । कुलमानका लागि त उनको बहिर्गमनको विरोधमा यति धेरै जनताको आक्रोश र जुलुस नै निस्कनु ‘न भूतो न भविष्यति’ भनेजस्तो सफलता हो, जुन अहिलेसम्म कसैका लागि भएको थिएन । तर यो ‘पिकफर्म’मा रहेको खेलाडीले असमयमै सन्न्यास लिएजस्तो हो ।
विद्युत्को उत्पादन र वितरणको सम्बन्धमा अहिले एउटा बेन्चमार्क बनेको छ । त्यसको अतिरिक्त अपर तामाकोसीजस्तो देशको सबैभन्दा ठूलो विद्युत् आयोजना सम्पन्न हुने अवस्थामा पुगेको छ र अरू सानाठूला केही आयोजना पनि सम्पन्न हँुदैछन् । त्यसैले, अबको उपलब्धि भनेको विद्युत् उत्पादन वृद्धि, प्राधिकरणको नाफा वृद्धि, अहिलेको करिब १६ प्रतिशतको चुहावट कटौती, प्रतिव्यक्ति विद्युत् खपतमा वृद्धि, विद्युत् आपूर्तिको गुणस्तरमा सुधार र विद्युत् निर्यातको क्षेत्रमा देखिनुपर्दछ । र, यी कुरामा जनताले निरन्तर नजर लगाइराख्नेछन् । र, त्यसमा कतै कमीकमजोरी देखिए सरकार उपर औंलो ठड्याउनेछन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply