कथामा दलित–चित्रण
हिन्दु धर्मले वर्णव्यवस्था र छुवाछूतलाई प्रश्रय दिएयता नेपाली समाजमा सदियौंदेखि एउटा तप्काले जातीय विभेद र छुवाछूतको कहर झेल्दै आएको छ । कथित दलितहरू समाजको हरेक क्षेत्रमा विभेद खेप्न बाध्य छन् । राज्यले छुवाछूतमुक्तको घोषणा गरे पनि व्यावहारिक धरातलमा भने अझै मौजुद छ । सदियौंदेखि जरा गाड्दै आएको जातीय विभेद र छुवाछूत कुनै घोषणा वा प्रतिबद्धताले तत्काल हट्ने विषय पनि होइन रहेछ ।
जातीय विभेदको प्रताडना झेल्दै आएका दलितहरू राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा कसरी विभेदको सिकार हुँदै आएका छन् ? यो विषयमा निकै लामा, चर्का र सानदार बहस–विमर्शहरू भएका छन् । विभेद हट्नुपर्ने तर्क÷प्रतितर्कहरू पनि हुँदै आएका छन् । तर, समस्या ज्यूँका त्यूँ नै छन् । तर, नेपाली समाजमा दलित समुदायले भोग्नुपरेका अनेक मानसिक, शारीरिक उत्पीडन एवं छुवाछूतका कथाहरू भने लेखिँदै आएका छन् । सोही क्रमको उपलब्धि हो– ‘नेपाली कथामा दलित’ ।
अरू विषयमा धेरै साहित्य सिर्जना भए पनि दलित–साहित्य लेखन भने अझै पिँधमै छ । दलित–साहित्य लेखन उत्पीडन झेल्ने सोही समुदायले लेख्ने विषय हो वा गैरदलितले पनि लेख्ने विषय हो ? हामीकहाँ यो बहस नचलेको होइन । तर, नेपाली सन्दर्भमा भने दलित–साहित्य लेखनमा दलित र गैरदलित दुवैले कलम चोबेका छन् । र, गैरदलितले लेखेका साहित्यमा पनि दलित समुदायको उत्पीडनलाई गहिराइमै पुगेर खोतल्ने प्रयत्न भएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली कथामा दलित’ मा भने ‘दलित समुदायको मनोविज्ञान, सौन्दर्य विम्ब तथा विश्वदृष्टिलाई’ केलाइएका कथाहरू समाविष्ट छन् । चालिसको दशकमै प्रख्यात स्रष्टा पारिजातले लेखेकी थिइन्– ‘नैकापे सर्किनी’ । कुनै बेलाको त्यो चर्चित कथालाई यो सँगालोमा राखिएको छ । चालिसकै दशकमा ऋषिराज बरालले ‘कदमलाल ततमाको गीत’ लेखेका थिए । मूलतः तराई–मधेसको दलित समुदायले झेल्नुपरेको व्यथालाई केन्द्रीय विषय बनाइएको यो कथा तत्कालीन समयमै चर्चित बनेको थियो ।
पचासको दशकमा भने खगेन्द्र संग्रौलाले लेखेका ‘संग्रामबहादुर सार्की’, नारायण ढकालको ‘सुनाखरी टोल’ पनि समाविष्ट छन्, यो सँगालोमा । ‘सुनाखरी टोल’ मा जातीय विभेदको पर्खाल कति दह्रो रूपले ठडिएको छ, त्यसको गहन चित्रण छ । कथित उच्च र दलित जातिबीचको प्रेम–सम्बन्धमा नेपाली समाज कतिसम्म क्रूर र यथास्थितिवादी छ भन्ने पक्ष यो कथाले उघारेको छ । यसबाहेक अभय श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, इस्माली, कृष्णबम मल्ल, केशव प्रधान, ख्यामु गाउँले विश्वकर्मा, घनश्याम ढकाल, धीरकुमार श्रेष्ठ, नवीन विभास, पञ्चकुमारी परियार, मनु ब्राजाकी, मातृका पोखरेल, यामबहादुर किसान, रणेन्द्र बराली, विवश वस्ती, हरिप्रसाद भण्डारी, हरिमाया भेटवाल र हरिहर खनालका कथाहरू समावेश छन् ।
प्रतिनिधि दलित विषयक कथाहरू पस्किनुअघि ‘नेपाली कथामा दलित’ र ‘दलित साहित्य र ऐतिहासिक सन्दर्भ’ गरी दुई आलेख पनि सो पुस्तकमा समेटिएका छन् । मातृका पोखरेलको संयोजन र तेजविलास अधिकारी र पुरुषोत्तम रिजालको सम्पादनमा प्रकाशित सो सँगालो प्रकाशनको उद्देश्यबारे लेखिएको छ, ‘नेपाली कथाहरूले दलित समुदाय र त्यससँग सम्बन्धित विषयलाई केकसरी उठाएका छन् र तिनको सम्बोधन कसरी गरेका छन् भन्ने बारेमा पर्याप्त अध्ययन हुन सकेको छैन । जेजति अध्ययनहरू भएका छन् ती पर्याप्त छैनन् । यस अपर्याप्ततालाई सानै रूपमा भए पनि सम्बोधन गर्ने प्रस्तुत अनुसन्धान कार्यले गरेको छ ।’
कृति ः नेपाली कथामा दलित
विधा ः कथा
सम्पादक ःतेजविलास अधिकारी÷पुरुषोत्तम रिजाल
प्रकाशक ः नेपाल प्रज्ञा–प्रतिष्ठान
पृष्ठ ः १९२
मूल्य ः २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply