आत्मीय सिर्जना
लोक–मिथकलाई विम्बहरूले सजाउँदा सिर्जना कति सौन्दर्यशाली र अर्थवान देखिन्छन् ? कवि उपेन्द्र सुब्बाबाट अरू काव्य–सर्जकहरूले सिक्नुपर्ने पक्ष हो यो । उनी एउटा कवितामा लेख्छन्, ‘वनझाँक्रीको बुढी पछिपछि आउँदैछ जस्तो’ । नेपाली समाजमा, खासगरी ग्रामबाहुल्य समाजमा वनझाँक्रीको अस्तित्वप्रति आम मानिसमा विश्वास छ । कतिपयले वनझाँक्रीको कथा बुन्दा वनझाँक्रीले लगेका कुनै बालबालिकालाई उसकी बुढीले मार्न खोजे पनि त्यस्ता बालबालिकालाई कुनै ज्ञान (विद्या) सिकाएर सकुशल फिर्ता गर्ने गरिन्छ भन्ने मान्यता पस्किन्छन् ।
कवि सुब्बाको काव्य–कृति ‘खोलाको गीत’ भित्रको एउटा कविता ‘ना४ख ४३८५’ मा यस्तै लोक–मिथकले स्थान पाएका छन् । जुन कवितामा हामी बाँचिरहेको समाजका लघु–दृश्यहरूलाई उतार्न खोजिएको छ, जुन आम मानिसले दैनिक जीवनमा भोगिरहेका छन् ।
आदिम समयदेखि नै मानिसहरूले प्रकृतिलाई पूजा गर्दै आए । प्रकृतिको विनाशकारी लीला देखेर त्रसित बनेका चेतनविहीन मानिसहरूले प्रकृतिलाई खुसी तुल्याउन पूजा गर्न थाले । सोही क्रममा ढुंगालाई पनि पुज्न थाले । ‘विश्वास’ त्यही ढुंगा पुज्ने संस्कृतिप्रतिको व्यंग्यभाव हो । ‘परतन्त्र’ ले राजनीतिक नेतृत्वमा देखिएको गैरजिम्मेवारीपन, भविष्यदृष्टिको अभाव र परतन्त्रीय चेतप्रति तीक्ष्ण रूपमा कटाक्ष गरेको छ । बेचिएकी एउटी पात्र सीतालाई विम्ब बनाएर देशको भविष्यप्रति चिन्ता जाहेर गर्न अग्रमोर्चामा उभिएको छ, उक्त कविता ।
‘छोरीलाई शुभकामना’ मा नेपाली समाजमा नारीप्रतिको हेराइ र उनीहरूले भोग्नुपरेका यावत पितृसत्तात्मक चिन्तनको परिधिलाई नियाल्न खोजिएको छ । ‘मेरो आमाको नाम’ ले भने विगतमा सामन्ती प्रथाहरूद्वारा लादिएको समाजमा नारीको पहिचान र अस्तित्वलाई नामेट पारिएको यथार्थ बक्न चाहेको छ । कवि लेख्छन्, ‘चाप्पती ?÷फूलमती ?÷दिलमती ?÷ वा, खाओती, नामओती, लाओती ?÷मेरो आमाको नाम के होला ?’
‘कान्छीको झुम्के बुलाकी’ मा सहर र ग्रामीण भेगबीचको अन्तरद्वन्द्व खिचिएको छ । अनेक सपना बोकेर सहरमा आउने ग्रामीण बालाहरूले बुझेको सहरलाई यो कवितामा व्यक्त गरिएको छ । दिवंगत कवि कृष्णभूषण बलले चालीसको दशकमा सशक्त कविता कोरेका थिए, ‘भोलि बास्ने बिहान’ । पञ्चायती व्यवस्थाले स्वतन्त्रताका सबै मुहानहरू थुनछेक गरेको समयमा लेखिएको यो प्रखर आशावादले भरिएको कविता थियो । कवि सुब्बाले भने ‘भूषण दाइलाई चिठी’ मा भने यही कविताको प्रत्युत्तर दिएका छन् । उनी भने निराश भाव छर्दै भन्छन्, ‘जीवनमा भोलि कहिले नआउँदो रैछ’ ।
कवि बलले नै अर्को कविता लेखेका थिए, ‘आज त बिसाऊँ होला थापाजी ?’ । यो कविता पढेपछि सुब्बाले लेखे, ‘साँल्दीज्यू, एक ट्वाँक चढाउँ कि ?’ उनी लेख्छन्, ‘हिजो मात्तै÷भोलि रक्सी छोड्ने सर्तमा रक्सी नै पिएँ÷आखिर, अन्तिम हो भनी बेस्सरी पिएँ÷आज कस्तो बाटो भुलेर फेरि÷यहाँ भट्टीछेउ म आइपुगें ।’
कवि सुब्बामा लोक–मिथकहरूलाई काव्यिक धरातलमा समेट्ने सीप त छँदैछ, ग्रामीण ठेट शब्द र लयहरूलाई सिंगारपटार गर्ने कलामा पनि उनी माहिर देखिन्छन् । उनले काव्य–सिर्जनामा पूर्वी नेपालको लिम्बु जातिका लोकसंस्कृति, संस्कार, कथाख्यानहरूलाई माकुरोले मिहिन ढंगले जाल बुनेझैं बुनेका छन् । त्यही भएर उनका कविताहरू आत्मीय लाग्छन् ।
कृति ः खोलाको गीत
विधा ः कविता
कवि ः उपेन्द्र सुब्बा
प्रकाशक ः फिनिक्स बुक्स
पृष्ठ ः १०२
मूल्य ः रुर. २५०।–
कविता
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply