टिस्टुङमा ठडियो अष्टमानको सालिक
मकवानपुर । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले स्वर्गीय अष्टमान बलको सालिक अनावरण गरेका छन् । तत्कालिन थाहा आन्दोलनका अभियन्ता र पछि तत्कालीन मालेका नेताका रूपमा स्थापित व्यक्तित्व अष्टमान बलको सालिक बनाइएको हो ।
स्वर्गीय बलको स्मृति दिवसका अवसरमा थाहा नगरपालिकाका दुईवटा वडाले संयुक्त रूपमा सालिक निर्माण गरेका हुन् । बल जनपक्ष प्रधानपञ्च तथा २०४९ सालमा तत्कालीन एमालेबाट निर्वाचित गाविस अध्यक्ष हुन् । कार्यक्रममा प्रमुख अतिथिको हैसियतले बोल्दै केन्द्रीय सदस्य खतिवडाले अष्टमान बलले नै दुर्गम स्थानमा परिवर्तनका लागि आधार खडा गरेकाले अहिलेको विकास संभव भएको बताए ।
थाहा नगरपालिका–११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रूपमा आयोजना गरेको सालिक अनावरण कार्यक्रममा नेकपा नेता खतिवडाले ‘इतिहासमा एकफेर आउने अवसलाई अधिकतम ढंगले जनताको पक्षमा उपयोग गर्न जान्नुपर्ने धारणा राखे । नेकपा नेता खतिवडाले दुई पार्टी एक भएर नेकपा थप बलियो भएको भन्दै एकतामा हुने बललाई विकास , निर्माणमा खर्च गर्न आग्रह गरे ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थोरै स्रोत र साधनबीच पनि जनतालाई सेवा दिन आफूहरू तत्पर रहेको तर पनि जस पाउन नसकेको गुनासो गरे । प्रमुख विष्टले अष्टमान बल अन्यायअत्याचारविरुद्ध लड्ने एक योद्धा हुनुका साथै उहाँका अगाडि कुनै जाली–फटाहाहरू टिक्न नसक्ने अवस्था रहेको स्मरण गरे । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले स्वर्गीय अष्टमान बल उतिबेलै समुदायमा जागरण ल्याउन पहल गर्ने जनप्रिय नेता भएको दाबी गरे । अध्यक्ष लामाले स्वर्गीय बलले देखाएको बाटोमा आफ्नो छिमेकी थाहा नगरपालिका हिँडेकोमा खुसी व्यक्ति गर्दै इतिहासको स्मरणका लागि सालिक अनावरण कार्य महान् कार्य भएको ठोकुवा गरे ।
कार्यक्रममा नेपाल लोकतान्त्रक आदिवासी जनाजाति महासंघका पूर्वकेन्द्रीय सचिव तथा नेकपा मकवानपुर सचिवालय सदस्य रामचन्द्र बलले स्वर्गीय बलले देखाएको बाटोकौ कारण टिस्टुङ क्षेत्रको काँचुली फेरिएको दाबी गरे । कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश समितिका अध्यक्षकुमार घलान, वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य सुवास लामालगायतले स्वर्गीय बलको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष तथा थाहा–६ निवासी शन्तराम बिडारी, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली, इन्द्रसरोवर गाउँपालिका कमिटी अध्यक्ष ऋषि पुडासैनी, नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य कल्याणविक्रम घलान, थाहा नगर सचिवालय सदस्य अच्यूतमप्रसाद ढकाल, विमलप्रसाद ढकाल तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा गाविसका पूर्व अध्यक्ष तथा स्वर्गीय अष्टमानका सहयात्री अशोककुमार लामाले आफ्ना तत्कालीन सहकार्यहरूको स्मरण गरेका थिए ।
थाहा–१२ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको स्वागत मन्तव्यमा भएको कार्यक्रमको अध्यक्षता थाहा–११ का वडाध्यक्ष तथा स्वर्गीय बलका पुत्र किरणमान बलले गरेका थिए । कार्यक्रममा शिक्षक ज्ञानचन्द्र सिकारी र मूर्तिकार मानबहादुर बललाई सम्मान गरिएको थियो । शिक्षक सिकारीले स्वर्गीय बलको चिनारी प्रस्तुत गरेका थए । २००२ साल पुस १४ गते जन्मिएका अष्टमान बल २०४३ देखि २०४६ सम्म तत्कालीन टिस्टुङ पञ्चायतको जनपक्षीय प्रधानपञ्च भएका थिए । बहुदल स्थापनापछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भए ।
नेपाल तामाङ घेदुङ मकवानपुरका संस्थापक अध्यक्षसमेत रहेका बल आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाउँमा ‘लाउरे’ उपनामबाट समेत चिनिन्थे । स्पष्टवक्त, निडर स्वभाव, अत्याचारविरोधी र विकासको अभियानकर्मीका रूपमा उनले सामाजिक कामहरूमा आफूलाई संलग्न गराए ।
२०४३ सालमा तत्कालीन साना किसान विकास आयोजना कार्यक्रमअन्तर्गत ठाडेखोलामा कुटानी पिसानीको मिल स्थापना गरेका थिए, जहाँ तोरीसमेत पेलिने भएकाले तत्कालीन अवस्थामा धेरै जिल्लाबाट मानिसहरू ठाडेखोला आउँथे । पछि मिल स्थापना भएकाले सो ठाउँको नाम नै मेलखोला कायम भएको थियो । बल तत्कालीन वागेश्वरी प्राविको व्यस्थापन समितिको अध्यक्ष भएर सो ठाँउमा शिक्षाको जग बसाल्न प्रयत्नशील रहे । उनका घरमा त्यतिबेला मोहनचन्द्र अधिकारी, सिपी मैनाली, सिद्धिलाल सिंहलगायत भूमिगत नेताहरू पार्टीप्रशिक्षण दिनसमेत आउने गर्थे । अहिले उनै बलका छोरा किरणमान बल वडाध्यक्ष छन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply