मस्तिष्कलाई असल खुराक
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको वैज्ञानिक खोज, अनुसन्धान र देनप्रति संसार जति कृत्य छ, त्यति नै कृत्य संसारका समाजवादीहरू छन्, उनीप्रति । पुँजीवादलाई निर्विकल्प शासन प्रणाली मानिने समयमा उनले एउटा उन्नत वैचारिक दृष्टिकोण पस्किए, ‘समाजवाद नै किन ?’ बीसौं शताब्दीको अत्यधिक चर्चित यो वैचारिक विश्लेषणमा आइन्स्टाइनले लेखेका थिए, ‘व्यक्तिहरूको चेतनालाई पंगु तुल्याउने कार्यलाई म पुँजीवादको सबैभन्दा चुत्थो खराबी ठान्छु । हाम्रो सिंगो शिक्षा–पद्धति यस खराबीबाट ग्रस्त छ । विद्यार्थीका दिमागमा एकदम बढाइचढाइ गरेर प्रतिस्पर्धा गर्ने प्रवृत्ति घुसाइन्छ र उसलाई उसको भावी वृत्तिको तयारीका रूपमा साह्रै लालची सफलताको पूजा गर्ने प्रशिक्षण दिइन्छ ।’
आइन्स्टाइनको यो वैचारिक विश्लेषणसहित विश्वका अरू समाजवादी चिन्तकहरूका वैचारिक आलेखहरूले अब नेपाली भाषामा नै पढ्न सकिने छ । लेखन र अनुवाद कर्ममा खारिएका खगेन्द्र संग्रौलाको मिहिनेतस्वरूप ‘सत्ता र सत्य’ केही समयपूर्व बजारमा आएको छ र उक्त निबन्धकृतिमा बीसौं शताब्दीमा संसारलाई वैचारिक गोरेटोमा डो¥याउने स्रष्टाहरूका विचार समेटिएका छन् ।
‘हामी कसरी बाँचेका छौं र कसरी बाँच्न सक्दा हौं’ विलियम मोरिसको मस्तिष्क तिखार्ने वैचारिक निबन्ध हो । पुँजीवादी उत्पादन प्रणालीको विकास र निरन्तरताले समाजका मिहिनेती वर्गले झेल्नुपरेका दुर्दान्त तस्बिर उतार्न सक्षम देखिएको छ, यो निबन्ध । मोरिसको कथन छ, ‘प्रतिस्पर्धा भनेको त्यस्तो बौलाहा साँढे हो, जसले तपाईँलाई आफ्नै बगैंचामा लखेट्छ । तपाईँले आफूखुसी यसलाई युद्ध वा प्रतिस्पर्धा जेसुकै भन्नोस्, यसको अर्थ असलमा तपाईंले अरू कसैको नोक्सानी गराएर आफ्नो फाइदालाई हेर्नु हो ।’
यो संसारको सुन्दर संरचना निर्माणमा तर्क र विश्लेषण पद्धतिको आफ्नै भूमिका रह्यो । त्यसका निम्ति श्रमिक वर्ग मात्र होइन, बुद्धिजीविहरूले पनि आ–आफ्नो तहबाट उत्साहजनक तवरले भूमिका खेले । चर्चित बुद्धिजीवी आन्टोनियो ग्राम्स्कीको लेख ‘बुद्धिजीविहरूको निर्माण’ ले उन्नाइसौं शताब्दीमा विश्व परिवेशमा बुद्धिजीविहरूले निर्वाह गरेका भूमिका साथै उनीहरूका प्रवृत्ति केलाउन उद्यत् देखिएको छ ।
विख्यात चिन्तक÷लेखक बर्तोल्ट बे्रख्तले बीसौं शताब्दीको ठूला अभिशाप मानिएको पुँजीवाद र त्यसको विकसित रूप फासीवादविरुद्ध आफ्नो कलम चलाए । त्यही क्रममा उनले लेखे, ‘सत्य कुरा लेख्दा आइपर्ने पाँच कठिनाइ’ । यो लेखमा उनी लेख्छन्, ‘सत्यलाई सर्वत्र दमन गरिएको कारणले गर्दा सत्य कुरा लेख्न गाह्रो हुन्छ, त्यसैले सत्य लेखिन्छ कि लेखिन्न भन्ने कुरा धेरैजसो मानिसका लागि चरित्र बलको प्रश्न हो भन्ने लाग्छ ।’
व्यवहारबाट पृथक् रहेको सिद्धान्तको कुनै अर्थ हुँदैन । विलियम हिल्टनको रिपोतार्ज शैलीको आलेख ‘पुनःसंस्कारित बुद्धिजीविहरू’ मा चिनियाँ परिवेशका बुद्धिजीवीहरूको कथा छ । बुद्धिजीविहरूको काम सिद्धान्तको रटान लगाउने मात्र होइन, उनीहरू किसान एवं मजदुरकहाँ पुगेर आफूलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनुपर्छ भन्ने मूल भाव छ, यो निबन्धमा ।
ल्याटिन अमेरिक वामपन्थी बुद्धिजीवी, लेखक र चिन्तक इडुआर्दो ग्यालियानोको लेखन शील्पलाई मन पराउने ठूलो पंक्ति छ, अझै विश्व साहित्य जगत्मा । तिनै वामपन्थी लेखकका तीन थान सशक्त निबन्धले यो पुस्तकमा स्थान पाएका छन् । ‘विश्वलाई बचाउने पक्षमा’, ‘ल्याटिन अमेरिकी साहित्य र कलामा बारम्बार प्रकट हुने दशवटा झुट र गल्तीहरू’ र ‘हामी इन्कार गर्छौं’ गरी तीन लेख समेटिएका छन् । एडबर्ड डब्लु सइद, हवार्ड जीनका एक–एक वैचारिक निबन्ध समेटिएको यो पुस्तकलाई अझ पठनीय बनाउन मानवशास्त्री मेरी डेसेन र सीके लालका वैचारिक लेखहरूले अहं भूमिका खेलेकोमा कुनै शंका छैन ।
कृति ः सत्ता र समय
विधा ः वैचारिक लेखहरू
अनुवादक ः खगेन्द्र संग्रौला
प्रकाशक ः बुकहिल
पृष्ठ ः २०८
मूल्य ः रु. ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply