भाषा र शिल्पमा धनाढ्य

सन् असीको दशकदेखि नेपाली साहित्य लेखनमा आफ्नो पृथक् प्रभाव जमाउँदै आएका स्रष्टा हुन्, अविनाश श्रेष्ठ । कथा, कविता र नाटक विधामा कलम चलाउँदै आएका उनले थोरै लेखे पनि सशक्त र गहन लेखनमार्फत आफ्नो छाप साहित्य वृत्तमा कोरेका छन् । ‘तान्या, इन्द्रकमल र अन्धकार’ उनको शक्तिशाली कथा–साहित्यको कृति हो, जसमा सन् असीको दशकमा लेखिएका उम्दा कथाहरू समेटिएका छन् ।
‘तान्या, इन्द्रकमल र अन्धकार’ पूर्वोत्तर भारतको ब्रह्मपुत्र नदी वरिपरि बुनिएको सशक्त कथा हो । तत्कालीन सोभियत संघ (रुस) बाट सांस्कृतिक कार्यक्रम लिएर आएको टोलीमा सामेल एउटी नृत्यांगना तान्या र आसामका भ्वाइलिन–वादक अजितबीच छोटो समयावधिमा पलाएको प्रेम–अंकुरणलाई अत्यन्तै मसिनो गरी यो कथामा बुनिएको छ । भौगोलिक फरकपन र देशीय अन्तर भए पनि मानिस–मानिसबीच पलाउने प्रेम भने त्यस्ता देशीय र क्षेत्रीय छेकबारहरू पन्छाउन सक्षम हुन्छन् भन्ने सार खिचिएको छ, यो कथामा । कथामा तत्कालीन सोभियत संघको गन्ध आउँछ र तान्या प्रश्न गर्छिन्, ‘के हामीले सामूहिकताको नाउँमा व्यक्तिगत स्वच्छन्दता, प्रतिभा र वेदनाको स्थितिलाई स्वीकारै नगर्नु ?’
यौन मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको कथा हो, ‘राक्षस’ । आर्थिक सम्पन्नताले भौतिक आवश्यकताहरूको पूर्ति त गर्ला तर कतिपय मानवीय इच्छा, चाहना र यौन उत्कण्ठाहरूलाई भने पैसाले मात्र परिपूर्ति गर्न सक्दैन । आर्थिक रूपले भरिपूर्ण भए पनि आफ्ना पतिको बुढ्यौलीपन र यौन–अनिच्छाका कारण यौन तृप्तिको खोजीमा डुबेकी एउटी महिलाले परपुरुषसँग गाँसेको सम्बन्धलाई कथ्य–धरालतमा उभ्याइएको छ । यौन मनोविज्ञानमै उभिएको कथा हो– ‘जुनेली रातकी द्रौपदी’ । मरुभूमिको यात्रामा निस्किएका तीन पुरुष पात्र र एउटी अपरिचित महिलाबीचको यौनसम्बन्धलाई केन्द्रमा राखेर लेखिएको छ, यो कथा । चार दिनको यात्रापछि पुगिने ठाउँमा रहेका आफ्ना पतिसँग यौनेच्छा पूरा गर्न हिँडेकी ती महिलालाई शारीरिक रूपले भोगिसकेपछि तीन पुरुषहरू प्रश्न गर्छन्, कतै ती महिला किचकन्नी त थिइनन् ?
‘समुद्र’ मा आफ्नी प्रेमिका गुमाउन पुगेका एउटा पात्रको मनोभावना केलाउन खोजिएको छ । समुद्रको किनारमा बसेर ३५ वर्षअघि आफ्नी प्रेमिकासँग गरेका संवाद सम्झेका एउटा पात्रको व्याकुलता छरपस्टिने यो कथामा एयर क्र्यासमा मृत्यु भएकी ती प्रेमिकाको सम्झनामा डुब्दाका भावविह्वलताका चिह्नहरू प्रस्टै देख्न सकिन्छ । सन् असीको दशकमा आसाममा ‘विदेशी लखेट्ने’ अभियान÷आन्दोलन चल्यो । असमियाहरूले चलाएको त्यो आन्दोलनको प्रत्यक्ष मारमा नेपालीहरू परे । भारत स्वतन्त्र हुनुपूर्व नै हजारौं नेपाली आसाममा बस्दै आएका थिए– चियाकमानमा चिया टिप्ने, आरा लगाउने, कोइला खानीमा काम गर्नेगरी । ‘घर, कहाँ छ आफ्नो घर’ कथामा भने आसामका रैथानेहरूले चलाएको विदेशी लखेट्ने अभियानमा नेपालीहरूले भोग्नुपरेको दुःखान्त तस्बिरहरू टाँगिएका छन् । श्रम गरेर जीविकोपार्जन गर्ने वर्गप्रति रैथानेहरूका साथै प्रहरीले थोपरेको दर्दनाक चित्रहरू प्रस्टै देखिन्छन्, यो कथामा ।
प्रेम र यौन अनुभूतिका साथै सीमान्त वर्गका व्यथालाई केन्द्रमा राखेर लेखिएका कथाहरूको बाहुल्य रहेको ‘तान्या, इन्द्रकमल र अन्धकार’ भित्रका कथाहरूले आजभन्दा करिब चार दशकअघिको पूर्वोत्तर भारतीय समाजको नालीबेली केलाउने सक्षमता बोकेका छन् । भाषा र शिल्पका हिसाबले धनाढ्यपनको झलक दिने श्रेष्ठका कथाहरूमा व्याप्त कथन–कला, सटीक र अर्थपूर्ण संवाद एवं सम्प्रेषणीयताका कारण पाठकलाई अधिक आकर्षक गर्ने क्षमता राख्छन् ।
कृति ः तान्या, इन्द्रकमल र अन्धकार
विधा ः कथा
कथाकार ः अविनाश श्रेष्ठ
प्रकाशक ः फाइनप्रिन्ट
पृष्ठ ः १५९
मूल्य ः २९८।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply