‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
काठमाडौं । २०६२÷६३ को जनआन्दोलनमा तत्कालीन शासकविरुद्ध सडकमा कविता वाचन गरेर लोकतन्त्रका पक्षमा नागरिक उभार ल्याउन भूमिका खेलेका लेखक, कलाकार, कविहरू अहिले पनि लोकतन्त्रको रक्षाका निम्ति सडकमा छन् । कतिपय कवि लेखकहरू सडकमा कहिले सिटी फुकेर त कहिले डम्फु बजाएर संसद् विघटनविरुद्ध जुर्मुराएका छन् भने कतिपय कवि लेखकहरू यो गैरसंवैधानिक कदमविरुद्ध सशक्त कवितामार्फत नागरिकलाई सचेत गराउँदैछन् ।
दोस्रो जनआन्दोलनमा सडकका वाचन गरिएका कविताबाट चर्चामा आएका कवि अर्जुन पराजुलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति सामाजिक सञ्जालमा कविता लेखेर कटाक्ष गरेका छन् । उनका कवितालाई आम नागरिकले रुचाएका छन् । गैरसंवैधानिक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यसयताका घटनाक्रमलाई लक्षित गरेरै उनले आधा दर्जनभन्दा बढी छोटा कविता लेखिसकेका छन् । पछिल्लो समय संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा र विभाजित पार्टीको आधिकारितालाई लिएर निर्वाचन आयोगमा उजुरी परेपछि अदालत र आयोगले कस्तो फैसला गर्लान् भन्नेतिर सबैको ध्यान केन्द्रित भएको छ । यसैलाई संकेत गर्दै पराजुलीले लेखेका छन् ः
मिलेमतोसँग इन्साफ माग्दा
इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ ।
प्रधानमन्त्री ओलीले संसद् विघनको सिफारिस गर्नासाथ उनले लेखेको तलको कविता सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
जंगबहादुर हुनुहुँदो रहेछ तपार्इं
जुँगा उखेल्नुभयो हजुरले जुगको !
थुकौं भने पनि तपाईंलाई
अपमान हुने भयो मेरो थुकको !!
प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संसद् विघटन गर्नुपरेको भन्दै २०७८ वैशाखमा नयाँ निर्वाचन गर्ने मिति पनि घोषणा गरेका छन् । तर, नयाँ निर्वाचनको मिति गर्न लागि गरिएको घोषणा होइन भन्ने आम नागरिकले बुझेका छन् । जसले चुनाव हुने रटान लगाइरहेका छन्, त्यो नबुझेर होइन, बुझ पचाएर गरिएको छर्लङ्ग छ । पार्टी पुटाएर बहुमत ल्याउँछौं भन्दै निर्वाचनमा जाने काम ओलीजस्तो चतुर नेताले गर्लान् भन्ने कसैले विश्वास गर्दैनन् । अहिलेको संसद् विघटनलाई २०१७ सालसँग तुलना गर्दै निर्वाचनबारे उनी लेख्छन् ः
चुनाव त अब ७८ सालमा हुन्छ महोदय
गन्नुस् कति वर्ष बाँकी छ, हिजो मात्रै सत्र साल आयो ।
संसद् विघन गर्ने ओलीको कदम गैरसंवैधानिक र प्रतिगमनकारी भएको निष्कर्ष पराजुलीको छ ।
लँगौटी लगायौं हामीले तिम्रो संविधान
अब लुगा लगाउनुपर्छ भन्ने कर छैन !
पेसा राम्रो प्रतिगमन हो
अरू पेसाको कुनै भर छैन !!
पार्टीभित्रको अन्तरसंघर्ष र कलह उत्कर्षमा पुगेको बेला बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो जुँगा पनि कालो हुँदै आएको भन्दै सजिलै आफूले चालेका कदमबाट पछाडि नहट्ने संकेत गरेका थिए । त्यसैलाई इंगित गर्दै पराजुलीले लेखेका छन् ः
कात्रोमा खल्ती हालेर मात्र पुगेनछ भन्ने कुरो
जुँगा कालो भएको दिनमै चाल पाएको हो !
ख्यालख्यालमा खाएको होइन बाख्राले बाघ
दाँतको सेटिङ पहिल्यै मिलाएर खाएको हो !!
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply