यसरी छानिँदैछन् प्रदेश र जिल्लामा नेकपाका पदाधिकारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला र जनसंगठनहरूमा रिक्त पदाधिकारी पदपूर्ति गर्ने विधि, प्रक्रिया र मापदण्डको गृहकार्य पूरा गरेको छ । प्रधानमन्त्री केपी ओलीको अल्पमत गुटको समर्थनमा लागेका प्रदेश, जिल्ला र जनसंगठनका पदाधिकारीहरू रिक्त रहेको स्थानमा पदपूर्तिका लागि नेकपाले मापदण्ड बनाएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको १२ सदस्यीय शक्तिशाली कार्यदलले रिक्त रहेका पदाधिकारीहरू र पार्टी एकीकरण गर्न बाँकी केन्द्रीय निकाय र सल्लाहकार कमिटीहरूमा पूर्वसमूहहरूको भागबन्डाअनुसार पदपूर्ति गर्नेगरी मापदण्ड बनाएको छ । गत १९ पुसमा बसेको स्थायी समिति बैठकले कार्यदललाई गृहकार्य गर्न सात दिनको समय दिएको थियो ।
जसअनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको भागबन्डाअनुसार विभाजनपछि रिक्त रहेका पदाधिकारीहरू सम्बन्धित पूर्वसमूहबाटै जिम्मेवारी दिइनेगरी बनाइएको कार्यदलका सदस्य वेदुराम भुसालले बताए । ‘विशेष स्थितिबाहेक पूर्वसमूहतिरबाटै जिम्मेवारी दिनेगरी मापदण्डको गृहकार्य गरिएको छ,’ उनले भने ।
अहिलेसम्म सात प्रदेशमध्ये चारजना इन्चार्ज, नौजना सहइन्चार्ज र चारजना पार्टीको मूलधारमा लागेका छन् भने बाँकी ओली गुटमा खुलेका छन् । त्यस्तै, ७७ जिल्ला कमिटीका पदाधिकारीहरूमध्ये मूल धारमा ४४ जना अध्यक्ष र ६३ जना सचिव खुलेका छन् भने ओली गुटमा ३१ अध्यक्ष र १४ जना सचिव लागेका छन् । यसअनुसार पार्टीका सबै कमिटी र जनसंगठनहरूमा ओली गुट पूर्ण रूपमा अल्पमतमा परेको छ ।
गृहकार्य कार्यदलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, मातृका यादव, अष्टलक्ष्मी शाक्य र शक्ति बस्नेत सदस्य थिए ।
उता, नेकपाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो लगाएपछि मात्र केन्द्रीय सदस्यहरूको पदपूर्ति गर्ने नीति अख्तियार गरेको छ । सबैतिर अल्पमतमा परेको र पत्तसाफ हुने डरका कारण ओली गुटले १५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएर ५० प्रतिशत सदस्य थप्न सकिने विकल्प खुला राखेर पद देखाएर लोभ्याउने नीति लिए पनि मूलधारको नेकपाले भने विधिसम्मत ढंगले अगाडि बढ्ने नीति लिएको हो । मूलधारको नेकपाले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका बहुमत सदस्यहरूको हस्ताक्षरसहित आधिकारिक पार्टीको मान्यता माग गर्दै आयोगमा निवेदन दिएको छ । बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले राजनीतिक दलसम्बन्धी कानुनअनुसार आफ्नै समूहले आधिकारिकता पाउने निश्चितजस्तै देखिएको बताइन्छ । दलले आधिकारिकता पाए अर्को समूहमा रहेका थुप्रै केन्द्रीय सदस्यहरू पनि आफ्नै समूहतिर खुल्ने र बाँकी रिक्त स्थानमा मात्र पदपूर्ति गर्ने नेकपाको तयारी छ । यद्यपि, त्यसपछिको रिक्त स्थानहरूमा भने पूर्वएमाले र पूर्वमाओवादी समूह दुवैतिरको बराबरी सन्तुलन मिल्नेगरी पूर्ति गर्ने कि, पूर्व समूहमध्ये जतातिरबाट रिक्त छ, उसैको सिफारिसमा पूर्ति गर्ने विकल्पबारे अनौपचारिक छलफल चलिरहेको नेताहरूको भनाइ छ । रिक्त स्थानहरूमा भने अहिले जिम्मेवारीमा नरहेका सिनियर पूर्व केन्द्रीय सदस्यहरू, ज्येष्ठता र क्रियाशीलता, एउटा पनि केन्द्रीय सदस्य नरहेका केही जिल्ला, तत्कालीन महाधिवेशनमा थोरै मतान्तरले पराजित भएकाहरूमध्येबाट जातीय, क्षेत्रीय र लैंगिक सन्तुलन मिलाएर केन्द्रीय सदस्यको पदपूर्ति गर्नेगरी अनौपचारिक छलफल चलेको एक नेताले बताए ।
सम्बन्धित समाचार
-
प्रतिगमनकाविरुद्ध प्रेस संगठन
-
मुख्यमन्त्री राईसहित सात निलम्बित
- सुब्बा र कोइरालाबीच भीडन्त
-
‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
-
यसरी म सुकुम्वासी भएँ
-
मेरो बिहेमा निर्मल लामा पुरोहित
- थाहाका विकास आयोजना अनुगमन
-
लामा नेकपाको एउटा आदर्श
-
टिस्टुङमा ठडियो अष्टमानको सालिक
-
यसरी पनि मनाउन सकिन्छ जन्मदिन
-
मन्त्री गुरुङद्वारा प्रभावित क्षेत्रको स्थलगत अवलोकन
- पम्पको लाखौं हिनामिना गर्नेको अझै खोजी भएन
Leave a Reply