किसान संघर्षको गाथा

तत्कालीन समयमा काठमाडौं उपत्यकामा बसोबास गर्ने उच्च जातीय वर्गका मानिसहरूको मृत्यु हुँदा ‘विर्खेश्वर’ गर्ने चलन थियो । त्यो चलनअनुरूप मानिसको मृत्यु भएको एघारौं दिनमा बाच्छालाई डामेर छाडिन्थ्यो । पछि त्यही बाच्छा नै साँढे हुन्थ्यो र त्यसले किसानहरूको बालीनाली खाएर हैरान तुल्याउँथ्यो । छाडा चौपायाहरूले आफ्नो बाली सखाप पार्न थालेपछि २०१९ सालमा भक्तपुरका किसानहरूले करिब ५०–६० वटा साँढेलाई धपाएर नगरकोटभन्दा परको फटकशिलासम्म पु¥याए । तर, सामन्त वर्गले भने किसानको त्यो अभियानप्रति विरोध जनाए र त्यसले किसान आन्दोलनले संघर्षको रूप लियो । भक्तपुरको किसान आन्दोलनमा यो ‘साँढे धपाउने आन्दोलन’ का रूपमा परिचित छ ।
कुनै पनि संगठित शक्ति÷समूहका सामु आफूलाई शक्तिशाली ठान्ने वर्गले झुक्नैपर्दछ । ‘भक्तपुरको किसान आन्दोलनको अर्थ–राजनीतिक विश्लेषण’ नामक पुस्तकमा भक्तपुरको किसान आन्दोलनको मोटामोटी विश्लेषण गर्दै किसानहरूको संगठित पहलकदमी र त्यसले तत्कालीन समाजमा पु¥याएको प्रभावबारे उल्लेख गरिएको छ ।
राणाकालको अन्त्य भएपछि नेपालका किसानहरू संगठित रूपमा मैदानमा देखा परे । कम्युनिस्ट पार्टीको पहलमा अखिल नेपाल किसान संघ गठन भयो, २००८ सालतिर । तत्कालीन समयमा कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको हुँदा कम्युनिस्ट पार्टीका गतिविधि किसान संगठनकै आवरणमा हुने गथ्र्यो । भक्तपुरका किसानहरू पनि त्यही समयदेखि नै संगठित भए र आफूले भोगेका समस्याहरूलाई संगठित रूपले नै प्रतिवाद गरे । ‘साँढे धपाउने आन्दोलन’ पनि भक्तपुरका किसानहरूको प्रतिरोधी परम्पराकै एउटा अंग थियो ।
साँढे धपाउने आन्दोलनबाहेक भक्तपुरका किसानले आफ्नो हक र अधिकार प्राप्तिका लागि अरू आन्दोलनहरू पनि चलाए । जसमा मोहियानी हक दिलाउने आन्दोलन पनि प्रमुख थियो । राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई दीर्घकालसम्म तन्काउन केही सुधारात्मक कार्यक्रमहरू अघि सारेका थिए र त्यहीमध्ये एक थियो– भूमिसुधार कार्यक्रम । भूमिसुधार कार्यक्रमप्रति अरु कम्युनिस्ट घटकहरूले विरोध जनाए पनि भक्तपुरको राजनीतिमा भिजेका नारायणमान विजुक्छे ‘रोहित’ ले भने उक्त कार्यक्रमलाई समर्थन जनाएर उपयोग गर्ने नीति लिएका थिए । यसबाहेक बिल भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचार विरोधी आन्दोलन, २०२६ साल असार १९ गतेको आन्दोलन पनि भक्तपुरका किसानहरूले चलाएका चर्चित आन्दोलनहरू थिए ।
भक्तपुरको किसान आन्दोलन सदैव सफल रहेको लेखकको दाबी छ । किनभने, भक्तपुरका जनता सधैँभरि संगठित र जागरुक रहेकै कारण अधिकांश किसान आन्दोलनहरू सफल भएका थिए । भक्तपुरका जनताको संगठित शक्तिलाई लिएर एउटा लोकोक्ति नै छ, ‘कान्तिपुरे राजा, ललितपुरे काजी र भक्तपुरे जनता ।’ तिनै संगठित शक्तिकै कारण भक्तपुरका किसानहरूले उठाएका आन्दोलन सफल रहँदै आयो ।
भक्तपुरका किसानहरूको संघर्ष–गाथालाई केन्द्रमा राखेर पुस्तक प्रकाशन भए पनि विश्वमा भए÷गरेका प्रमुख किसान संघर्षहरूका संक्षिप्त नालीबेलीका साथै नेपाली किसान आन्दोलनको झलक पनि समाविष्ट गरिएको छ । यद्यपि, उक्त पुस्तक एउटा जिल्लाको किसान संघर्षमा मात्र केन्द्रित भए पनि त्यसले तत्कालीन समयमा नेपालमा भएका किसान आन्दोलनहरूको समग्र रूपरेखालाई प्रतिविम्बित गर्दछ ।
कृति ः भक्तपुरको किसान आन्दोलनको अर्थ–राजनीतिक विश्लेषण
विधा ः इतिहास
लेखक ः सुरेश बखुन्छे
प्रकाशक ः युथ सोसाइटी फर सोसियल वेलफेयर
पृष्ठ ः १८५
मूल्य ः ३५०।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply