संस्कृतिविद्को परिचयवृत्त
जीवनको पूर्वाद्र्ध प्रजातान्त्रिक आन्दोलनमा समर्पण गरेका कुलचन्द्र कोइरालाले उत्तराद्र्धमा भने वाङ्मयको उन्नयनमा आफूलाई व्यस्त तुल्याए । तत्कालीन समयमा पूर्व २ नम्बर (रामेछाप र सिन्धुली) भेगको प्रजातान्त्रिक आन्दोलनलाई उठाउन अग्रपंक्तिमा रहेका उनले कलिलै उमेरमा राजनीतिलाई पछ्याए । राणा विरोधी आन्दोलनमा २००४ सालदेखि नै समर्पित भएर लागेका उनले २०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिए । त्यो आमनिर्वाचनमा पराजय भोगे पनि उनले राजनीतिक सक्रियतालाई गति दिए । राजनीति र समाजसेवामा क्रियाशील कोइरालाले साहित्य र संस्कृतिको क्षेत्रमा समेत उल्लेख्य योगदान दिन पछि हटेनन् ।
‘कुलचन्द्र कोइराला ः व्यक्ति एक आयाम अनेक’ बहुमुखी प्रतिभाले भरिपूर्ण कोइरालाको जीवनका अध्यायहरूलाई सूक्ष्म र मिहिन रूपले केलाइएको लघु–दस्तावेज हो । पचासको दशकको प्रारम्भिक वर्षमै देहावसान भएका उनको जीवनका बहुआयामिक पक्षलाई उजागर गर्न यो लघुकृति सक्षम देखिएको छ, जसमा उनले राजनीति, समाज, साहित्य, संस्कृति क्षेत्रमा निर्वाह गरेका भूमिकाहरूको सर्सर्ती बयान गरिएको छ ।
कोइरालाको प्रतिभाको प्रारम्भिक प्रस्फुटन साहित्य–लेखनबाट भयो । दस वर्षकै उमेरदेखि कलम चलाउन थालेका उनले आफू बाँचिरहेको समाज र परिवेशका सामाजिक एवं सांस्कृतिक पक्षहरूलाई लेखन–धरालतमा उतारे । शैक्षिक जागरण र चेतनाका अगुवा बनाए, आफूलाई । जसको प्रमाणको रूपमा आज पनि उनले स्थापना गरेका दर्जनौं विद्यालयहरू रहेका छन् । साथै, समाजको एक सचेत व्यक्ति भएको हैसियतलाई सदुपयोग गर्दै उनले जहानियाँ राणातन्त्र विरुद्धको आन्दोलनमा आफूलाई क्रियाशील तुल्याए । राणाकालको आखिरी वर्षहरूमा राजनीति अँगालेका उनले प्रथम संसदीय निर्वाचनमा जनतासामु आफ्नो र आफूसम्बद्ध राजनीतिक दलको परीक्षण पनि गर्न पाए । तर, २०१७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस छिन्नभिन्न अवस्थामा पुग्यो । त्यसपछिका वर्षहरूमा कोइरालाले राजनीतिक सक्रियतालाई न्यून गर्दै लगे र प्राज्ञिक कर्मतिर आफ्नो तन, मन दिन थाले । सामाजिक कार्यहरूतिर पनि अधिक संलग्नता बढाए ।
२०३७ सालमा गुठी संस्थानमा आबद्ध भएपछि भने उनको समय लियो– सांस्कृतिक क्षेत्रले । विभिन्न मठ, मन्दिर र सत्तलहरूको अध्ययन र लेखनमा जुटे उनी । फलस्वरूप, उनका प्रशस्तै सांस्कृतिक आलेख र कृतिहरू सार्वजनिकसमेत भए । कविता, कथा, व्यंग्य, निबन्ध त उनले पहिलादेखि नै लेखेका थिए र त्यो उपक्रम बाँचुन्जेल रह््यो ।
कोइरालाको संक्षिप्त परिचयवृत्तमा उनको जीवनका सबैजसो पाटाहरू अंकित छन् । पाँच खण्डमा विभक्त उक्त कृतिमा उनको जीवनीगत आयाम, व्यक्ति, कृतित्वगत आयाम, मूल्यांकन र उपसंहारसमेत समेटिएका छन् । सो कृतिका लेखक भावकेशर बराल कोइरालाको मूल्यांकन गर्दै लेख्छन्, ‘उनले नेपाली वाङ्मयलाई जे दिए त्यो अतुलनीय छ । समाजमा व्याप्त रुढि तथा अन्धपरम्पराको अन्त्यका लागि सामाजिक सचेतनामा उनले खेलेको भूमिका प्रशंसनीय छ । तीन दर्जनजति विद्यालय खोलेर विद्यालयका भवन निर्माण तथा नियमित पठनपाठनमा उनले गरेको कार्य स्तुत्य छ । राजनीतिका क्षेत्रमा आफ्नो आस्थालाई दृढतापूर्वक स्थापित गरेर विचारनिष्ठ र सिद्धान्तनिष्ट भई अनुकूल प्रतिकूल दुवै अवस्थामा समभाव राख्न र मार्गप्रशस्त गर्न सक्ने उनको त्याग अनुकरणीय छ ।’
कृति ः कुलचन्द्र कोइराला ः व्यक्ति एक आयाम अनेक
विधा ः जीवनी
लेखक ः भावकेशर बराल
प्रकाशक ः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ ः ७७
मूल्य ः १५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- कुइनेटाहरूमा मुकेशलाई भेट्दा
Leave a Reply