विविधताले भरिपूर्ण
नेपाली बाल–साहित्य लेखनमा स्थापित रञ्जुश्री पराजुलीले पछिल्लो समय लघुकथामा समेत लेखन–शिल्प पोख्न चाहेकी छिन् । बालबालिकाहरूको मनोविज्ञानलाई छामेर बाल–साहित्य लेख्न पोख्त उनले अब भने सबै उमेर–समूहका लागि सुपाच्य लघुकथा विधामा समेत अग्रसरता देखाएकी छन् । ‘घाइते मनिप्लान्ट’ उनका दर्जनौं लघुकथाहरू समेटिएको कृति हो ।
वैदेशिक रोजगारमा जानेहरूले अनेक मीठा सपना बुनेका हुन्छन् । घरखेत बन्धकी राखेर विदेश जानेहरूले झेल्नुपरेका समस्यालाई उनले ‘आवेग’जस्ता लघुकथामार्फत उजागर गर्न चाहेकी छन् । रोजगारका निम्ति विदेश गएका श्रमिकहरूबीच नै आपसी विवाद र कुटपिट हुँदा त्यसले निम्त्याउने समस्याको मार्मिक पक्ष यो कथामा बुनिएको छ । ‘रिक्सा चालक’ले भने सहरमा रिक्सा चलाएर गुजारा गर्दै आएका श्रमिकले देखेको सपना कसरी भताभुंग भयो भन्ने पक्षलाई देखाउन चाहेको छ । राजनीतिक वा अन्य एजेन्डाहरू उठाएर बन्द गर्ने समूहहरूको हामीकहाँ कमी छैन । तर, बन्दले दैनिक श्रम गरेर जीवनयापन गर्ने वर्गहरू कति पीडित बन्छन्, उनीहरूको सपना कसरी चकनाचुर हुन पुग्छ, यही पक्षलाई उठाउन खोजिएको छ ।
‘छोटो लुगा’ भने गरिबीको जाँतोमुनि पिसिएकी दुई युवतीको पीडा पस्किन सक्षम देखिएको छ । गरिबीका कारण सहरमा श्रम गर्न आएका दुई युवतीले दिउँसो मकै पोल्ने र रात्रिकालीन समयमा भने छोटा लुगा लगाएर ठमेलमा आफ्नो यौवन बेच्न बाध्य भएकाको मार्मिक तस्बिर प्रदर्शन गरिएको छ । ‘ब्वाइफ्रेन्ड’ कथामा भने सहरको धनी परिवारकी छोरी पट्याउन उद्यत एउटा पात्रले आफूलाई आफ्नो हैसियतभन्दा अर्कै रूपमा पेस गरेको यथार्थलाई पस्किन चाहेको छ । सम्पन्न र विपन्न वर्गबीच हुने प्रेमले उत्पन्न असहज परिस्थिति देखाउन खोजिएको छ ।
‘राजनीतिक अम्मल’मा भने घरपरिवारको रथ हाँक्न पति र पत्नी दुवैबीच सहमति, संवाद र योजना आवश्यक हुन्छन्, बिनासंवाद आ–आफ्नै हिसाबले हिँड्ने हो भने त्यसले गहन पारिवारिक र आर्थिक समस्या निम्त्याउन सक्छ भन्ने देखाउन चाहेको छ, यो कथाले । ‘मिल्ने साथी’मा भने वृद्धाश्रम बसिरहेका दुई वृद्धवृद्धाले जीवनको उत्तराद्र्ध अवस्थामा विवाह बन्धनमा बाँधिनुपरेको यथार्थ छ । वृद्धाश्रममा सँगै बस्दा, घाम ताप्दा, कुराकानी गर्दा अरूले नकारात्मक दृष्टिले हेर्न थालेपछि बाध्य भएर विवाह गर्नुपरेको पीडालाई कथाको विषय बनाइएको छ । ‘स्वादे जिब्रो’ कथामा भने बिमारीका कारण परहेजमा बसेका एक व्यक्तिले विवाह भोजमा आफूलाई मन परेका खानेकुरा अघाउँजी खाएको प्रसंग छ । विभिन्न रोगले च्यापेका कारण छोराबुहारीले घरमा मीठामीठा खानेकुरा खान नदिएका एक मानिसमा खानपिनप्रतिको मोहलाई देखाउन खोजिएको छ ।
पराजुलीको ‘घाइते मनिप्लान्ट’मा ८८ वटा लघुकथा रहेका छन् । प्रत्येक लघुकथा विषयगत विविधता र मौलिकताका कारण जम्न पुगेका छन् । उनका लघुकथाहरू पढ्दा समाजदेखि परिवारभित्रका सामान्यदेखि विशिष्ट विषयलाई समेत लेखनमा उतार्न सक्ने खुबी उनमा रहेको देखिन्छ ।
कृति ः घाइते मनिप्लान्ट
विधा ः लघुकथा
लघुकथाकार ः रञ्जुश्री पराजुली
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः १८६
मूल्य ः २५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply