बाल मनोविज्ञानका बान्कीहरू
नेपाली बाल साहित्यको फस्टाउँदो विकाससँगै बालबालिकाका निम्ति पर्याप्त अध्ययन सामग्री पाइन थालेका छन् । केही दशकपूर्व एकाध बाल साहित्य मात्र निस्किने क्रम÷उपक्रमलाई तोड्दै अचेल भने बाल साहित्यका पुस्तकहरू बग्रेल्ती निस्किन थालेका छन् र बालबालिकाले पनि चयन गरेर नै बाल साहित्यका पुस्तकहरू पढ्ने अवसर पाएका छन् । त्यसो त बाल साहित्य लेखनमा क्रियाशील अधिकांश स्रष्टाहरूले कथा लेखनमा नै जोड दिँदै आएका छन् । साहित्यका अरू विधाभन्दा कथा प्रभावकारी विधा भएको हुँदा पनि र बालबालिकाहरूले कथा साहित्य अधिक रूपमा मन पराउने गरेका हुँदा कथा लेखनमा स्रष्टाहरूको चासो र तत्परता देखिने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
बालकथा लेखनमा पछिल्लो समय थपिएका स्रष्टा हुन्, श्रमिक बराल । उनको बालकथाकृति ‘सानीको बर्थडे’ बाल साहित्यको भण्डारमा थपिन आइपुगेको छ ।
‘काग र रोटी’मा मानव र पशुपन्छीबीचको सदियांै लामो सम्बन्ध पुनः उजागर गरिएको छ । पूजाका लागि ठीक पारिएको रोटीको टुक्रा एक्कासि कागले बोकेरे उड्छ । कथाका पात्र महेश कागले रोटी लगेपछि रुन थाल्छ र आफूलाई कागले लगेको त्यही रोटी चाहिन्छ भन्दै जिद्दी गर्न थाल्छन् । उनको जिद्दीदेखि आजित भएर बाबुचाहिँले उसलाई रोटी खोज्न हिँड्न अ¥हाउँछ । जब बाबु–छोरा कागको गुँडमा पुग्छन्, कागले आफ्ना कलिला बच्चाहरूलाई रोटी खुवाइरहेका देख्छन् । कागले आफ्ना बच्चाहरूलाई रोटी खुवाइरहेको देखेर महेशमा कागको मातृवात्सल्यप्रति सकारात्मक भाव उत्पन्न हुन्छ र कागलाई हरेक दिन रोटी दिन आफ्नी आमा र बुवासँग आग्रह गर्छ । यो कथाले एउटा बालमा पलाएको पशुपन्छीप्रतिको प्रेमभावलाई स ीटक र मार्मिक ढंगले उतार्न चाहेको छ ।
‘मुना र मने’ एउटी बालिकाले पशुप्रति दर्साएको प्रेमलाई केन्द्रमा राखेर लेखिएको कथा हो । घरमा पालिएको बाख्राले पाठी जन्माएपछि मुनाले त्यो पाठीलाई असाध्यै माया गर्छे । आफू नजिक नै सुताएर स्याहार गर्छे । तर, एक दिन भने मनेलाई स्यालले लैजान्छ र स्यालको पन्जाबाट मनेलाई छुटाउन एउटा कुकुर सफल हुन्छ । बाख्राको पाठी घाइते भए पनि बिस्तारै तंग्रिँदै जान्छ र त्यो पाठी ठूलो नहोउन्जेल मुनाले सदैव हेरचाह गर्छे । पशुप्रेमको गहिरो भाव झल्काउन यो कथा सक्षम देखिएको छ ।
‘सृष्टि र मकै’ अन्न बालीप्रति मानिसले दर्साउने व्यवहार–सम्बन्धित कथा हो । अन्न मानिसलगायत समग्र प्राणीको जीवनलाई बँचाउने प्रमुख आधार हो । अन्न नहुने हो भने मानिस भोकभोकै मर्छन् । तर अन्न रोपेपछि त्यो पाक्ने बेलासम्म मानिसले धैर्य गर्नुपर्छ, कलिलैमा अन्नबालीलाई भाँच्ने वा नास्ने काम गर्नुहुँदैन । अन्न बाली पुरै पाकिसकेपछि मात्र त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने कुरा यो कथाले सिकाउन चाहेको छ । खासगरी, मानिसको जीवनयापनको प्रमुख आधार मानिने अन्नलाई नपाक्दै टिप्नुहुँदैन भन्ने सन्देश प्रवाह गर्न कथा अग्रसर देखिएको छ ।
अधिकांश बालबालिका जंक फुडप्रति आकर्षित देखिन्छन् । स्वादिला लाग्ने जंक फुड खान बालबालिका लालायित भए पनि त्यस्ता जंकफुड स्वास्थ्यका लागि हानिकारक हुन्छन् भन्ने ज्ञानबाट उनीहरू टाढै छन् । जंकफुडले मानसिक र शारीरिक वृद्धिमा समेत असर पु¥याउने थाहा हुँदाहुँदै त्यसको प्रयोग बढ्दो छ । ‘मैयाँ र जंकफुड’ कथाले जंकफुड खान लालायित एउटी बालिकाको मनोदशा उतार्न खोजेको छ । तर, कथामा जंकफुडप्रति मोहित बालबालिकालाई त्यस्ता तयारी खानेकुराबाट टाढै राख्न अभिभावकको ठूलो भूमिका रहन्छ भन्ने कुरा देखाउन खोजिएको छ । अभिभावक र शिक्षकहरूले भूमिका निर्वाह गर्ने हो भने घर र स्कुलमा जंकफुड खानबाट बालबालिका टाढै रहन्छन् भन्ने सन्देश प्रसारित गर्न यो कथाले चाहेको छ ।
हरेक वर्ष मंसिर महिनामा ३० गते हुँदैन । यो प्राविधिक पक्ष हो । तर, सानीको जन्मदिन भने मंसिरको ३० गते भएको थियो । सानीले जुन वर्ष आफ्नो जन्मदिन मनाउने योजना बुन्छिन्, त्यो वर्षको मंसिरमा २९ गते मात्रै अंकित भएको पाउँछिन् । आफू जन्मिएको दिन क्यालेन्डरबाट गायब भएको हुँदा सानी चिन्तित हुन्छिन् र आफ्ना अभिभावकसामु गुनासो पोख्छिन् । ‘सानीको बर्थडे’ कथामा प्राविधिक कारणले आफ्नो जन्मदिन मनाउन नपाउँदाको एउटी बालिकाको मनोविज्ञानलाई केलाउन खोजिएको छ ।
मूलतः बरालका बालकथाहरू सामाजिक र पारिवारिक परिवेशभित्र बुनिएका छन् । बालबालिकाको अबोधपन, निश्छलता र मनोदशाका बान्कीहरू उनको बाल लेखनमा अनुबन्धित भएका पाइन्छन् ।
कृति ः सानीको बर्थडे
विधा ः बालकथा
कथाकार ः श्रमिक बराल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः २८
मूल्य ः १००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply