इमानको बयान
बीसको अन्तिम दशकतिर काभ्रेपलान्चोक जिल्लाका एक युवाले इन्जिनियर बन्ने सपना साँचे । र, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फाराम पनि भरे । उनको नाम निस्कियो । तर, भर्ना पाए अर्कै विद्यार्थीले । इन्जिनियर बनेर घर, सडक, पुलको नक्सा कोर्ने उनको सपनामा पूर्णविराम लगाउन खलनायकको भूमिका खेल्ने व्यक्ति थिए, तत्कालीन मन्त्री नवराज सुवेदी । भर्ना हुनबाट आफू वञ्चित भएपछि उनले मन्त्री सुवेदीलाई भेटे र आक्रोश पनि पोखे । मन्त्रीले ‘अर्को वर्ष निश्चित भर्ना हुन पाउँछौ’ भनी आश्वासन दिए । त्यसपछि निडर स्वभावका ती युवाले घरको नक्सा कोर्ने होइन, देश र समाजको नक्सा कोर्ने बाटोमा आफूलाई हिँडाउन चाहे । अर्थात् राजनीतिको गोरेटोमा आफ्ना संघर्षशील पाइलाहरू बढाउन रुचाए ।
ती युवा थिए, केशव बडाल । अहिले नेकपाको नेतृत्व तहमा रहको र नेपालको सहकारी आन्दोलनका खम्बाका रूपमा चिनिने बडालको जीवनका महŒवपूर्ण उतारचढावलाई ‘इमानको इन्द्रेनी’मा समेटिएको छ । जुन पुस्तक पढेपछि एकपटक मन्त्री भइसकेका र नेपालको कम्युनिस्ट आन्दोलनका अवयवहरूलाई राम्ररी बुझेका नेता बडालको जीवन चरित्र र संघर्षशील छविबारे पर्याप्त ज्ञान बटुल्न सकिन्छ ।
राजनीतिज्ञ बडालले जुन समय कम्युनिस्ट राजनीतिलाई अँगाले, त्यो असाध्यै कठिन र दुरुह समय थियो । एकातिर तत्कालीन पञ्चायती व्यवस्थाका पालकपोषकहरूले कम्युनिस्ट आन्दोलनमा लागेकाहरूलाई दमन गर्ने, हत्या गर्ने नीति लिएको थियो भने अर्कोतिर कम्युनिस्ट आन्दोलन छिन्नभिन्न अवस्थामा थियो । हरेक नेताहरू आ–आफ्नो चुलाचौका बनाएर सिद्धान्त र विचारका दाल–भात छिड्काइरहेका थिए । तर, रूपलाल विश्वकर्माको पार्टी भनेर चिनिने ‘सर्वहारा क्रान्तिकारी संगठन’मा आबद्ध भएर उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने निधो गरे । उनले के बुझे भने छिन्नभिन्न अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनले क्रान्तिको नाममा एउटा माखो पनि मार्न सक्दैन । यो यथार्थलाई बुझेपछि बनारसलगायत भारतका विभिन्न थलोमा भूमिगत जीवन बिताइरहेका कम्युनिस्ट नेताहरूलाई भेटेर एकीकृत कम्युनिस्ट आन्दोलनको पक्षमा गोलबन्द गर्ने अभियानमा उनी सरिक भए । त्यही क्रममा भेटे– पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, मोदनाथ प्रश्रितलाई । ती नेताहरूलाई भेट्दा उनीहरूका विचार र आनीबानीलाई गहिराइसम्मै बुझ्ने मौका पनि पाए । भेट्नुअघि नामसँग मात्र परिचित नेताहरूलाई प्रत्यक्ष भेटेपछि उनको राजनीतिक क्षितिज झनै फराकिलो बन्न पुग्यो ।
बनारसमा मनमोहन अधिकारीलाई भेट्दाका क्षणलाई यसरी व्यक्त गरिएको छ, ‘अन्तिममा भेट भयो मनमोहन अधिकारीसँग । पुष्पलालपछि उहाँसँगको भेट सन्तोषजनक रह्यो । देख्नेबित्तिकै आदर गर्न लायक, सम्मान गर्न लायक नेताजस्तो लाग्यो । अलिक छिटो बोल्ने भए पनि कुरा राम्ररी राख्नुहुँदोरहेछ ।’
कम्युनिस्ट राजनीति अँगालेदेखि नै विभिन्न समूहमा बाँडिएका कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्छ पक्षमा उभिँदै आएका बडालले चालीसको दशकको प्रारम्भमै नेकपा (माले) सँग एकता गर्ने विषयलाई किनारा लगाए । त्यो एकता भेलामा मालेबाट जीवराज आश्रित र माधवकुमार नेपाल र उनको पार्टीबाट उनी डीबी सिंह र केबी पुन सहभागी थिए । तत्कालीन समयमा पार्टीभित्र ‘विज्ञान’ उपनामले चिनिने बडाल मालेको केन्द्रीय तहको नेता भएपछि जिम्मेवारी पनि बढ्दै गयो । जिम्मेवारीसँगै उनमा राजनीतिक परिपक्वता पनि चुलिँदै गयो । २०४६ सालको जनआन्दोलनको बेला पाटनका जनताले पाटनलाई ‘मुक्ति क्षेत्र’ घोषणा गर्दा त्यसको नेतृत्व बडालले नै गरेका थिए । तर, स्थानीय बासिन्दाले कब्जामा रहेका प्रहरीलाई जलाउन खोज्दा उनले एक जिम्मेवार नेताका रूपमा आफूलाई उभ्याए र जनतासामु भने पनि, ‘युद्धबन्दीलाई मार्नु भनेको कायरता हो, अपराध हो । यो राजनीतिक आन्दोलन हो । हामीले ध्वंस रोजेका हैनौं । त्यसैले, विनम्र अनुरोध छ, यदि कसैले त्यस्तो सोचेको छ भने मलाई आगो लगाउनुहोला अनि त्यसैको खरानीमाथि टेकेर मात्र त्यता जानुहोला ।’
बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सम्पन्न २०४८ सालको निर्वाचनमा काभ्रे–३ बाट निर्वाचित बडालले २०५१ को मध्यावधि निर्वाचनमा पनि सफलता पाए । तर, २०५६ सालमा भने उनी पराजित भए । पुस्तकमा संसदीय यात्राका क्रममा बडालले संसद्मा कमैयाहरूलाई मुक्ति दिलाउन खेलेका भूमिका, उच्चस्तरीय भूमिसुधार (बडाल) आयोगदेखि तत्कालीन समयमा महत्वपूर्ण घटनाक्रमहरू समेटिएका छन् । तर, पुस्तकमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले दिएको राजीनामा पत्रको सम्पूर्ण अंश राख्ने कष्टचाहिँ नगरेको भए पुस्तक अझ राम्रो हुने देखिन्थ्यो ।
नेता बडालको संघर्षशील राजनीतिक छविमा सन्देह गर्ने ठाउँ छैन । तर, उनको संघर्षशील छविलाई उजिल्याउने क्रममा कतैकतै अतिशयोक्ति झल्किने वाक्यहरू पनि परेका छन् । लेखक अनिल पौडेलले अतिशयोक्ति झल्किने वाक्यहरूलाई समावेश नगर्दा हुने ठहर गरेका भए हुन्थ्यो । यति हुँदाहुँदै पनि नेता बडालको जीवनको सांगोपांगो अध्ययन गर्न चाहनेहरूका निम्ति यो किताब पर्याप्त छ ।
कृति ः इमानको इन्द्रेनी
विधा ः जीवनी
लेखक ः अनिल पौडेल
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः ३२४
मूल्य ः ४९०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply