अहिले पनि नभए कहिले हुन्छ त विकास ?
केपी शर्मा ओली
हामीले लामो बलिदानी र संघर्षपूर्ण प्रयासपछि संघर्षलाई सफलतामा पु¥याएका छौं । संघीय लोकतान्त्रिक प्रणाली अर्थात् हामी आफैंले छानेको प्रणाली ल्याएका छौं । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन्् । जनताले छानेको जनताले बनाएको संविधान आएको छ । जनताले रोजेको प्रणाली स्थापना भएको छ । जनताले छानेको सरकारले काम गरेको छ । र, जनताले अस्थिरता नहोस् भनेर बहुमतको सरकार दिएको छ ।
अब यस्तो हुँदा पनि विकास भएन भने कस्तो हुँदा चाहिँ विकास हुन्छ त ? विकास हुन चाहिने सबै कुरा उपलब्ध भइसकेपछि पनि विकास भएन भने कहिले विकास हुन्छ ? विकास हुन्न भने अब राम्ररी सञ्चालन हुन नसक्ने, व्यवस्थापनमा कमी राख्ने र भ्रष्टाचार नियन्त्रण गर्न र निर्मुल गर्न नसक्ने कुराले मात्रै विकासलाई रोक्ने हो । त्यसकारण, अब हाम्रो ध्यान सुशासन र विकासमा गएको छ । सुशासन र विकासका लागि अर्थात् दुईवटै शब्द र उद्देश्य पूरा गर्न भ्रष्टाचार नियन्त्रण र निर्मूलीकरण आवश्यक छ ।
भ्रष्टहरूको पनि शत्रु हो भ्रष्टाचार । भ्रष्टलाई पनि पैसा कहाँ लुकाउने भन्ने छटपटी, अख्तियारले थाहा पाउला कि भन्ने छटपटी, कतै फेला पर्ला कि भन्ने छटपटी, कसैले कुरा खोल्दिने हो कि भन्ने छटपटी, राख्ने ठाउँ नभएर छटपटी । ऊ अनेक छटपटीमा पर्छ । त्यसमा पनि उसलाई सुबिस्ता हुँदैन । भ्रष्टाचारको सानो अंशका कारण बढी अंश जहाँ लुकायो त्यहीँ समाप्त हुन्छ । भ्रष्टाचारको प्रतिफल अरूले निकाल्छन् । तर, अपराधको भागीदार ऊ आफैं हुन्छ । प्रायः भ्रष्टाचार त्यस्तै हुन्छ । अझ लोकतान्त्रिक प्रणालीमा भ्रष्टाचार नियन्त्रण गर्ने तयारी र संकल्पका साथ हामी अघि बढेका छौं । भ्रष्टाचार नियन्त्रण गर्न सरकार दृढ संकल्पित छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग दृढ संकल्पित छ । अन्य निकायहरू दृढ संकल्पित छन् । त्यसैले, अब भ्रष्टाचार मुलुकले नै लुकाउन सम्भव छैन । त्यसकारण, यो भ्रष्टहरूका लागि पनि शत्रु नै हो । भ्रष्टहरूलाई घरमा श्रीमतीले पनि घृणा गर्छन् । छोराछोरीले पनि घृणा गर्छन् । उनीहरूले समेत उपयोग पनि गर्छन् र घृणा पनि गर्छन् । उनीहरूलाई पनि यो त भ्रष्ट हो भन्ने थाहा हुन्छ । त्यसकारण पनि भ्रष्टाचार सबैको शत्रु हो । त्यसकारण, हामी सबैले यो शत्रुलाई निमिट्यान्न पार्नेगरी लाग्नु जरुरी छ ।
पहिलो कुरा त कारबाही गरेर, दण्डविधि अपनाएर, नियन्त्रणको विधि अपनाएर यसलाई नियन्त्रण गर्नुपर्छ । अझ म त आग्रह गर्न चाहन्छु ऋषिमुनिहरूको, सन्तहरूको, ज्ञानी र ध्यानीहरूको, महात्माहरूको सन्तति हौं हामी । त्यसैले यस्ता सन्तति हामीले भ्रष्टाचार नगरे भ्रष्टाचार हुन्छ कसरी ? हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा ग¥यो भने त भ्रष्टाचार नै हुँदैन ।
यहाँ त भ्रष्टहरूले नै गाउँघरमा झगडा गर्दा केटाकेटीले आरोप–प्रत्यारोप गर्ने गरेका उदाहरण पनि छन् । एउटाले भन्छ, ‘तँ काले ।’ फेरि अर्काले भन्छ– ‘तँ काले ।’ फेरि झन् अर्काले भन्छ– ‘तँ झन् बढी काले ।’
यस्ता उदाहरण पनि छन् । यसले जनतामा झन बढी अलमल हुने गरेको छ । एउटाले अर्कालाई भ्रष्ट भन्ने अर्काले अर्कालाई झन् भ्रष्ट भन्ने भयो भने त्यसले त त्यसै पनि जनतामा अलमल ल्याइहाल्छ नि ? यस्तो परिपाटीले सबै उस्तै हुन् भनेर भ्रष्टाचारले समाजप्रतिको विश्वास वा सामाजिक विश्वासलाई नै कमजोर बनाइदिन्छ । त्यसकारण पनि हामी यो प्रवृत्तिबाट हामी माथि उठ्नुपर्छ ।
हाम्रो समाज एउटा आदर्श समाज हो । एउटा सदाचारी समाज हो । नैतिकतामा, इमानमा, जमानमा, बाचबन्धनमा विश्वास गर्ने समाज हो । यो सदाचारयुक्त समाजलाई केहीले प्रदूषित पार्ने प्रयास गरेका छन् । तर, हामीले प्रदुषित हुन दिनुहुँदैन । हामी सबैले प्रदूषित हुन नदिने प्रयास गरौं । हामी सबै स्वच्छ समाज निर्माण गर्ने र नेपालको पहिचान स्थापित गर्ने गरी लागौं । हामी संयुक्त राष्ट्र संघको एउटा पक्ष त छँदै छौं ।
नेपालको पहिचान भ्रष्टाचारको सूचीमा कतिऔं स्थानमा छ भने लज्जाजनक स्थितिमा नहोस् भन्ने हामी सबैले हेक्का राख्नुपर्छ । कतिपयका आग्रहयुक्त, पूर्वाग्रहयुक्त, निराधार अभिव्यक्ति पनि हामीले पाउँछौं । हामी त्यस्ता कुराबाट कतै पनि विचलित र प्रभावित हुनु जरुरी छैन । हामीले नेपाली समाज स्वच्छ र सदाचारी बनाउन लाग्नुपर्छ । त्यसका लागि यहाँको सरकार, यहाँका जनप्रतिनिधिहरू, यहाँका राष्ट्रसेवकहरू, यहाँका राज्यका सम्पूर्ण निकाएका अंगहरू, राज्य र सरकारका सम्पूर्ण अंगहरू, राज्य र सरकारका सम्पूर्ण नियकायहरू पारदर्शिता, स्वच्छता र पारदर्शितामा विश्वास गर्छन् । त्यस्तो आचरण प्रस्तुत गर्दछन् । सम्पूर्ण पारदर्शिता र सम्पूर्ण स्वच्छताका लागि नेपाल सक्षम छ भन्ने विश्वास विश्वलाई दिन सक्नुपर्छ ।
वास्तवमा जनप्रतिनिधि वा सेवा प्रवाही वा संस्था जसलाई राष्ट्रले जनताको सेवा प्रवाह गर्ने अधिकार दिएको छ । उनीहरूले त्यो अधिकारको प्रयोग गरिरहँदा त्यसको दुरुपयोग नहोस्, भ्रष्ट क्रियाकलाप नगरोस् । किनभने, यसैमार्फन नै सरकारलाई हेर्ने हो । समाजलाई बुझ्ने हो । म फेरि पनि चाहन्छु कि हामी सबै योभन्दा माथि उठ्न सक्नुपर्छ । हामी योभन्दा माथि नउठ्ने हो भने वा कोही पनि योभन्दा माथि नउठ्ने हो भने निष्पक्ष र कानुनसम्मत ढंगले दृढताका साथ कारबाही गर्नेुपर्ने हुन्छ । बहुतै राम्रा भनिएका युगमा पनि नराम्रा काम गर्ने, राम्रा प्रयास र शिक्षा–दीक्षा पनि नमान्ने गरेको पनि देखिन्छ ।
भ्रष्टाचार निर्मूलीकरणका लागि अख्तियार सक्षम चाहिन्छ । अख्तियार निष्पक्ष र सबल भयो भने मात्र भ्रष्टाचार निर्मूलीकरण गर्न सकिन्छ । हामीले यो लोकतान्त्रिक प्रणालीलाई उत्कृष्ण हो भन्ने प्रमाणित गर्न भ्रष्टाचार अन्त्य गर्नुको अर्को विकल्प नै छैन । जनता सार्वभौम हुनेभन्दा माथि अरू केही हुन सक्दैन । जनता आफैं–आफैंले होइन, जनप्रतिनिधिमार्फत नै शासन गर्नुपर्छ । प्रतिनिधिमार्फत नै संविधान बनाउनुपर्छ, त्योभन्दा माथि केही हुनै सक्दैन । प्रतिनिधिमार्फत नै कानुन बनाउनुपर्छ, त्योभन्दा बढी केही हुन सक्दैन । त्यही हो विधि, त्यो विधिले वाञ्छित उपलब्धि वा सफलता प्राप्त गर्न सकेन भने त्यसले जनताका समस्या समाधान गर्न सकेन भने त्यसले समृद्धि हासिल गर्न सकेन भने हाम्रो प्रयासहरू ती आर्थिक हुन्, सामाजिक हुन् या अरू हुन् गाग्रिमा प्वाल पारेजस्तो मात्रै हुन्छ । थपेर पनि भरिँदैन, एकछिन भरियो भने पनि त्यो प्वालबाट छिरेर जान्छ । अवस्था त्यस्तै हुन्छ । त्यसकारण जनप्रणालीलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्छ, यसको विकल्प छैन ।
(अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिक सभामा गरेको सम्बोधनको सम्पादित अंश)
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply