उत्साहका साथ सकियोे लगानी सम्मेलन, लक्ष्य भेट्न सकेन
काठमाडौं । मुलुकको आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउन ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भिœयाउने लक्ष्यका साथ सरकारले आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन’ आइतबार सम्पन्न भएको छ । सम्मेलन १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) सम्झौतासमेत गर्दै सकिएको हो । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कुल ७७ परियोजनालाई सोकेसमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै, १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ ।
सम्मेलनमा ४० देशका ७ सय ३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३ सय विदेशी कम्पनी, ६ सय नेपाली सहभागी भएका थिए भने सय स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलन सम्पन्न भएको छ । सम्मलेनमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो मात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैंसे गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए ।
कुन कम्पनीले के निर्माण गर्ने ?
सम्मेलनमा नेपालको चौधरी ग्रुप र भारतको सर्राफ ग्रुपबीच लजिस्टिक पार्क बनाउन सम्झौता भएको छ भने ६ सय मेगावाट सोलार प्लान्ट स्थापन गर्न चौधरी ग्रुप र क्यानडाको स्काई पावरबीच समझदारी भएको छ । त्यस्तै ५–जी नेटवर्क विस्तारका लागि चौधरी ग्रुप र टर्कीको लाइफ सेलबीच सम्झौता भएको छ । २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका निर्माणका लागि कोरियाली कम्पनी कोसेव पावर कम्पनी र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले ६५० मिलियन डलर लगानी सहमति गरेका छन् ।
९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इन्डियाले ६ हजार ५ सय ६० करोड, एभरेस्ट बैंकले ८ सय १२ दशमलव ६१ करोड र नबिल बैंकले ४ सय ८७ दशमलव ५८ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यससँगै भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका निम्ति वित्तीय स्रोत जुटेको छ । यसै गरी १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि नेपालको हाइड्रो सोलुसन र चाइना न्युकिलियर पावर कम्पनीबीच समझदारी भएको छ । यस आयोजनामा करिब ४० अर्ब रुपैयाँ वँैदेशिक लगानी हुनेछ । बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका निम्ति सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ । बनेपामा बुटिक होटल निर्माण गर्नका निम्ति सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी भएको छ । यसमा चीन र ताइवानबाट ६ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा पूर्वाधार विकासमा लगानी गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेसनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी पनि सम्झदारी भएको छ । भारतको मुतुथ फाइनान्सले नेपालको युनाइटेड फाइनान्स ३९ दशमलव ९० करोड रुपैयाँ लगानी गर्नेेछ । अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीबीच सोलार (१८ मेगावाट), जलविद्युत् (९८ मेगावाट) र वायु ऊर्जा (१० मेगावाट) उत्पादन गर्नका निम्ति सम्झौता भएको छ ।
नेपालको लगानी बोर्ड र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच आयोजनाहरूको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ भने वायर हाउस निर्माणका लागि जोइन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गु्रपको सम्झौता भएको छ। म्यानमार लाइसेन्स कन्टयाक्ट एसोसियसन र नेपाल निर्माण व्यवसायी महासंघ बीच नेपालको भौतिक संरचना निर्माणका लागि सम्झौता भएको छ ।
यसैगरी, सम्मेलनकै क्रममा विश्व बैकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । आईएफसीका उपाध्यक्ष पिटर लेन्क्सले आगामी चार वर्षमा उक्त रकम नेपालमा लगानी गर्ने घोषणा गरेका हुन् ।
लगानीका सम्झौता, समझदारी र घोषणा
१. चौधरी ग्रुप र सराफ ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफद्वारा सम्झौतामा हस्ताक्षर ।
२. चौधरी ग्रुप र स्काई पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता । निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरद्वारा सम्झौतामा हस्ताक्षर ।
३. सीजी लाइफसेल र तुर्कसेलबीच फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता । चौधरी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत मुरातद्वारा हस्ताक्षर ।
४.१ सय ६४ मेगावाटको कालिगण्डकी जर्ज जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुुुसन ग्रुप, नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता । सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तर्रा्िष्ट्रय व्यवसाय प्रमुख जु जेङसेङको हस्ताक्षर ।
५. लगानी बोर्ड नेपाल (आईबीएन), इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) र विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणबीच पीपीपी मोडलमा सिमरा सेज विकास गर्ने सम्झौता । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर ।
६. सिन्सियर कन्सल्टिङ लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट विकास गर्ने सम्झौता । रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाद्वारा हस्ताक्षर ।
७. गैरआवासीय नेपाली संघ (एनआरएन) र उद्योग विभागबीच नेपालमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने समझदारी । एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश सिंहद्वारा हस्ताक्षर ।
८. भारतको नेसनल कल्चरल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयरहाउस कम्पनी लिमिटेडबीच ग्रेन वेयर हाउसमा संयुक्त लगानी गर्ने सम्झौता । सम्झौतामा नेपाल वेयरहाउसका प्रबन्ध निर्देशक आनन्द बगारिया र नेसनल कल्चरलका कार्यकारी अधिकृत अनुपम कौसिकले हस्ताक्षर गरेका छन् ।
९. नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन (एमएलसिए) बीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । महासंघका अध्यक्ष रवि सिंह र एमएलसीएका अध्यक्ष यु किवाद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१०. कोरियन इन्भेस्टर (कोसेप) ले २ सय १६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा ६५ करोड अमेरिकी डलर लगानी गर्ने । कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक विन किमद्वारा लगानीको घोषणा ।
११. भारतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने । मुथुटको नेपाल कन्ट्री हेड अनिल कार्कीद्वारा लगानीको घोषणा ।
१२. लगानी बोर्ड नेपाल (आईबीएन) र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी सहकार्य गर्ने समझदारी । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१३. अपि पावर कम्पनी लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, यूकेबीच सोलार पावर (१८ मेगावाट), जलविद्युत् परियोजना (९८ मेगावाट) र विन्ड प्रोजेक्ट (१० मेगावाट) विकासमा लागनी गर्ने समझदारी । अपी पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रूपका अधयक्ष राजन कँडेलद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१४. डोल्पा हिमालयन फाउन्डेसनले जलविद्युत्मा ८ करोड डलर लगानी गर्ने । प्रबन्ध निर्देशक सन्दीप साहद्वारा लगानीको घोषणा ।
१५. प्रदेश दुई र सीजी इन्फ्रास्ट्रक्चर प्रालीबीच प्रदेश २ मा सोलार प्लान्ट स्थापना गर्ने समझदारी । निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१६. कुल १ खर्ब १२ अर्ब २८ करोड ८५ लाख रुपैयाँ लगातको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजना विकास गर्ने कम्पनी एसजिभिएनबीच हस्ताक्षर । अरुण ३ मा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्ट बैंक लिमिटेड नेपालले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंक लिमिटेड नेपालले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने । प्रतिबद्धतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा, स्टेट बैंक अफ इन्डियाका सहायक महाप्रबन्धक पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका उपप्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको हस्ताक्षर ।
सम्मेलनको सन्देश
लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानुनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रंगमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आतिथ्यले पनि उनीहरूलाई आकर्षित गरेको थियो ।
सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ ।
यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागत रूपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एसियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ ।
नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदीयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply