विवादित भए पनि आफ्नै प्यारा
काठमाडौं । जतिसुकै विवादित र बदनाम भए पनि आफ्नाको संरक्षणका खातिर मान्छेले कतिसम्म गर्छन् भन्ने उदाहरण बालुवाटारतिर नजर सोझ्याउँदा प्रस्ट हुन्छ । आफूले अहिले भोगेको जिन्दगी नाफाको भन्दै देशको खातिर मात्र काम गर्ने प्रतिबद्धता जनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारमा भने आसेपासे र आफ्नो चाकडी गर्नेहरूलाई अतिरिक्त संरक्षण गर्दै आएका छन् । जसका कारण पनि वर्तमान सरकार आलोचित बन्दै गएको चर्चा प्रधानमन्त्रीकै पार्टी नेकपाभित्र बाक्लै हुँदै आएको छ ।
पहिलोचोटि प्रधानमन्त्री हुँदा बनाएको ‘राजनेता’को छवि दोस्रोपटक प्रधानमन्त्री हुँदा १४ महिना नबित्दै स्खलित हुँदै जानुको पछाडि एउटा मुख्य कारण आफूवरिपरिकालाई गरिएको अतिरिक्त प्रश्रय भएको बताइन्छ । नेकपाका एक स्थायी सदस्य भन्छन्, ‘हाम्रो अध्यक्ष तथा प्रधानमन्त्रीले यस्तोसम्म निर्णय गरिदिनुहुन्छ कि जसको हामीजस्ता निकटकाले पनि प्रतिरक्षा गर्न सक्दैनौं अनि कसरी पार्टी बलियो हुन्छ ? सरकार लोकप्रिय हुन्छ ?’ यति आलोचित हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले आफूलाई आसेपासेबाट टाढा राख्न नसक्नुको कारण भने बुझ्न नसकिएको नेकपाका कार्यकर्ताहरू बताउँछन् । आफ्नै वरिपरिकालाई प्रश्रय दिँदा पनि इमानदारहरूको छनोट गरे त भइहाल्थ्यो नि ? धेरैको प्रश्न छ ।
हुन पनि दुई तिहाइ बहुमतको सरकारको यति बलियो प्रधानमन्त्री भएर साँच्चिकै ‘राजनेता’ हुने अवसर पाएका ओलीका लागि अहिले नातामा अलि टाढाकी साली पर्ने अन्जान शाक्यलाई इजरायलको राजदूत बनाउनुपर्ने के बाध्यता आइलाग्यो होला र ? कूटनीतिबारे कुनै दखल नै नभए कि शाक्यलाई राजदूत सिफारिस गर्दा पार्टीभित्रबाटै पनि त्यसलाई राम्रो मानिएन । तर, प्रधानमन्त्री ओलीले अरूको प्रतिक्रियाको कुनै वास्तासम्म गरेनन् । समिम मियाँ अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बनाउनुहुन्न भनेर संसदीय समितिमै त्यत्रो रस्साकस्सी भयो । दुइटा नागरिकता, फरक–फरक जन्ममिति भएका प्रमाणहरूको सहितको उजुरीको चाङमाथि बसेर समितिले उनलाई आयोगको अध्यक्षमा सिफारिस गर्न सकेन । चौतर्फी उनको सिफारिसलाई लिएर विरोध भयो । तर, ओली उपस्थित सबै सार्वजनिक कार्यक्रममा उनका पछाडि अनुहार देखाएर उभिने उनै विवादित पात्र अन्सारीलाई आयोगको अध्यक्ष बनाइछाडियो ।
चाहे राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त पीताम्बर तिमिल्सिना हुन् चाहे स्काउटको सदस्य सचिव बनाइएका लोकबहादुर भण्डारी नै किन नहून् । नेकपा वृत्तमा उनीहरूको छवि राम्रो छैन । ओली प्रधानमन्त्री हुँदा वा नहुँदा उनको नाम भजाएर उठ्ती पुठ्ती गर्नेहरूको नाम लिँदा नेकपाका अधिकांशले यिनै पात्रको नाम उच्चारण गर्छन् । कलेज सञ्चालक भण्डारीले त चाकडीकै खातिर आफ्नो कलेजको संरक्षकमा पनि ओलीकै नाम राखेको बताइन्छ । प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदा जहाजमा पनि उनको पछाडिको सिटमा देखिने भण्डारीले चाकडीकै भरमा सो पद हात पारेको बताइन्छ । पछिल्लो समय अर्का विवादित तर ओलीका नजिकका भनेर चिनिएका रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनाइएको छ । गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल तिनै व्यक्ति हुन्, जो एमबीबीएसको प्रश्नपत्र बेच्ने प्रकरणमा समेत मुछिएका थिए ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply