काठमाडौंका चुलीहरूको गाइड
काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता प्रदान गरेको छ । उपत्यकावासीका निम्ति हरेक हिसाबले गुणकारी ती अग्ला चुलीहरूमा पाइला टेक्न पाए कस्तो हुन्थ्यो ? कुनै दिन यस्तै उत्सुकता भित्रिन्छ– नियात्राकार जय छाङ्छाभित्र । त्यो उत्सुकतालाई उनले व्यवहारमा उतारेरै छाड्छन् । ‘पैदलै काठमाडौंका चुलीहरू’ छाङ्छाको नयाँ नियात्रा–कृति त्यही उत्सुकताको परिणाम हो ।
सदैव हरियाली आवरणमा देखिने काठमाडौंवरिपरि चुलीहरू देखेर छाङ्छा असाध्यै मुग्ध हुन्छन् । ती चुलीहरूमा पैताला बिसाउने रहरलाई उनी भावुकताको पोखरीमा डुबुल्की मार्दै यसरी कथ्छन्, ‘पहाड र प्रकृतिसँग अत्यन्त घनिष्ठ सम्बन्ध रहेको थियो मेरो बाल्यकालमा । किनकि अग्लाहोचा पहाडहरू मेरा आफन्तजस्ता थिए । रूखबिरुवा मेरा दाजुभाइजस्ता लाग्थे । सानातिना पोथ्राहरू भाइभतिजाजस्ता लाग्थे । ऐंसेलु, वर, बयर, कटुस आदि हजुरआमा, आमा तथा दिदीबहिनीजस्ता लाग्थे पहाडमा हुर्किंदा ।’
चुलीहरू उक्लिने र झर्ने क्रममा छाङ्छासँग कहिले एकाध सहयात्री हुन्छन् भने कहिले बाक्लो समूह नै । नगरकोट जाँदा उनीसँगै एकजना मात्रै सहयात्री हुन्छन् तर रानीकोट जाँदा भने ठूलै डफ्फाको साथ पाउँछन् । पुस्तकमा उनले नगरकोटको यात्रा गर्दादेखिका प्रसंगबाट सुरु गरेका छन् । त्यसपछि साँगा भन्ज्याङबाट आशापुरेश्वर छिचोल्दै रानीकोट दरबारसम्म पुग्दाका रमाइला सन्दर्भहरूलाई उप्काएका छन् । उपत्यकाको अग्लो शिखर फुलचोकी, त्यहीआसपासको लाँकुरी भन्ज्याङ, गोदावरी पुग्दाका अनुभूति त समेटिएका छन् नै, दक्षिणी भेगको चन्द्रागिरि, भालेश्वर पर्वत शृंखला उक्लिँदाका आनन्ददायक क्षणहरू पनि पुस्तकमा पढ्न सकिन्छ ।
तुलनात्मक रूपमा उपत्यकाका होचा पर्वतहरू नागढुंगा, भीमढुंगा र दहचोकको शिखर टेकेका छाङ्छाले हलचोक हुँदै जामाचोसम्म छिचोल्दाका अनुभवलाई पनि टिपेका छन् । काठमाडौंको उत्तरी दिशातिर अवस्थित शिवपुरी, वाग्द्वार, तारेभीर, सुन्दरीजल, बुढानीलकण्ठ र मणिचुड पर्वतमालासम्म पुग्दाका क्षणलाई पनि उनले सुन्दर तरिकाले उतारेका छन् ।
काठमाडौंका चुलीहरू टेक्ने क्रममा नियात्राकार छाङ्छाले ती चुलीहरू टेक्ने ध्येय मात्र सँगालेका छैनन्, आफूले पाइला बिसाएका थलोहरूको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महŒवको पनि कुनै कन्जुस्याइँ नगरी वर्णन गरेका छन् । ती भेगमा कुन जातिका मानिस बसोबास गर्छन्, उनीहरूको रहनसहन कस्तो छ, उनीहरूको सांस्कृतिक पक्षहरू के–कस्ता छन्, छोटो अवधिमै यस्ता पक्षहरूको अध्ययन गर्न पनि उनले चाहेका छन् । यात्राको क्रममा भेटिएका स्थानीयवासीसँग त्यो ठाउँको विशेषता, जातीय उपस्थिति, रहनसहन बुझ्न उनी र उनका सहयात्रीहरू उत्सुक रहन्छन् । त्यसो त कुनै ठाउँको बखान छाट्न पनि उनी तत्पर भइहाल्छन्, ‘आरु फुलेको छ बारीमा । आरु फुलेको देख्नासाथ माइत गएकी चेलीहरू घर फर्कने बेला भएछ भनें गफगाफकै क्रममा मैले । हो त नि, भन्दै सही थप्नुभयो साथीहरूले । बायाँतिरको जंगलमा खस्रुका रूखहरू छन् । हिँड्ने बाटोमा केही ठाउँमा सिँढीहरू छन् । अलिक चौरजस्तोमा बुकी फूल पनि फुलेका छन्, पाखा सेतै हुनेगरी ।’
छोटा र मीठा वाक्य–गठन, भाषामा मीठासपन, हिमाली नदीझैं सलल बगेको प्रस्तुतिले पठनीयतामा कुनै व्यवधान आउँदैन । अझ ठाउँहरूको कलात्मक बखान, स्थानीयहरूसँगको संवाद र समाज र संस्कृतिलाई बुझ्ने उत्सुकताजस्ता पक्षहरूले पुस्तकलाई झनै सिंगारपटार तुल्याएको छ । ‘पैदलै काठमाडौंका चुलीहरू’ पढ्दा नियात्राकार छाङ्छा र उनका सहयात्रीहरूले मात्र होइनन्, पाठक स्वयंले नै ती ठाउँहरूमा पुगेका अनुभूत गर्छन् ।
कृति ः पैदलै काठमाडौंका चुलीहरू
विधा ः नियात्रा
नियात्राकार ः जय छाङ्छा
प्रकाशक ः हिमालय बुक स्टल
पृष्ठ ः २७७
मूल्य ः रु.४२५।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply