दलाल पुजिँवाद रहुन्जेल गफ बाहेक केहि हुदैन
प्रजातन्त्र र समाजवादको आदर्श लिएर आएको, त्यसमा हुर्केको र लडेर आएको कांग्रेसलाई दलाल पूँजीपति वर्गको गठबन्धनले किनारा लगाइदियो । दलाल पूँजीपतिको गठबन्धनले चलाउने एउटा रूपमा राज्य परिणत भयो । ०४७ सालपछि कम्युनिष्ट पार्टीका नाममा राज्यमा हामी पनि सहभागी भयौं । लामो समय सरकारमा जानेआउने गर्दाखेरि राज्यको चरित्र बदल्ने, दलाल पूँजीपति वर्गको गठबन्धनलाई बदल्ने वा कमजोर पार्ने कुरामा कुनै तात्विक फरक आएन । बरू, कम्युनिष्ट पार्टीमा समेत ठूलो राज्यमा जाने, माथि जाने, माथि गएपछि दलाल पूँजीवादी राज्यमा के गर्नुपर्छ, त्यही गर्ने र्गयौं । हामी पनि बिटुलिंदै गयौं ।
पुष्पलालले शुरु गरेको दिशामा के–के भयो ? यो मुलुक गणतन्त्र हुन्छ भनेका थिए । गणतन्त्र भनेको आमजनताको तन्त्र हो । ती समस्त पीडित, उत्पीडित श्रमजीवी मजदुर किसानको तन्त्र हो । यस परिभाषाअनुसार गणतन्त्र महत्वपूर्ण उपलब्धि हो ।तर, यो गणतन्त्रलाई समाजमा कति ल्याउन सक्यौं । राजनीतिमा ठूलो र सानो हुँदैन । राष्ट्रपति र अरुले उत्तिकै भोट हाल्छन्, सबैले एउटै भोट हाल्ने हो । औपचारिक राजनीतिमा जति अधिकार छ । समाजमा आए कि आएन ? आर्थिक जीवनमा, सामाजिक जीवनमा, महिला पुरुषहरूको जीवनमा आए कि आएन रु दलित र गैरदलित बीचमा आए कि आएन ? मधेसी–पहाडी, दुर्गम र सुगम बस्नेहरूबीचमा समानता भयो कि भएन । देखिएकै कुरा हो–समयसँग आएको हावाका झोक्काहरूले हानेर जति परिवर्तन ल्यायो । हामीले यो परिवर्तन र्गयौं भनेर देखाउने केही छैन ।
राज्यको मुख्य चरित्र दलाल पूँजीवादी नै हो । किनभने, एक खर्बको बिक्रीमा १३ खर्ब आयात गर्छौं । त्यो बीचको १२ खर्ब रुपैयाँ कहाँबाट पूर्ति गर्छ भने ५० लाख मानिसलाई अरब र खाडीमा ऊँट चराउन लगाएर तिनले पठाएको रेमिट्यान्सले पूर्ति हुन्छ । यहाँबाट एउटा मान्छे अरब जान्छ । दुई वर्षमा ऋण तिर्छ । अर्को दुई वर्ष कमाएर दुई लाख कमाउँछ । चार वर्षमा छोरो जवान भइसक्छ । उसले मोटरसाइकल किन्ने भयो । मोटरसाइकल किन्न दुई लाख पर्ने भयो । एक लाख भारतको कम्पनीलाई दिनुपर्छ, ८० हजार राज्यलाई कर तिनुपर्छ, २० हजार रुपैयाँ त्यो व्यापारीलाई दिनुपर्छ । यही पैसाले त्यसलाई पूरा गर्छ । यही हो, दलाल पूँजीवादी अर्थतन्त्र ।
पूँजीका दुई चरित्र छन् । उत्पादक चरित्र– नाफा त गर्छ । नाफासँगै रोजगारी पनि सिर्जना गर्छ । पूँजी लगानी गरेपछि रोजगारी सिर्जना हुन्छ, कर तिर्छ । त्यही करबाट बाटोघाटो, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा राज्यले खर्च गर्छ । यस्तो पूँजी उत्पादनशील पूँजी हो । राष्ट्रिय पूँजी र उद्यमशील पूँजी हो । दलाल पूँजी– यसले रोजगारी सिर्जना गर्दैन । बाहिरबाट सामान लिएर आउँछ । यस्ता फिनिस्ड गुड्स् लिएर आउँछ । जसले भएकै रोजगारी पनि खोसिदिन्छ । अनि, बजार थाम्न सक्दैन गाउँको मान्छेले । आफ्नै जमिनबाट उखेलिएर सदरमुकाम आउँछ ।त्यहाँ रोजगारी मिल्दैन, विदेशतिर पलायन हुन्छ । त्यस्ता मान्छेले पठाएको रेमिट्यान्सले हाम्रो मुलुक चलेको छ । त्यसैले यो दलाल पूँजी हो । उद्यमशील पूँजी होइन । आजको अर्थ राजनीतिक समस्या भनेको दलाल पूँजीवादको समस्या हो । यसलाई परिवर्तन नगरेसम्म निरपेक्ष रूपले शोषण गर्ने, कमिशन मात्रै खाने, रोजगारी सिर्जना नगर्ने, रातारात चुलिने, राजनीतिक नेता किन्ने, पुलिस किन्ने, अदालत किन्ने, अख्तियार किन्ने र सबैतिर सेटिङ मिलाउने लुटिरहने हुन्छ । कानुन त्यस्तै बनाउने, नियम त्यस्तै बनाउने, निर्णहरू त्यस्तै गरिरहने ।अनि, सबै गरेर यसरी दलाल पूँजीवादी गठबन्धन, त्यो पूँजीपति र राज्यका सबै संयन्त्र एक ठाउँमा मिल्छन् । जति सुकै राम्रो कुरा गर्दा पनि त्यो प्रशासन, राजनीति, अदालत र अख्तियारले न्याय गर्दैन । न्याय पूँजीको पक्षमा मात्रै हुन्छ । फैसला दलाल पूँजीपति गठबन्धनको पक्षमा मात्रै हुन्छ । संसदमा पनि उनीहरू नै जान्छन् ।कानुन निर्माण गर्न पनि तिनीहरू नै पुगिरहेका हुन्छन् । कानून बनाउने कुरामा म्यानुपुलेट गरिराखेका हुन्छन् । यसरी श्रमजीवीलाई श्रमजीवी नै राख्ने अझै तिनको जिन्दगीलाई दुरुह बनाउने यो अर्थतन्त्र दलाल अर्थतन्त्र हो ।
यसलाई परिवर्तन गर्न नसक्ने हो भने आजका समाजवादी पार्टीहरूले केही गर्न सक्दैनन् । गफ गर्छन् । भोट लिन्छन् । आज एउटा जान्छ, भोलि अर्को जान्छ । पर्सि अर्को जान्छ, तिनले रजाइँ गर्छन् । त्यसले केही माखो मार्दैनन् । पूँजीपति वर्गभित्र अर्को वर्ग छ । बैंकबाट ऋण लिन्छ । आफू पनि मिहिनेत गर्छ । रोजगारी सृजना गर्छ र सरकारलाई कर तिर्छ । यो वर्ग राम्ररी संगठित छैन । हाम्रोजस्तो मुलुकमा सजिलै संगठित पनि हुँदैन । राज्यले आड भरोसा नदिने हो भने वर्ग विकसित हुनै सक्दैन । ज्यान पाल्छ, छोराछोरी पाल्छ, मुस्किलले छोराछोरी पढाउँछ । जहिल्यै दलाल पूँजीपति वर्गबाट आक्रान्त रहन्छ । यो राष्ट्रिय पूँजीपति वर्ग हो ।
यो नफैलिएसम्म, यसको हैसियत नबढेसम्म र यसको पक्षमा राज्य स्वयं खडा नभएसम्म यो आफैं उठ्न सक्दैन । एउटा समाजवादी पार्टीले पूँजीपति वर्गको पक्षमा काम गर्नुपर्छ भन्ने ठीक कि बेठीक भन्ने विवाद पनि हुन्छ । यदि राष्ट्रिय पूँजीको विकास गर्ने यो बाटोबाट हामी नजाने हो भने हाम्रो समाजवादको नाराले मात्रै मुलुकको मुहार फेरिन्न ।आज हुम्ला जुम्लामा जुठेल्नेमा जन्मेर जुठेल्नामै मर्दैछन् । जसका श्रीमान् काला पहाडमा काम गर्दैछन् । तिनलाई उद्यम र प्रविधिसँग नजोड्ने अनि दलित महिलालाई जुठेल्नामा जन्मेर त्यही मर्न दिने हो भने समाजवाद आउँदैन ।
पहिलो काम तिनलाई संगठन र उद्यममा ल्याउनुपर्छ । आजको समाजवादले राष्ट्रिय पूँजीपति वर्गलाई नियन्त्रण पनि गर्छ, सहयोग पनि गर्छ । सीमा नाघ्न खोज्दा ब्रेक लगाउँछ, नत्र सघाउँछ । अर्को मध्यम वर्ग छ, यो आफू पनि काम गर्छ । अरुलाई पनि काममा लगाउँछ । सानोतिनो उद्यम, कलकारखाना वा केही छ । यसरी आफ्नो ज्यान पाल्छ । यसले अलिकति नाफा गर्छ । अलिकति आफ्नो श्रममा, अलिकति अरुको श्रममा बाँच्छ । ४० लाख जति जनसंख्या श्रमिक, जो काम गर्छ । श्रमजीवी वर्ग हो । धेरै मुस्किलले बाँच्छ । उसको जीवनको अवस्था जहिले पनि अप्ठेरोमा हुन्छ । राम्रो पढ्न पाउँदैन । छोराछोरी पढाउन पाउँदैन । कहिले उसले राम्रोसँग खान पनि पाउँदैन । अरु मनोरञ्जनका कुरा त कुरै छोडिदिनुस् खाने बाँच्ने कुरैमा चिन्ता छ ।अरु मानिसहरू संगठित क्षेत्रमा काम पनि छैन, उद्यमसँग जोडिएको पनि छैन, जसलाई बजार थाम्ने कुनै आम्दानी पनि छैन । आफ्नो उत्पादन, सम्पत्ति पनि छैन । यहीभित्र सबैभन्दा तराई मधेशका दलित, गरीबहरू, कर्णालीका मान्छेहरू, पूर्वी पहाडका जनजातिहरू पर्छन् ।
यसरी त्यो ठाउँमा पुगेपछि पहाडी, मधेशी, खस–आर्य, दलित, पूर्व वा पश्चिमका जाति वा जनजातिहरू एउटा ठाउँमा आउँछन् । उनीहरूलाई सीमान्त श्रमजीवी भन्ने गरेको छु । तिनीहरूसँग केही सीप छैन । केवल श्रम बेच्ने गर्छन् ।तर, त्यो ठाउँ पनि निश्चित छैन । सबभन्दा कमजोर छन, रोगी छन, जीवनस्तर कमजोर छ । औसत आयु सबैभन्दा कम छ । सबैभन्दा पछाडि छन् । समाजवादी राज्यले यहींबाट हेर्नुपर्छ । दलाल पूँजीवादमाथि जकडिएको गठबन्धनलाई तोड्ने हो । त्यसलाई तोडेर गर्न खोजेको के हो भने त्यो सीमान्त श्रमजीवी भूमिमा टाँसिएको छ तर त्यसले खान दिँदैन, त्यहाँबाट उखेलिएर विदेश पलायन भएको छ । दौडधूपमा छ जिन्दगी, यसलाई मुक्त गर्ने हो ।त्यसका लागि त्यहाँ उद्यम र्पुयाउनुपर्छ । त्यसका लागि राज्यले कति निजी क्षेत्रले कति र्पुयाउन सक्छ हिसाब गर्ने हो । राज्य र निजी क्षेत्र राष्ट्रिय पूँजीपतिलाई त्यहाँ र्पुयाउनुपर्छ । त्यहाँको जनसंख्यालाई उद्यमसँग जोडौं । समाजवादी राज्यले अहिले गर्ने प्रमुख काम यही हो । राज्यको दलाल चरित्रलाई राजनीतिमार्फत् हस्तक्षेप गर्ने हो । जापान र कोरियाबाट सारी र गाडी ल्याएर यहाँ बेचेर खाने पूँजीपतिलाई कर्णाली पठाऊँ । त्यहाँ बस्ने नाफा दिनुभएन भने त्यो छोडेर भागिहाल्छ । भएको पूँजी पनि लैजान्छ । हाम्रो राज्यलाई, राज्यको कानून र संविधानलाई यसरी तयार गरौं कि त्यो दलाल पूँजीपतिको पूँजीलाई कसरी उद्यममा लगाउन सकिन्छ । दलाल पूँजीपतिलाई त्यो चंगुलबाट निकाल्दा राष्ट्रिय पूँजीपति वर्ग फैलन्छ । यसले रोजगारीका धेरै अवसर सिर्जना गर्छ । यसलाई राज्यले त्यसै छाडा छोड्दैन, रेगुलेट गर्छ । त्यसले गर्न नसकेको ठाउँमा राज्यले लगानी गर्छ । सबैभन्दा धेरै कृषिमा टाँसिएको अनुत्पादक श्रमलाई मुक्त गर्ने बाहेक समाजवादी आर्थिक कार्यक्रमको अर्को कुनै उद्देश्य हुँदैन ।
हामी जाने बाटो यो हो । सीमान्त श्रमजीवी वर्गलाई मुक्त गर्ने र रोजगारीका अवसर जुटाउने हो । समाजवादका महान चिन्तक कार्ल मार्क्स के भन्छन् भने राजनीति कसरी बन्छ रु राज्य कसरी चल्छ ? मान्नुस, वीरगञ्जको एउटा टोल त्यहाँका सबै मानिसले भोट दिएको एउटा कमिटी हुन्छ, त्यो कम्युन हुन्छ, वीरगञ्जमा समान कम्युनहरू हुन्छन् । ती कम्युनहरूले आफ्नो डेलिगेट चुनेर पठाउनेछन् । प्रतिनिधि होइन, प्रतिनिधि त हामी हौं । तपाईंहरूले भोट हाल्नुभयो, अब तपाईंहरूको जिम्मा मैले लिएँ । मैले जे बोल्छु, तपाईंहरूको नाममा बोल्छु । तपाईंहरूसँग कुनै सम्बन्ध नभएका, बरु तपाईंहरूकै विरुद्धमा पनि बोलिदिन्छु । तपाईंको नाममा जे गरेपनि हुन्छ । यो प्रतिनिधि हुँदो रहेछ ।मार्क्सले भनेको डेलिगेट्वारेसले उसले भनेको काम नगरे वारेसनामा खारेज गरिन्छ । यसरी कम्युनबाट चुनिएका मानिसहरूले जे गर्ने भनेर आदेश दिएर पठाइन्छ त्यही गर्छन् । जुन दिन त्यसरी काम गर्दैनन्, उनीहरूलाई तुरुन्त फिर्ता गरिन्छ । यस्तो लोकतन्त्र हुन्छ । जानुपर्ने प्रत्यक्ष लोकतन्त्रतर्फ नै हो । सोझै जनतासँग जोडिएको जनताको जे आवश्यकता हो, जे विचार हो । त्यसलाई प्रतिनिधित्व गर्ने डेलिगेट्स वा वारेस हुनुपर्ने हो । अहिले यस्तो छैन । यस्तो चुनावको व्यवस्थालाई, यस्तो चुनावबाट बन्ने राज्य, कानून, अदालत यो व्यवस्थालाई टिकाउने पार्टीहरूको संयन्त्र अहिले समाजवाद टिकाउने खालको छैन भन्ने निष्कर्ष हो ।
पार्टीका महाधिवेशनहरूमा उठ्ने केन्द्रीय सदस्यलाई सार्वजनिक सुनुवाइ गर्ने हो भने धेरै कुरा शुरु हुन्थ्यो । ल म नेकपाको केन्द्रीय कमिटीको सदस्य हुँ भनेपछि सार्वजनिक सुनुवाइ होस् । त्यहाँ मेरो सम्पत्तिको बारेमा, काम कारबाहीको बारेमा, मेरो इतिहासका बारेमा प्रश्न उठाइयोस् । मेरो सम्पत्तिको विवरण त्यहाँ सार्वजनिक गर्नु परोस् । त्यसको जस्टिफिकेशन दिनुपरोस् । यति मात्रै गर्ने हो भने धेरै कुरा समाधान हुन्छ । माथि किन पुग्ने ? पैसा कमाउन । पैसा कमाएपछि के हुन्छ रु त्यो भन्दा माथिल्लो पदमा जान्छ । त्यसमा के हुन्छ रु अझै धेरै पैसा कमाइन्छ । माथिल्लो पदमा जाने अनि पैसा कमाउने । पैसा कमाउने अनि माथिल्लो पदमा जाने । अन्ततः दलाल पूँजीवादलाई नै संस्थागत गर्ने हुन्छ । यस्ता सांसदहहरूको तरिका, आम रूपमा भन्दा यी पार्टीहरूको तरिकाबाट समाजवाद आउँदैन ।कमरेड पुष्पलालले संगठित रूपमा श्रमजीवी वर्गको हितमा समाजवाद ल्याउने भनेर यात्रा शुरु गरेका थिए । पार्टीमा समाजवादका कुरा गर्ने मान्छेहरू, आदर्शले प्रेरित भएका मानिसहरू छन् । गरीब दुःखी, पछाडि परेका्पारिएका तमाम जनगण पनि छन् ।त्यही पार्टी्भित्र उत्तिकै दलाल पूँजीपति वर्गहरू पनि पसेका छन् । उनीहरूसँग समाजवादीहरूको द्वन्द्व सबै पार्टीमा छ । दलाल पूँजीवादमै टाँसिएर यसलाई विस्तार गर्ने कि त्यसबाट छुट्टिने मुख्य लडाइँ हो ।
नेकपाको दुई तिहाइ सरकारले गर्छ भन्ने छ रु गर्न त यसले गर्छ । दलाल पूँजीवादलाई अझै बलियो बनाउँछ वा त्यसलाई कमजोर पार्ने बाटो लिन्छ । स्पष्टताका साथ समाजवादीहरू, प्रतिबद्धता र स्पष्टताका साथ लड्न सके समाजवादीको बाटो बनाउँछ । नेकपा बिग्रिए पनि कांग्रेस बनोस् भन्छु म त । कुनै पार्टीका नेता बिग्रन्छ । जुनसुकै पार्टीको नेता दलाल पूँजीवादको कारिन्दा बन्छ । हाम्रो जतिसुकै ठूलो नेता यदि, एनसेलबाट घुस खाएको छ भने त्यो दलाल पूँजीवादकै कारिन्दा हो । कोही अध्यक्ष, सभापति अथवा महामन्त्री वा महासचिव होला । दलाल पूँजीवादको कारिन्दा, तिनका कारिन्दाको पनि कारिन्दा कार्यकर्ता, तिनका कारिन्दाको पनि कारिन्दाको भोटर जनतालाई बनाउने व्यवस्थाबाट मुक्त गर्न पार्टीलाई राम्रो बनाउनुपर्छ । जुनसुकै पार्टीलाई दुत्कार्ने नागरिक समाज आवश्यक छ । जुनसुकै पार्टीका भएपनि समाजवादी र इमानदार नेताको समर्थन गर्नुपर्छ ।
(पाठशाला नामक संस्थाले वीरगञ्जमा आयोजना गरेको ‘नेपालमा समाजवादस् एक विमर्श’ कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply