प्रतिबद्ध सारथिको सम्झना
समाजमा यस्ता व्यक्ति पनि हुन्छन्, जसले आफ्नै बर्कत र विवेकले सामाजिक रूपान्तरणमा भूमिका खेलेका हुन्छन् । नरबहादुर खत्री (एन खत्री) पनि त्यस्तै एक व्यक्तित्व थिए, जसले राजनीति, सामाजिक सेवा र शैक्षिक क्षेत्रको उन्नयनमा सूक्ष्म तरिकाले योगदान अर्पण गरे । तिनै व्यक्तित्वलाई चिनाउने आधारस्वरूप प्रकाशनमा आएको छ, ‘एन खत्री ः प्रतिबद्ध सारथि ।’
तत्कालीन समयमा रामेछापको दुर्गम गाउँ गेलुमा जन्मिएका खत्रीले पछिल्लो समय आफ्नो कर्मथलो भने काठमाडौं उपत्यकालाई बनाए । रामेछापदेखि नै प्रारम्भ भएको उनको शिक्षण यात्रा काठमाडौंको धापासी र बलम्बुका साथै शान्तिनगरमा समेत फैलियो । पञ्चायतको बेलामा प्रतिबन्धित कम्युनिस्ट वा कांग्रेसको राजनीतिको टेको शिक्षकहरूले नै अड्याइदिनुपथ्र्यो । समाजमा शिक्षकको अहं भूमिका हुने र उनीहरूमार्फत राजनीतिलाई अग्रदिशा दिन सहज हुने भएको कारण राजनीतिक दलका नेतृत्वले पनि शिक्षकहरूलाई नै अघि सार्थे । खत्रीले पनि काठमाडौंमा रहेर शिक्षक आन्दोलन र तत्कालीन नेकपा (माले) को राजनीतिक गतिविधिलाई बढाउन सक्रियता देखाए ।
पञ्चायतकालीन समयदेखि नै काठमाडौंको नयाँ बानेश्वर इलाका नेपाली कांग्रेसको गढको रूपमा चिनिन्थ्यो । तर, नयाँ बानेश्वर इलाकामा कांग्रेसलाई टक्कर दिन र मालेको संगठन निर्माण एवं विस्तार गर्न खत्रीले सक्रिय अगुवाइ गरे । जसको परिणामस्वरूप, २०४८ सालपछि मदन भण्डारी, मनमोहन अधिकारी, विद्या भण्डारीलगायत नेताहरूले सहज रूपमा विजय हासिल गर्न सके ।
काठमाडौंको वाम राजनीति र शिक्षण कार्यमा संलग्न रहे पनि उनले आफ्नो गृहजिल्ला रामेछापमा पनि राजनीतिक सक्रियता देखाउन पछि परेनन् । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएलगत्तै नेकपा (एमाले) को रामेछाप जिल्ला कमिटी सदस्य भएर जिल्लाको राजनीतिमा पहिचान बनाएका थिए, उनले । राजनीतिमा खुलेर आउनुअघि रामेछापबाट काठमाडौं आएर बसेका पेसाकर्मीहरूलाई समेट्ने कार्यमा पनि उनी अग्रसर रहे । पहिलो सम्पर्क मञ्च गठन गर्ने कार्यमा पनि उनकै देन रह्यो ।
राजनीतिक क्षेत्रमा सारथि भएर क्रियाशील रहे पनि उनले कुनै पद, प्रतिष्ठाको लोभ भने कहिल्यै गरेनन् । एक असल र इमानदार कार्यकर्ताको तहमा नै आफूलाई उभ्याए । पछिल्लो समय भने एक मात्र सुपुत्र सान्त्वनाको अल्पायुमै निधन भएपछि सान्त्वना कलेज स्थापना गरेर शैक्षिक क्षेत्रको विकास र उन्नयनमा अग्रसरता देखाए । तर, संघर्षशील यात्रा गर्दागर्दै २०७२ सालमा उनको दुःखद निधन भयो ।
खत्रीको स्मृतिग्रन्थ ‘प्रतिबद्ध सारथि’ मा उनले शिक्षण, राजनीति र सामाजिक क्षेत्रमा पु¥याएका योगदानबारे सहयात्री, शुभेच्छुक, आफन्त र परिवारका सदस्यहरूका संस्मरण समेटिएका छन् । उनको जीवनयात्रामा जोडिन आइपुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रा.डा. कैलाश प्याकुरेल, प्रा.डा. जीवेन्द्रदेव गिरी, राजनीतिज्ञहरू माधव पौडेल, कैलाश ढुंगेल, देवशंकर पौडेल, विश्वनाथ प्याकुरेल, शान्तिप्रसाद पौडेल, नानीबाबु बुढाथोकी, उहाँकी पत्नी जमुना खत्रीलगायत विभिन्न क्षेत्र र तहका व्यक्तिहरूका स्मृतिहरू समाविष्ट छन् । अतः एन. खत्रीको स्मृतिग्रन्थ प्रकाशनबाट समाज र मानव जातिको भलो चिताउने र सामाजिक रूपान्तरणमा आफ्नो तहबाट योगदान दिने व्यक्तिहरूका असल कर्मलाई बाहिर ल्याउनु आवश्यक छ भन्ने स्पष्ट देखाएको छ । होइन भने हामी बाँचिरहेको समाजका एन खत्रीजस्ता व्यक्तिहरूका असल कर्म अँध्यारो गर्तमा नै पुरिएर रहन्छन् ।
कृति ः एन. खत्री ः प्रतिबद्ध सारथि
विधा ः स्मृतिग्रन्थ
सम्पादक ः विवश वस्ती
प्रकाशक ः सान्त्वना स्मृति प्रतिष्ठान
पृष्ठ ः २००
मूल्य ः ४५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply