जिन्दगीसँग सवालजवाफ
प्रेम र मानवीय सम्बन्ध नै मानव जातिलाई अग्रदिशातिर डो¥याउने आधार हुन् । यदि प्रेम र मानवीयताको अभाव हुँदो हो भने संसार यति सुन्दर, मनोरम र गतिशील हुँदैनथ्यो । मानिसले प्रकृति, नदी, पशुपक्षीहरु, आकाश, क्षितिज आदिलाई सस्नेह प्रेम गर्दै आफ्नो जीवन–यात्रालाई गति दिँदै आए । लाग्छ, पृथ्वीको आयु रहुन्जेलसम्म चलिरहन्छ, यो प्रक्रिया । नित्य र निरन्तर । तिनै प्रेम र मानवीय सम्बन्धका साथै स्त्री–प्रश्नलाई केन्द्रमा राखेर स्रष्टा धनमाया राई गजलमा आफ्ना भावना पोख्न दक्ष देखिन्छन् । उनको नवीन गजलकृति ‘सुस्केरामा सानी’ भित्रका गजलहरुमा समग्र एवं सचेत जीवनदृष्टि व्याप्त छन् ।
संसारका हरेक प्राणीमा विपरीत लिंगीप्रति आकर्षक बढ्नु स्वाभाविक पक्ष हो । विपरीत लिंगीप्रतिको आकर्षण नै सृष्टि निरन्तरताको आधार हो । तर, स्त्रीको देहप्रति अनावश्यक रुपमा आकर्षित हुने प्रवृत्तिको भने उनी केही हदसम्म विरोधी देखिन्छन्, ‘निधारमा हल्का जुल्फी ढल्काएर छेउमा नआऊ÷अधरमा मन्द मुस्कान छल्काएर छेउमा नआऊ÷सुन्दर तिम्रो व्यक्तित्वको चर्चा गर्छ दुनियाँले÷यौवनको उन्माद त्यो झल्काएर छेउमा नआऊ ।’
कसैको सम्झना वा स्मृतिमा तड्पिनु निकै दुःसह कार्य हो । तर, मानव जाति होस् वा प्रकृतिका तमाम जीवित प्राणीहरु, कसै न कसैको सम्झनामा डुबुल्की मार्नै पर्दछ । राई लेख्छिन्, ‘आँगनभरि पारिजात रोपी पर्खिबसें÷मनभरि तिम्रै याद बोकी पर्खिबसें÷आधा रातै झरी गयो फूल भुइँभरि÷फूलसँगै मनको बह पोखी पर्खिबसें ।’ अधिकांश मानिसले आफ्नो जीवन–यात्रा सुख–दुःखलाई अँगालेर नै छिचोल्छन् । जीवनमा कहिले दुःखका पलहरुसँग साक्षात्कार गर्नुपर्छ, कहिले सुखका क्षणहरुसँग । आफ्नो पारिवारिक अवस्थाको शब्दचित्र यी पंक्तिहरुमार्फत् गरेकी छन्, उनले, ‘खुसी भन्ने चिज सिंहासनमा किन आउँथ्यो÷मनै शान्त छैन उपवनमा किन आउँथ्यो÷आमा दासी, बाबु ढाक्रे बने मेरै खातिर÷बाआमाले सुख पाउँन् मनमा किन आउँथ्यो ।’
हामीकहाँ सामाजिक एवं सांस्कृतिक क्षेत्रमा व्याप्त विदु्रपताले मानवीय सम्बन्धको रागात्मक एकत्वलाई छिन्नभिन्न तुल्याउँदै आइरहेको छ । अझ, जातीय विभेदको डरलाग्दो पर्खालले त मानवीयतालाई वर्षौंदेखि थिचिरहेको छँदैछ । जातीय विभेदको पराकाष्टाप्रति उनी असहमत स्वर यसरी व्यक्त गर्छिन्, ‘जात बनाउनेले कस्तो छल बनाएछन्÷कित्ता काटी फरक धरालत बनाएछन्÷मनाही छ घर अनि मनभित्र पस्न÷जवानी चल तर पानी अचल बनाएछन् ।’
माटोको माया सबैलाई हुन्छ । अझ, आफ्नो सालनाल गाडिएको माटोप्रति माया–मोह नहुने को नै होलान् र ? आफू जन्मिएको र हुर्किएको परिवेशलाई उनी यसरी स्मरण गर्न चाहन्छिन्, ‘फुत्त निस्कें खनियाँखर्क नाकाजोली याद आयो÷गोलन्जोर डाँडा अनि जुकेखोली याद आयो÷पहेंलपुर भै सुन्तलाले ढाकेका बोट लटरम्म÷बाबाको त्यो खकन, टोक्मा थोत्रो झोली याद आयो ।’
मूलतः राईका गजलहरु पठनीय त छँदैछन्, नयाँ विषयवस्तुको खोजीका कारण पनि उनको लेखन–धरालत समृद्ध देखिन्छ । समृद्ध गजल–तत्वलाई पछ्याउनुका साथै शिल्पगत हिसाबले समेत उनी गजल लेखनमा अब्बल देखिन्छन् । उनका गजलहरु जिन्दगीको सवालजवाफसँग जोडिएकोमा कुनै द्विविधा उत्पन्न हुँदैन ।
कृति ः सुस्केरामा सानी
विधा ः गजल
गजलकार ः धनमाया राई
प्रकाशक ः जंगबहादुर राई
पृष्ठ ः ८५
मूल्य ः २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- संस्कृतिविद्को परिचयवृत्त
- कुइनेटाहरूमा मुकेशलाई भेट्दा
Leave a Reply