अनेक तरंगहरूको लिपि

अझै पनि नेपाली समाजमा आफ्ना दमित इच्छा, आकांक्षा र चाहनाहरू स्याहारेर बस्नुपर्ने बाध्यताबीच करोडौं नारीहरू पिल्सिइरहेका छन् । पुरुष मानसिकता एवम् वर्चस्ववादी दृष्टिकोणकौ माखेसाङ्लोमा बेरिएका नारीहरू बेलाबखत उम्किने प्रयास त गर्छन् तर त्यौ फलदायी सावित हुन सकिरहेको छैन । तर, कथाकार दिलीप शाहले एउटी यस्ती नारी पात्रलाई आफ्नो कथाको विषय बनाएका छन्, उनमा अरू नारीमा जस्तो निरीह–भावबोध होइन, आन्तरिक आक्रोशको ज्वाला व्याप्त छ । ती नारी, आफूलाई झुक्याएर विवाह गर्ने पुरुषलाई तड्पाएर राख्ने योजनामा लागेकी छन् र त्यसकै फलस्वरूप आफूले होटल सञ्चालन गरेर अरू व्यक्तिहरू (जो उनका पुरुष ग्राहक हुन्) लाई आफ्ना पतिलाई भन्दा अधिक माया, स्नेह र सद्भाव अर्पण गर्न रुचाउँछिन् ।
शाहको सद्य: प्रकाशित कथाकृति ‘बघिनी’भित्रको कथा ‘बघिनी’कै मुख्य पात्र मायाले नेपाली समाजमा हुर्किएका पुरुषहरूले नारीहरूप्रति देखाउने निर्लज्ज व्यवहार, द्वितर्फी क्रियाकलाप र बहुविवाहको परिपाटीलाई उदांगो पार्न चाहेकी छिन् । उनी भन्छिन्– ‘मभित्रको दन्किरहेको आगो निभाउनलाई हाँस्छु । पोइको छद्मभेषी चेहरा बिर्सनलाई हाँस्छु । ऊसँग प्रतिरोध लिनलाई हाँस्छु ।’ यो कथाले नारीको मूल्यांकन शारीरिक बनावटको आधारमा गरिने स्थितिप्रति व्यंग्य गरेको छ । ‘मन सेलरोटी होइन’ पनि नारी–विमर्शमै आधारित कथा हो । एउटी महिलाको अन्तरव्यथा ओकल्न सक्षम यो कथाले पुरुषप्रति देखाएको सदाशयता अन्तत: आफ्नै लागि घातक र प्रत्युत्पादक भएको देखाउन खोजिएको छ । आफूबाट सन्तान नभएपछि आफैंले पतिलाई दोस्री केटीसित विवाह गराएर पारिवारिक खुसी भित्र्याउन चाहने ती महिला अन्तत: पतिको तिरष्कारको सिकार हुन पुग्छिन् ।
कुनै समय, आर्थिक रूपले समृद्ध भए पनि समयक्रममा हरितन्नम स्थितिबाट गुज्रिरहेको एउटा सहरिया वर्गको जीवनशैली उतार्न सक्षम कथा हो– ‘फर्केर हेर्दिनँ ।’ पुँजीवादी राज्यव्यवस्थामा व्यक्तिगत स्वतन्त्रता भए पनि त्यसले मानिसहरूलाई नैतिक रूपमा पतित तुल्याउन उत्तिकै भूमिका खेलिरहेको छ । र, सहरिया युवतीहरू आधुनिक जीवनशैली अपनाउने क्रममा कसरी पतनको दिशातिर उन्मुख भइरहेका छन् ? त्यसको सजीव चित्र उतारिएको छ । ‘शय्यादान’ मा हिन्दू धर्मशास्त्र अनुसार मानिसको भौतिक देह समाप्त हुँदा मृतात्माको नाममा दान गर्नुपर्ने जुन कुनियम बसालिएको छ, त्यो अनावश्यक रहेको पुष्टि गर्नतिर केन्द्रित छ । एक जना दरबारिया व्यक्तिले आफ्नी पत्नीको मृत्युपछि दान गर्ने वस्तुहरूको सूची ब्राह्मणसित मागेका हुन्छन् तर त्यो सूचीमा आधुनिक इलेक्ट्रोनिक सामानहरूको बाहुल्य हुन्छ । त्यही सूचीमा रहेका सामानहरूबारे दान गर्ने व्यक्ति र ब्राह्मणबीचको संवादलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । ‘स्यावास, विश्वनाथ’ कथाको मुख्य पात्र विश्वनाथ एउटा यस्तो पात्र हो, जसले आम नेपाली जनताको प्रतिनिधित्व गर्दछ । अहिलेको राजनीतिक जगत्मा व्याप्त विसंगत स्थितिहरूप्रति प्राय: सबैको असन्तुष्टि छ, आक्रोश छ र त्यो कतिबेला विस्फोट हुन्छ, यकिन गर्न सकिँदैन । विश्वनाथले राजनीतिमा भित्रिएको विसंगत पक्ष र विकृत चेहराप्रति आक्रोश पोखिएको कथामा उल्लेख छ ।
‘थकथकी’ले कर्मचारीतन्त्रभित्र व्याप्त अँध्यारा पाटाहरू उतार्न चाहेको छ । खासगरी, कर्मचारीहरूको मनोभाव केलाउन उक्त कथा अग्रसर देखिन्छ । ‘महाराजवाणी’ले भने दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले जनताप्रति देखाएको असामान्य व्यवहारलाई अत्यन्तै व्यंग्यात्मक रूपले प्रस्तुत गर्न चाहेको छ । राजा भएर सम्पूर्ण शासन सत्ता आफैंले हत्याएपछि जनताबीच जाने क्रममा उनले जुन नाटक देखाएका थिए, त्यही पक्षलाई यो कथाले मिहिन रूपमा बिसाउन खोजेको छ । शासकहरूको चरित्र, शैली र स्वभावको पर्दाफास गर्न पनि उत्तिकै सक्षम छ यो कथा ।
उनका केही कथामा देह–वर्णन आवश्यकताभन्दा बढी नै भएका छन् । केही कथामा आम पाठकले नबुझिने शब्दहरू पनि परेका छन् । र, केही कथाहरू भने बिसाउनीबाट एक दुई हात अलि पर पुगेर विश्राम पनि मारेका छन् । तथापि, शाहको कथाकारिताको खुबी केमा देखिन्छ भने उनी समाजका कमजोर वर्गको आवाजलाई अत्यन्तै ध्यान दिएर सुन्न चाहन्छन् र तिनीहरूका कथा–व्यथा, समस्या र अनेक तरंगहरूलाई लिपिबद्ध गर्न रुचाउँछन् । तसर्थ, उनी एक सगज, सहानुभूतिशील र सोद्देश्य लेखनमा रम्ने कथाशिल्पी हुन् । र, शिल्पको कलात्मकता श्रेष्ठ विषयबाट निर्धारित हुन्छ भन्ने कुरा पनि उनको लेखनबाट सहजै बुझ्न सकिन्छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply