चरीका नाममा क–कसको मनपरी ?

काठमाडौं । गत बुधबार काठमाडौंको भीमढुंगामा मारिएका अपराध जगतमा चरी भन्नासाथ चिनिने धादिङका दिनेश अधिकारीको लाश अझै शिक्षण अस्पतालमा छ । प्रहरीले अन्तै मारेको भन्दै छानबिन नगर्दासम्म लाश नबुझ्ने अडान परिवारले लिएको छ भने एमालेका केही नेताले त्यसलाई बल पुर्याइरहेका छन् ।
एमाले नेता किन डराए ?
एमालेमा छिरेर धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत हुन भ्याएका चरीको मृत्युपछि त्यसलाई राजनीतिक रङ दिने कोसिस जारी छ । संसददेखि बल्खुसम्म राजेन्द्र पाण्डेको नेतृत्वमा एमालेका केही नेताहरु चरीका पक्षमा लागेका छन् । यसको कारण कारण के होला त ? स्रोतका अनुसार, दुई ग्याङबीचको पुरानो द्वन्द्वका कारण नै उनीहरु आत्तिएका हुन् । धादिङमा आतंक मच्चाउने कांग्रेस निकट राधे भण्डारीको समूहका सदस्य चरीले पछि एमालेमा प्रवेश गरेर तिनलाई नै ‘ठेगान’ लगाएका थिए । अब चरीको मृत्युपछि राधेको एकछत्र ‘राज’ हुने भएकाले नै एमालेका नेताहरुमा छटपटी बढेको स्रोतको दावी छ ।
‘कांग्रेस’लाई जेल, ‘एमाले’ लाई गोली ?
आपसमा कुरा हुँदा एमालेका एकथरी नेता–कार्यकर्ता प्रहरीले एमाले भएकै कारण चरीको हत्या गरेको दावी गर्छन् । एक वर्ष पहिला गत असार २३ गते धादिङबाट फर्किंदै गर्दा चरीमाथि गोली हान्ने राधेलाई भन्दा गोली खाने चरीलाई बढी सजाय दिइएको चर्चा गर्दै एक नेता भन्छन्– ‘बाहिरबाट हेर्दा डनका विरुद्ध कारवाही भने पनि भित्री रुपमा उद्देश्य कांग्रेसलाई फाइदा पुर्याउने छ ।’ त्यसको थप तर्कका रुपमा उनले चरी जस्तै डन अभिषेक गिरीलाई आरामका साथ पक्राउ गरिएको उनले स्मरण गराए ।
तर प्रहरी अधिकारी भने आफूले त्यसरी काम नगरेको दावी गर्छन् । एक अधिकारीले भने– ‘डनको कनेक्सन कहाँ र कोसँग छ भन्ने प्रहरीलाई थाहा छ । तर, त्यस आधारमा कारवाही गरिएको होइन ।’ माथिको तर्कलाई खण्डन गर्दै उनी भन्छन्– ‘त्यसो भए एमालेका नेताहरुसँग निकट रहेका रमेश बाहुन किन पक्राउ पर्थे र ?’
त्यस दिन के भयो ?
केही दिनयता प्रहरीलाई सूचना आउन थालेको थियो– चरीले व्यापारीसँग रकम मागिरहेका छन् । प्रहरीले आफ्नो संयन्त्र तुरुन्तै सक्रिय पार्यो । त्यतिबेला थाहा भयो– उनी हेटौंडामा रहेछन् । प्रहरीले उनलाई पिछा गर्न सुरु गरेको थाहा भइसकेछ । त्यसपछि उनी चितवन आए । त्यहाँ उनी गृहमन्त्री वामदेव गौतम र उनका छोरा हरिश गौतमसँग सीधै सम्पर्क भएका प्रकाश रेग्मीको संरक्षणमा बसे । त्यहाँ पनि प्रहरीले उनलाई समाउन सकेन ।
चरी काठमाडौं आएको खबरसँग अपराध अनुसन्धान महाशाखाले आफ्नो टोलीलाई सक्रिय पार्यो । जुन दिन चरी मारिए, त्यसदिन उनी भाग्न सक्ने सम्भाव्य दुई नाका भन्दै कोटेश्वर र बालाजुतिर डीएस्पीको नेतृत्वमा दुई टोली परिचालन गरिएको थियो । प्रहरीका सुराकीले चरीको पिछा गर्न छोडेका थिएनन्, जसको गन्ध उनले पाइसकेका थिए ।
चरीले लामो कपाल पालेका थिए । कालो चश्मा लगाउने गरेका थिए । प्रहरीसँग त्यही हुलिया थियो र फिल्डमा खटिने अधिकृतलाई पनि त्यस्तै तस्वीर दिइएको थियो । तर, उक्त दिन विहान प्रहरीले थाहा पायो– चरीले कपाल काटे । स्वयम्भुको सैलुन सञ्चालकलाई के थाहा, उनी कुख्यात डन चरी हुन् † तर, प्रहरीले उनलाई छोडेको थिएन ।
कारवाहीमा संलग्न एक अधिकारीका अनुसार, खासमा त्यस दिन प्रहरीले चरीलाई घेरा हालेर पक्रिन खोजेको थियो । उनी जब मोटरसाइकलमा धादिङतिर हुइँकिए, सादा पोशाकका र बर्दीका गरी दर्जनौं प्रहरीले उनलाई फलो गरे । डीएस्पी मीरा चौधरीको कमान्डको खटिएको अपराध अनुसन्धान महाशाखा र काठमाडौं परिसरको संयुक्त टोलीले गोलढुंगामा चरीलाई नियन्त्रणमा लिन खोज्दा ‘जवाफी फायर गरेकाले’ प्रहरीले गोली चलाउँदा उनको मृत्यु भयो ।
आठ गोली किन ?
घटनाको लगत्तै प्रहरीबाटै सूचना लिक नहुने कुरा भएन । र, एकाएक राजधानीमा सनसनी फैलियो– चरीलाई प्रहरीले गोली हानेर मार्यो । साथै, एउटा अर्को प्रश्न पनि उब्जियो– एउटा मान्छेमाथि आठवटा गोली हान्न आवश्यक हुन्छ ? जबकि, एउटै गोली मृत्युका लागि पर्याप्त हुन्छ ।
अपराध अनुसन्धान महाशाखा हनुमानढोकाका प्रहरी बरिष्ठ उपरीक्षक पुष्कर कार्की यस प्रश्नको जवाफमा भन्छन्– ‘त्यस भनाइलाई पनि अन्यथा लिनु हुँदैन । तर, उताबाट पहिला गोली चलेपछि प्रत्येक प्रहरीले आफैंलाई दागेको ठान्छ । त्यस्तो बेलामा सल्लाह गरेर पहिला तँ हान, अनि भएन भने म हानुँला भन्दैन । धेरैजनाले गोली चलाउँदा त्यस्तो हुनु स्वाभाविक हुन्छ ।’ अझ कति मिस फायर भएको पनि हुन सक्ने प्रहरीको भनाइ छ ।
पिछा गरेको भन्ने, अनि छातीमा गोली हान्ने ?
चरीका समर्थक सभासद् राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, धनबहादुर तामाङका साथै एमालेका नेताहरु खेम लोहनी, भूमि त्रिपाठीलगायतको तर्क छ– ‘प्रहरीले पिछा गरेको भन्छ तर अगाडिबाट छातीमा गोली लागेको छ ।’
‘पिछा गरेको हो’– एस्एस्पी कार्की भन्छन्– ‘उसले गोली चलाएपछि आमने–सामने हो भन्ने स्वत: प्रमाणित हुन्छ । अनि जतातिरबाट गोली आयो, त्यतै गोली चल्ने नै भयो ।’
हत्या अन्त्यै भएको हो ?
अहिले चरीका समर्थकहरुले उनको हत्या नै त्यहाँ नभएको तर्क गर्दै बाहिर हत्या गरेपछि त्यहाँ लगेर मुडभेडको नाटक मात्र गरेको भन्ने गरेका छन् । तर, प्रहरीले भने त्यसलाई अस्वीकार गरेको छ । एक प्रहरी अधिकारी भन्छन्– ‘प्रहरीले साँच्चै त्यस्तो गर्न चाहेको भए त्यहाँ लिएर लाश देखाउनुपथ्र्यो र ? यसअघि युद्धको बेला कति घटना (मारेर लाश गुपचुप पारेका) छैनन् र ? यति छिट्टै बिर्सेर आरोप लगाउन मिल्ला र ?’
घटनास्थलमा धेरै रगत नबग्नुलाई पनि रहस्यका रुपमा प्रस्तुत गरिएको छ । ती अधिकारी भन्छन्– ‘पोस्टमार्टम रिपोर्टले सबै कुरा बताउला । प्राविधिक कुराका बारेमा धेरै अहिल्यै नभनौं । तर, कुन पोजिसनमा भएको बेला गोली लाग्यो भन्ने कुराले कति रगत बग्छ भन्ने देखाउँछ । भित्र र बाहिर दुई प्रकारले रक्तश्राव हुन्छ ।’ सानो हतियारले हान्दा टाउको र पिंडौलाबाट जति रगत बग्छ, छातीबाट त्यति नबग्ने उनले बताए ।
अर्का एक प्रहरी अधिकारी,
गृहमन्त्रीलाई पहिल्यै थाहा थियो ?
काठमाडौंमा एकथरीको भनाइ छ– पहिला जोसँग चरीको राम्रो सम्बन्ध थियो, तिनैसँग कटुता उत्पन्न भएपछि उनी इनकाउन्टरमा परेका हुन् । ठूला नेताहरुलाई पनि धम्क्याएपछि उनीमाथि कारवाही गर्न राजनीतिक तहबाट प्रहरीमाथि दवाव परेको थियो भन्नेहरुको पनि कमी छैन । साथै, घटनाअघि गृहमन्त्री वामदेव गौतमलाई सबै जानकारी भएको पनि स्रोतको दावी छ ।
उच्च स्रोतका अनुसार, गृहमन्त्री गौतमलाई मात्र होइन, उनका छोरा हरिशलाई पनि यस घटनाका बारेमा जानकारी थियो । एक अवकाश प्राप्त प्रहरीले भने– ‘जानकारी थियो वा थिएन, थाहा भएन । तर, हरिशजीलाई यसका बारेमा चासो चाहिं थियो ।’
प्रहरी चुप तर सक्रिय
घटनाका बारेमा संसददेखि सार्वजनिक रुपमा समेत चर्चा भइरहँदा प्रहरी भने मौन छ । राजनीतिक रुपमा आफूमाथि लागेका आरोपहरुको खण्डन अहिल्यै गर्न उसले आवश्यक ठानेको छैन । ‘हामीले आफ्नो काम गर्ने हो’– मुख्यालयका एक अधिकारीले भने– ‘रँजनीतिक रुपमा उठेका प्रश्नहरुको जवाफ गृहमन्त्रीले सदनमा दिइसक्नुभएको छ र बाँकी गृह मन्त्रालयले देला ।’ अहिल्यै धेरै बोलेमा विवादमा परिने भन्दै मुख्यालयले अपराध अनुसन्धान र काठमाडौं परिसरका अधिकृतहरुलाई धेरै नबोल्न निर्देशन दिएको छ ।
तर भित्रभित्रै भने प्रहरीले अनुसन्धान जारी राखेको छ । फोन सम्पर्कका आधारमा चरीको पछिल्ला दिनमा को–कोसँग सम्पर्क थियो भन्ने आधारमा छानबिन अघि बढाइरहेको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने– ‘अहिले उसले प्रयोग गरेको आइफोन खोल्ने प्रयासमा छौं । धेरै कुरा भाइबरबाट हुँदोरहेछ । दुई–चार दिनमा बाँकी कुरा पनि खुल्छ ।’ चरीको प्रेमिका दावी गर्ने खुश्वु ओलीका बारेमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ठूला नेताको संरक्षण
प्रहरीले गुन्डाका रुमपा मात्र नभई चरीलाई ठूला नेताहरुसँगको सम्पर्कका आधारमा बढी खतरनाक देखेको बताइन्छ । त्यस आधारम हेर्दा धादिङतिरकै अनेक उद्यममा संलग्न नेतासँग चरीको विशेष सम्पर्क देखिन्छ । एक अधिकारीले भने– ‘घरजग्गा, बालुवा खानीदेखि जलविद्युत्सम्ममा उसको लगानी रहेको देखिन्छ ।’ यस कुरालाई प्रहरीले अर्को निकाय सीबीआईले अघि बढाउन खोजेको छ ।
एमालेका नेताहरुले चरीका पक्षमा गरेको तर्कलाई प्रहरी अधिकारीले नजिकबाट ननियाल्ने कुरै भएन । एकातिर गृहमन्त्री गौतमले दह्रो गरी आफ्नो पक्षपोषण गरेकोमा प्रहरी अधिकारीहरु खुसी छन् भने अर्कातिर एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरुले विरोध गरेकोमा दु:खी छन् । ‘अपराधीलाई अपराधीकै व्यवहार गर्नुपर्यो’– एक प्रहरी अधिकारीले भने– ‘राष्ट्र चलाउने उहाँहरुले नै हो । कस्तो प्रहरी बनाउने, कस्तो समाज बनाउने ? उहाँहरुकै जिम्माको कुरा हो ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply