पार्टीभित्रका आलोचकहरूलाई निषेध गर्ने कि समेट्ने ?

नेकपा (एमाले) जस्तो क्रान्तिकारी र लोकतान्त्रिक पार्टीमा महाधिवेशनद्वारा नीति र नेतृत्व छनोटको विषय पार्टी जीवनको सन्ंदर्भ मात्र नभएर यो मुलुकका लागि समेत अत्यन्त महत्त्वपूर्ण र दूरगामी प्रभावको विषय हो । नेकपा (एमाले) को ऐतिहासिक पृष्ठभूमि, जनताको बहुदलीय जनवाद जस्तो नवीन विचार, देशभरि फैलिएको संगठनको सञ्जाल, आम जनताको बीचमा क्रियाशील नेता तथा कार्यकताको विशाल पंक्तिलगायत विभिन्न कारणले यो पार्टीका निर्णयहरूले आम नेपाली जनताको जीवन प्रभावित हुनु स्वाभाविक छ । नवौं महाधिवेशनले अत्यन्त महत्त्वपूर्ण केही नयाँ विचार पारित गरेको छ । विगत राजतन्त्रको कालमा पार्टीको शक्ति मूलत: राजनीतिक क्रान्तिको विषयमा केन्द्रित हुने गर्दथ्यो । तर, राजनीतिक क्रान्ति सम्पन्न भएपछि अब यो मुलुकलाई समृद्धिको बाटोमा कसरी अघि बढाउने ? यो नै पार्टीको यतिबेलाको मुख्य कार्यभार बनेको छ । क्रान्ति सम्पन्न गर्न जति कठिन छ, क्रान्तिका उपलब्धिलाई बचाउन र मुलुकको समृद्धिका लागि अघि बढ्नु त्योभन्दा धेरै चुनौतीपूर्ण छ ।
नवौं महाधिवेशनमा नीतिगत सवालमा सहमति भए पनि नेतृत्वको विषयमा तीव्र प्रतिस्पर्धा भयो । महाधिवेशनको मतपत्रमै दुईवटा प्यानलको लिस्टअनुसार मतदानमा जानु गम्भीर गल्ती थियो । तर, नेकपा (एमाले) का कार्यकर्ताहरूको पार्टी, देश र जनताप्रतिको जिम्मेवारीबोध र परिपक्वताको कारणले नेतृत्व निर्माणमा मिश्रित परिणाम आयो । कुनै पनि महाधिवेशन या अधिवेशनहरूमा नेतृत्व छनोटको विषय अत्यन्त महत्त्वपूर्ण र जटिल काम हो । नीति जतिसुकै राम्रो पारित गरे पनि नेतृत्व छनोटमा गल्ती भयो भने राम्रो नीति दस्तावेजका पानाहरूमा सीमित हुन्छ । सही नीतिलाई जनताको जीवनमा लागू गर्ने मुख्य संयन्त्र नेतृत्व नै हो । महाधिवेशनमा कुनै पनि व्यक्तिलाई आग्रह, पूर्वाग्रह र हल्लाको भरमा मतदान गर्न पुगियो भने अन्तत: त्यसले पार्टीलाई मात्र होइन, समग्र मुलुकलाई नै गम्भीर क्षति पुर्याउँछ । सम्बन्धित व्यक्तिको बारेमा राम्रो जानकारी प्राप्त नगरी केवल प्रचारबाजीलाई मात्र आधार बनाइयो भने ठूलो नोक्सान हुन्छ ।
नेकपा (एमाले) सही विचार, व्यवस्थित र व्यापक संगठनात्मक आधार भएको पार्टी हुनुका कारणले यो पार्टीका सामु विराट सम्भावनाहरू विद्यमान छन् । नेपालको राजनीतिमा नेपाली कांग्रेस बुर्जुवा सुधारवादको घेराबाट माथि उठ्न नसकेको र एनेकपा (माओवादी) वैचारिक रूपमा अत्यन्त अन्योलको अवस्थामा रहेकाले नेपाली विशेषताको लोकतान्त्रिक प्रणालीलाई अघि बढाउने सवालमा नेकपा (एमाले) ले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बलियो आधार देखिन्छ । जनताको बहुदलीय जनवाद, नेपाली विशेषताको लोकतन्त्र हो । यहाँ संसारका कुनै पनि मुलुकको लोकतन्त्रको नक्कल गर्न सक्ने अवस्था छैन । यदि नेकपा (एमाले) को नेतृत्वले गम्भीर ध्यान पुर्याउन सक्ने हो भने हाम्रो देश नेपाल आधुनिक युगको लोकतन्त्रको उन्नत नमुना बन्न सक्ने आधारहरू छन् । विगतमा कुनै बेला जनताको बहुदलीय जनवाद प्रचारात्मक नारा थियो तर यतिबेला यो कारबाहीको विषय बनेको छ । जबजले नेपाली विशेषता अनुसार जनवादी कार्यक्रमको चरणलाई तीनवटा उपचरणमा विभाजित गरेको छ ।
जनवादलाई सुदृढ गर्ने उपचरण तुलनात्मक रूपले दीर्घकालीन हुन्छ । यो उपचरणको कालमा नै समाजवादका लागि बलियो आधार निर्माण हुन्छ । यो उपचरणपछि मात्र समाजवादमा संक्रमणको तेस्रो उपचरण सुरु हुनेछ । यो अवधिमा नेपाली समाजमा उत्पादक शक्तिहरूको प्रयाप्त विकास गर्नुपर्ने आवश्यकता छ । त्यसमध्ये योग्य, सचेत र सक्षम जनशक्ति पनि एउटा महत्त्वपूर्ण पक्ष हो । नेपालमा वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने काम नेकपा (एमाले) को नेतृत्वमा मात्रै सम्भव छ ।
नेकपा (एमाले) र मुलुककै सामु अहिले तीनवटा महत्त्वपूर्ण कार्यभारहरू देखापरेका छन् । पहिलो, नयाँ संविधान निर्माणको काम, दोस्रो स्थानीय निकायको निर्वाचन र तेस्रो आगामी संसद्को निर्वाचन । उपर्युक्त तीनवटा महत्त्वपूर्ण काममा नेकपा (एमाले) को भूमिका कस्तो हुन्छ ? त्यसैमा यो पार्टीको भविष्य निर्धारण हुनेछ । संविधान निर्माणको काम एमालेको मात्र नभएर अन्य प्रमुख राजनीतिक पार्टीको पनि उत्तिकै जिम्मेवारीको काम हो ।
तर, स्थानीय निकाय र संसद्को निर्वाचन, पार्टीहरूबीच तीव्र प्रतिस्पर्धाको आधारमा परिणाम प्राप्त गर्न सकिने कठिन काम हो । आगामी स्थानीय निकायको निर्वाचनमा जुन पार्टीले राम्रो सफलता प्राप्त गर्न सक्छ, संसदीय निर्वाचनमा त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ ।
नेकपा (एमाले)का नेताहरूले आफ्नो पार्टीको नेतृत्व गरेर मात्र पुग्दैन, सिंगो मुलुकको नेतृत्व गर्न सक्नुपर्छ । जनअभिमतको आधारमा पहिलो शक्ति हुन सकेको अवस्थामा मात्र नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ । ठूलो जनमत प्राप्त नभइकन नेतृत्वको दाबी गर्न सकिँदैन । अहिलेको अवस्थामा विविध कारणले यदि नेकपा (एमाले) पहिलो शक्ति हुन सकेन भने नेपाली कांग्रेस अघि बढ्नेछ । फेरि पनि उसकै नेतृत्वमा सरकार बन्नेछ । यसरी अबको निर्वाचन पँुजीवादी शक्ति अगाडि आउने कि समाजवादी शक्ति नेतृत्वमा आउने ? नेपालको भावी राजनीतिमा यो गम्भीर दीर्घकालीन महत्त्वको विषय छ । नेकपा (एमाले) बहुमत या पहिलो शक्तिको रूपमा आउन सक्यो भने मात्र उसले आफ्नो नीति तथा कार्यक्रम लागू गर्न सक्छ । नेकपा (एमाले) को नवांै महाधिवेशनमा तलको वार्ड कमिटीदेखि केन्द्रीय कमिटीसम्म पार्टी पूरै दुईवटा प्यानलमा बाँडियो । महाधिवेशनमा १४ जना पदाधिकारीहरूले प्राप्त गरेको मत परिणाम हेर्दा दुवै पक्ष बराबरीको अवस्थामा रहेको पुष्टि हुन्छ । महाधिवेशनका प्रतिनिधिहरूले जुन किसिमले मत दिएका छन्, त्यसको सम्मान गर्ने कि नगर्ने ? त्यो मतले दिएको अनुमतिलाई गम्भीर रूपले बुझ्ने कि नबुझ्ने ? पार्टीलाई कुनै पनि हालतमा एकताबद्ध बनाएर अघि बढ्नुपर्छ भन्ने महाधिवेशनका प्रतिनिधिहरूको सचेत र स्पष्ट अभिमत हो । जसले पार्टीलाई एकपक्षीय रूपमा अघि बढाउन खोज्छ, उसले तलका कार्यकर्ताको पवित्र भावनाको अपमान गरेको ठहर्छ । लामो समयको कठोर संघर्ष र तमाम सहिदहरूको बलिदानको जगमा निर्माण भएको यो शक्तिलाई देश र जनताको सेवाका लागि प्रयोग गर्ने कि आफ्नो व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ र महत्त्वाकांक्षा पूरा गर्ने हतियारको रूपमा उपयोग गर्ने ? यी दुई बिल्कुलै विपरीत प्रवृत्तिहरू हुन् । पहिलो प्रवृत्तिले यो मुलुकलाई समाजवादको दिशामा अघि बढाउँछ भने दोस्रो प्रवृत्तिले यो पार्टीलाई अन्तत: पुँजीवादी पार्टीको रूपमा पतन गराउनेछ ।
सफल नेता त्यो हो, जसले पार्टीभित्रको अन्तरविरोधलाई ठीक किसिमले समाधान गर्न सक्छ । महान् नेता त्यो हो जसले अफ्नो पार्टीको साथै सिंगो नेपाली समाजका अन्तरविरोध समाधान गरेर मुलुकलाई अघि बढाउन सक्छ । पार्टी चलाउनु भनेको सारमा त्यहाँभित्रका समस्यालाई हल गर्दै जानु हो । हिजो कोही गुटको नेता थियो भने पनि उसले आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ । जो यथास्थितिमा रहन्छ उसले प्रगति गर्न सक्दैन, रूपान्तरण हुन सक्नेले मात्र आफ्नो र मुलुकको विकास गर्न सक्छ ।
पार्टीभित्रको समूहगत अन्तरविरोध निषेधबाट होइन, सहमतिबाट मात्रै समाधान हुन्छ । त्यसमा पनि नवौं महाधिवेशनको समयको दुई समूहको बराबरीको स्थितिले दुवै पक्ष आपसमा मिलेर अघि बढ्नुको विकल्प छैन । कतिपय व्यक्तिहरू समूहगत स्थितिलाई कायमै राखेर त्यसबाट आफ्नो निहित स्वार्थ पूरा गर्न चाहन्छन् । त्यस किसिमका व्यक्तिहरूको भूमिका ध्वंसात्मक र विभाजनकारी हुन्छ । नेतृत्वले यो विषयलाई गम्भीर रूपमा लिनुपर्छ । एकताबिना आगामी कुनै पनि प्रतिस्पर्धामा विजय प्राप्त गर्न सकिँदैन । एकताबद्ध हँुदा जित्नु अनिवार्य छ भने यो अन्तरविरोध कायमै रहे हार्नु पनि उत्तिकै अनिवार्य छ । यो वास्तविकतालाई ठीक किसिमले बुझ्न सक्नुपर्छ ।
वर्तमान नेतृत्वको सफलता र असफलता पार्टीलाई एकताबद्ध पार्न सक्ने कि नसक्ने भन्ने विषयसँग सम्बन्धित छ । एकताबद्ध पार्न सके यो नेतृत्व सफल हुन्छ, नसके असफल हुनु अनिवार्य छ । नेतृत्वले पार्टी बलियो बनाउने कि गुट बलियो बनाउने ? गम्भीर प्रश्न छ । गुट बलियो बनाउने बाटोमा लाग्ने हो भने पार्टी कमजोर हुनेछ । गुटको मात्र नेता हुने हो भने पार्टीको नेता हुन सकिँदैन । महाधिवेशनको बेलाको समूहबद्धतालाई तोड्नैपर्छ तर त्यसको अगुवाइ मूलत: पार्टी अध्यक्षले गर्नुपर्छ । नेतृत्वले नै गुट बलियो बनाउन लाग्ने हो भने अर्काे पक्ष संगठित हुन थाल्नेछ र तमाम असन्तुष्टि र अन्तरविरोधलाई उपयोग गर्दै आफ्नो शक्ति सुदृढ गर्न लाग्नेछ । त्यसैले मुख्य ठाउँबाटै गुटबन्दी अन्त्यको पहल गर्नुपर्छ ।
महाधिवेशनले नीति र नेतृत्वको फैसला गरिसकेको छ । अब त्यसलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रित हुनुपर्छ । आगामी केन्द्रीय कमिटीको बैठक अबको पार्टी जीवनमा सबैभन्दा महत्त्वूर्ण छ । राम्रो किसिमको गृहकार्य र नेतृत्वको बीचमा सहमति कायम गरेर केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुन सके त्यसले तलको पंक्तिलाई समेत एकताबद्ध पार्नेछ । केन्द्रीय कमिटीका सदस्यहरूको उचित किसिमको कार्य विभाजन, स्थायी कमिटी र पोलिटब्युरोको गठन, केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय प्रतिनिधि परिषद्, अञ्चल समन्वय कमिटी र केन्द्रीय विभागहरूको गठन गर्दा उचित किसिमको निर्णय गर्न सकियो भने पार्टी एकताबद्ध हुनेछ । पूर्वाग्रहको आधारमा एउटा महत्त्वपूर्ण पंक्तिलाई पाखा पारियो भने ती सबै आपसमा अलग्गै संगठित हुने र विद्रोहको झन्डा उठाउन थाल्नेछन् । त्यसैले अत्यन्त बुद्धिमानीपूर्ण तरिकाले यो समस्याको समाधान खोज्नुपर्छ ।
पार्टीभित्र देश र जनताको चिन्ता लिएर त्यसका लागि समर्पित एउटा महत्त्वपूर्ण पंक्ति क्रियाशील छ भने अर्काेतिर पार्टीको शक्तिलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । दोस्रो पंक्ति बढ्दै जानु भनेको पार्टी अन्तत: विघटन भएर समाप्त हुनु हो । पहिलो पंक्ति बढ्दै गयो भने मात्र यो पार्टीले देश र जनताको सेवामा योगदान पुर्याउन सक्छ ।
पार्टीभित्र आफ्ना आलोचकहरूलाई निषेध गर्ने तरिका अपनाउने कि उनीहरूलाई पनि समेटेर अघि बढ्ने ? निषेध गर्ने तरिका ‘माओवादी’ तरिका हो भने सहमतिका साथ अघि बढ्ने तरिका जनताको बहुदलीय जनवादी तरिका हो । पार्टीमा एक्लै निर्णय गरेर अघि बढ्ने कि सामूहिक निर्णयका आधारमा अघि बढ्ने ? एक्लै अघि बढ्ने तरिका पञ्चायती तरिका हो भने सामूहिक निर्णयका आधारमा अघि बढ्ने कम्युनिस्ट तरिका हो । नेतृत्व कस्तो तरिकाबाट अघि बढ्न चाहन्छ, त्यसैमा पार्टीको भविष्य निर्भर छ । केही दिनअघि विभिन्न जिल्लामा सुकुम्बासी समस्या समाधान आयोग बनाइयो । संसद्का समितिका सभापतिहरू बनाइयो । आठ जना सभासद्को सिफारिस गरियो । यी कामहरू गर्दा सहमति र सामूहिक निर्णयलाई ठाडै लत्याउने गम्भीर गल्ती भयो । नियुक्ति पाएका व्यक्तिहरूका बारेमा केही भन्नु छैन तर परिपाटी कस्तो
बसाउने ? यो अत्यन्त गम्भीर विषय हो । उपर्युक्त घटनाले पार्टी पंक्तिभित्र पार्टी नेतृत्वको कार्यशैलीबारे व्यापक आशंका उत्पन्न भएको छ । विगतमा राजा र माओवादीको डन्डाबाट नडराएका कार्यकर्ताहरू नेतृत्वको डन्डाबाट किमार्थ डराउँदैनन् । यो कुरा सबैले बुझ्नु जरुरी छ । गुटगत स्वार्थ छाडौं । पार्टी बलियो बनाऔं । समयमै संविधान बनाऔं र देश बनाऔं । तब मात्र यतिका वर्ष कम्युनिस्ट पार्टीमा लागेको सार्थकता शिद्ध हुनेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply