अनुवाद बुझाउन सक्षम

एक जना विद्वान्ले भनेका छन्– ‘यदि मैले जानेका कुरा लेखिन भने पछि म त्यो कुरा सम्झन सक्छु ?’ तसर्थ, लेखन कला हो, साधना हो अथवा भनौं यो एक तपस्या हो । यो तपस्याको मठलाई आत्मसात् गरी ज्ञानमय पुष्पार्पण गर्न सक्ने बिरलै साधुमध्येका एक हुन्, बलराम अधिकारी । ‘अनुवाद : सिद्धान्त र प्रयोग’ अधिकारीद्वारा सिर्जित लेखनको उत्कृष्ट उदाहरण र कलाको बेजोड नमुना हो ।
उक्त पुस्तकलाई अधिकारीको भगीरथ तपस्याको प्रतिफल मान्न सकिन्छ । अनुवादलाई कला र लेखनलाई कलाको जीवन्तता प्रस्तुत गरिएको यो कृति विशेष गरी लेखनको वैज्ञानिकता र स्तरीयताको उपज हो । अनुवाद जस्तो भाषा सिकाइको पाँचौं सीपलाई अनुवादक तथा अनुसर्जकका लागि सिद्धान्त र यसको प्रयोगबीचको सेतुका रूपमा अर्पण गरिएको अनुपम कृति हो । अनुवाद जस्तो कलात्मक विधालाई यसको सृजना र ज्ञानको सम्मिश्रणको बीचमा प्रयोगगम्यतालाई आत्मसात् गराउन सक्नु यस कृतिको आफ्नो मौलिक परिचय हो । भाषाको स्तरीयता, विषयवस्तुको गहिराइ र विश्लेषणको अनुपम संयोगले सिँगारिएको उक्त कृति अनुवाद अध्ययनकर्ता, शोधकर्ता, अनुवादक र जोसुकै शिक्षित वर्गलाई लक्षित गरी सिर्जना गरिएको छ ।
प्रा.डा. गोविन्दराज भट्टराईद्वारा उत्कष्ट भनेर प्रशंसित सर्जक अधिकारीको अनुवादको लामो अनुभव र अनुवादसम्बन्धी गहन अध्ययनको उपज हो । अनुवादलाई आफ्नो कर्म मान्दै अनुवाद क्षेत्रमा झन्डै एक दशक बिताएका अधिकारीले यस कृतिका माध्यमबाट नेपाली वाङ्मयमा अनमोल पुस्तक रत्नको एक किस्सा थपेका छन् । दश अध्यायरूपी सुन्दर पुष्पले सजिएको यो कृति अध्ययन र अनुसन्धानकर्ताको पहिलो रोजाइको कृति हुन सक्छ, किनकि नेपाली भाषामा लेखिएको अनुवादको सिद्धान्त र प्रयोगको यो नै पहिलो कृति हो । मध्यम आकारको प्रस्तुत कृतिले प्रत्येक अध्यायमार्फत अनुवादका सिद्धान्त र उक्त सिद्धान्तको प्रत्यक्ष प्रयोग प्रस्तुत गरेको छ । अनुवादको परिभाषाबाट यस कृतिको द्वार खुल्दछ भने यसका प्रत्येक खण्डले अनुवाद के हो र यसका प्रचलित सिद्धान्तहरू के के हुन् भन्ने विषयमा अध्ययनकर्तालाई सैद्धान्तिक ज्ञान दिइरहन्छ । समसामयिक अनुवाद पद्धति, विधि र जुक्तिले अनुवादकर्तालाई एक सर्जकका रूपमा उभ्याउन यस कृतिले मद्दत गर्दछ । विभिन्न विद्वान् तथा विदुषीका सिद्धान्त र तिनको परिस्थितिजन्य प्रयोगले सिँगारिएको पुस्तकले अनुवाद संस्कृतिको जाज्वलेता प्रस्तुत गरेको छ ।
अनुवादको मर्म भाषिक, सांस्कृतिक, भौगोलिक र औपनिवेशिक समतुल्यतामा अडेको हुन्छ । जबसम्म विविध समतुल्यता कायम रहन्छ, तबसम्म संस्कृतिको स्थानान्तरण हुँदै भाषा, संस्कृति र कलाको जगेर्ना र विस्तार हुँदै जान्छ । तसर्थ, समतुल्यताको टड्कारो आवश्यकता पर्दछ अनुवादमा । यस कृतिका श्यामस्वेत पत्रहरूले अध्ययन तथा अनुसन्धानकर्ताहरूका लागि अनुवाद समतुल्यता, अनुवादात्मक अन्तराल र समतुल्यताका साथै अनुवादात्मक अन्तराल न्यूनीकरणका जुक्तिहरूलाई सउदाहरण प्रस्तुत गरेको छ । जसले हरेक अनुवाद समर्थक र अनुवादकलाई समतुल्य अनुवादक बन्ने बाटो खोलिदिएको छ । अनुवादका यी बाटाहरूले अनुवादका कार्य, सिद्धान्त र नियमका अधिनमा रही एक सफल, कुशल र कलात्मक अनुुसर्जक बन्न अद्योपर्यन्त सहयोग पुर्याउँछ ।
अधिकारीलिखित उक्त कृति त्रिपिटक प्रकाशनको ज्ञानरूपी प्रसाद हो । अनुसन्धानमूलक अनुवादमा भएको पहिलो नेपाली कृति, अनुवाद सिद्धान्तको प्रयोग र अनुवादका विविध विषयहरूका जीवन्त नमुनाको यस कृतिले अनुवाद समालोचना र मूल्यांकनका साथै अनुवाद अनुसन्धानलाई पनि समेटेको छ । अनुवाद जस्तो ज्ञानमय विधालाई समालोचना र मूल्याङ्कनसँग तुलना गरी संस्कृतिको परिचय र रूपान्तरण गराई अनुवादमा समाज परिवर्तनको बाटो देखाउने प्रयत्न गरेको छ यस कृतिले । साथै अनुवाद एक अनुसन्धान पनि हो । अनुवाद उत्पादन–उन्मुख र प्रक्रिया–उन्मुख पद्धति भएकाले अनुवादको अति उच्च विश्लेषणका साथै अनुवादकर्तालाई उत्कृष्ट अनुवाद गर्ने कला, संस्कृति र इतिहासको उत्थान र उत्खनन गर्न सघाउँछ कृतिले ।
नेपालको अनुवादमा भएको वर्तमान अवस्था, अनुवादको क्षेत्र र नेपाली साहित्यमा अनुवादको स्थानलाई प्रस्ट पार्दै अनुवाद र यसले खोलेका विकासका बाटाहरूलाई यस पुस्तकको सातौं अध्यायदेखि दशौं अध्यायसम्म स्पष्ट पारिएको छ । यस कृतिका प्रत्येक पृष्ठ र उदाहरणहरूलाई आत्मसात् गर्ने हो भने लाग्छ, अनुवाद नै यस्तो माध्यम हो, जसले व्यक्तिलाई विश्व र विश्वलाई व्यक्तिसामु चिनाइदिन्छ । तसर्थ लाग्छ, अनुवाद नभएको भए बिरलै नेपाली सिकारुले लियो टोल्सटाय, अन्तोन चेकोव आदिका अमर कृति पढ्ने अवसर पाउने थिए, चिन्ने थिए, रवीन्द्रनाथ टैगोरले सायदै नोबेल पुरस्कार पाउने थिए भने पारिजातको शिरीषको फूल समुद्रपारिका देशमा मगमगाउने थिएन । यस अर्थमा लेखक र लेखनको पर्याय नै अनुवादक र अनुवाद हो । कला र साहित्यको विकास, मौलिकताको पहिचान र सभ्यताको प्रचार अनुवादबाट मात्रै सम्भव छ भन्नु अतियुक्त किमार्थ हुँदैन ।
अनुवादको परिचय, परिभाषा र इतिहासलाई केलाउँदै नेपाली र अङ्ग्रेजीमा प्रयोग हुने विशेष शब्दावलीहरूको अनुवाद पनि यस पुस्तकमा पाइन्छ । साहित्यिक अनुवादका लागि प्रदान गरिने पुरस्कार, अनुवादक चार्टर र अनुवाद सिद्धान्तविद्हरूको छोटो जीवनगाथाका साथै उनका कृतिहरू र योगदानहरूले सिँगारिएको यस कृतिमा एघार वटा तालिका र बाह्रवटा रेखाचित्र सूची छन् । डा. भट्टराईका शब्द गुच्छाबाट शुभकृत कृति डा. भट्टराइकै जीवनगाथा बुन्दै उनका अनुवादमा गरिएका कृतिहरूको नाम सूचीसँगै यो पुस्तक समाप्त भएको र्छ । लेखनमा स्तरीयताका साथै भाषामा उत्तरित उपयुक्त अर्थ र वैज्ञानिकतापूर्ण विश्लेषणको बोधगम्यता पाइन्छ । तथापि पुस्तकको उत्तरार्ध खण्ड सम्पादनको अभावले पिल्सिएको छ । अनुवादको एक इतिहास बोकेको यो कृति त्रिभुवन विश्वविद्यालय र यसको आंगिक क्याम्पसमा भएका शोधपत्रहरूको सूची सँगाली विद्यार्थीमुखी बनाइएको भान हुन्छ । लेखन, सीप, कला र अनुवादको बेजोड नमुना बोकेको प्रस्तुत कृति पूर्ण पुस्तक भए तापनि पुस्तकको मौलिकता, लेखकको सृजनात्मक कला र प्रस्तुतिको सीपको स्थान रिक्त भएको आभास पाइनु कुनै नौलो कुरा होइन ।
One response to “अनुवाद बुझाउन सक्षम”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
सारै राम्रो अनुवाद पुस्तक रहेछ। अनुवादमा यस्ता अनेक पुस्तकको खाँचो छ।