सबै क्यासिनो बन्द भएपछि मजदुरलाई ८२ करोड तिर्न बाँकी
काठमाडौं । विगत आठ महिनादेखि क्यासिनोहरू बन्द भएका कारण करिब ६ हजारभन्दा बढी मजदुर बेरोजगार हुन पुगेका छन् । सरकारले क्यासिनो सञ्चालनसम्बन्धी नियमावलीमा केही कडाइ गरेपछि वर्षौदेखि सञ्चालित क्यासिनो एक्कासि बन्द भएका हुन् । क्यासिनो बन्द भएपछि मजदुरले पाउँदै आइरहेका सेवा सुविधाहरू पाइरहेका छैनन् भने उनीहरूको रोजगारी पनि धरापमा परेको छ ।
परिवर्तित नियमावलीमा हेरफेर नगरी हुबहु लागू गरिए कुनै पनि हालतमा क्यासिनो सञ्चालन गर्न नसकिने भन्दै २०७१ वैशाखबाट क्यासिनो सञ्चालकहरूले क्यासिनो बन्द गरेका हुन् । त्यसयता बन्द क्यासिनो खुलाउने र कार्यरत मजदुरको श्रम ऐन अनुसार पाउने सेवा सुविधा दिनेतिर पनि सम्बन्धित निकायहरूले ध्यान दिएको पाइँदैन । मजदुरहरूले सञ्चयकोष, कल्याणकारी कोष, स्वास्थ्य बिमा, तलब, उपदानलगायत गरी करोडौं रकम पाउनुपर्ने देखिएको छ ।
नेपालमा क्यासिनोको इतिहास लामो रहेको छ । अहिले बन्द भइरहेका क्यासिनो ४७ वर्षदेखि चलिरहेका हुन् । तर, कुनै समय सापेक्षित नियम नहुँदा तिनीहरू जुवा ऐन २०२० अनुसार सञ्चालित हुँदै
आएका छन् ।
परिमार्जित नियमावली लागू गर्दा कुनै पनि क्यासिनो चलाउन नसक्ने ठहर गर्दै सञ्चालकहरूले क्यासिनो बन्द गराएका हुन् । क्यासिनो बन्द भएपछि त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाइरहेका झन्डै ६ हजार मजदुर बेरोजगार भएका छन् । त्यति मात्रै होइन, एकैचोटी क्यासिनो बन्द हँुदा मजदुरहरूले श्रम ऐन अनुसारको सेवा सुविधा दिएर मात्र बन्द गर्नुपर्ने मजदुर संगठनको माग रहेको छ ।
नयाँ नियमावलीमा कडा रूपमा आर्थिक सर्त राखिएको छ । क्यासिनो सञ्चालनबापतको दस्तुर वार्षिक २ करोड, नवीकरण निवेदन शुल्क ५ लाख र हरेक क्यासिनोले एकमुष्ट २५ लाख रुपियाँ धरौटी बुझाउनुपर्ने प्रावधान रहेको छ । यस्तो प्रावधान कायमै रहे चल्नै नसक्ने भएपछि बन्द गर्नुको विकल्प नरहेको सञ्चालकहरू बताउँछन् ।
नेपालमा क्यासिनो माजोङ, रोयल, अन्ना, र्याड, सांग्रिला, भेनस, स्टार, एभरेष्ट, ग्रान्ड र फूलबारी गरी १० वटा क्यासिनो सञ्चालित हुँदै आएका थिए भने पछिल्ला समय क्यासिनो बन्द भएपछि काठमाडौं बाहिरका मुख्य सहरी क्षेत्रमा मिनी क्यासिनो खुबै फस्टाएको पाइन्छ ।
पछिल्लो तथ्यांकअनुसार क्यासिनो माझोङमा ८ सय, सांग्रिलामा ४ सय ५०, एभरेष्टमा ६ सय, स्टारमा ५ सय ५०, भेनसमा ५ सय, र्याडमा ६ सय, रोयलमा ७ सय २७, फूलबारीमा १ सय २५, अन्नामा ९ सय र पोखरा ग्रान्डमा २ सय २५ मजदुर कार्यरत थिए ।
यसअघि नेपाल रिक्रियसन सेन्टरले सञ्चालन गर्दै आएको क्यासिनो ताराले राज्यलाई २६ करोड तिर्न बाँकी छ । तर, कर्मचारीको भने सबै चुक्ता गरिसकेको बताइन्छ । माजोङको नाममा सञ्चालन भएपछि भने मजदुरले त्यसयताको १ करोड रुपियाँ पाउन बाँकी छ । सांग्रिला क्यासिनोले पहिले नै तालबन्दी गरी कर्मचारी निकालेको थियो भने सो अवधि समेत गणना गर्दा तलब भत्ता ६ करोड र १० महिनाको सञ्चय कोष ६० लाख गरी ६ करोड ६० लाख मजदुरलाई तिर्न बाँकी छ । यता, एभरेष्टले मजदुरको तलब भत्ताबापत २३ करोड १७ लाख ९१ हजार, स्टारले ५ करोड ६४ लाख २५ हजार, भेनसले ६ करोड १ लाख २५ हजार, र्याडले १२ करोड ६८ लाख, रोयलले ५ करोड, अन्नाले २० करोड २६ लाख २४ हजार र पोखरा ग्रान्डले १ करोड २५ लाख मजदुरलाई तिर्न बाँकी छ । फूलबारीले पनि केहीलाई बक्यौता दिएर बन्द गरे पनि केहीलाई तलब भत्ता र अन्य सुविधा नदिई बिदा गरेकाले मुद्दा चलिरहेको छ । यी सबै जोड्दा अहिले क्यासिनोबाट मजदुरले पाउनुपर्ने रकम ८२ करोड रुपियाँ
हुने देखिन्छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply