कहिले बुझ्छ प्रचण्डको चित्त ?

नानीदेखि लागेको बानी कसै गरे पनि जाँदैन भनेझैं एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल संसद्भित्र आएर प्रधानमन्त्री भइसके पनि ‘रगत बगाउने’ र ‘ठोक्ने’ कुरा गर्न छोड्दैनन् । जिउँदै पुर्ने, निहत्थाको घाँटी रेट्ने र घरभित्र थुनेर जिउँदै मान्छे जलाउने गतिविधि गरेका प्रचण्डले अहिले संविधानसभाभित्र मुठभेड हुने सम्भावना छ भनेर भाषण गर्न थालेका छन् । त्यति मात्र होइन, उनले आफूले नेतृत्व गरेको प्रतिपक्षी मोर्चाको बैठकमा दुई तिहाइबाट संविधान ल्याउन खोजे रक्तपात मच्चाउने भाषणसमेत गर्न बाँकी राखेनन् ।
संविधानसभा वा संसद्मा जनताले पठाएका प्रतिनिधिहरूले तर्क र बहसमा आफ्नो श्रेष्ठता देखाउने हो । बौद्धिकता र तथ्यका आधारमा आफ्ना विचारलाई प्रभावकारी ढंगले राख्ने हो र सहमति हुन नसकेको अवस्थामा मतदानको प्रक्रियाद्वारा विषयहरूलाई टुंग्याउने हो ।
एमाले–कांग्रेस र अन्य दलहरू समेत गरेर अहिले दुई तिहाइभन्दा बढी सभासद्हरू एमाओवादीका विचारका विपक्षमा छन् । तर, प्रचण्ड भने टाउको गनेर संविधान बनाउन पाइँदैन, बनाउन खोजे संविधानसभाभित्रै मुठभेड हुन्छ र रक्तपात मच्चिन्छ भन्नेर धम्की दिन्छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा जाँदा यिनै प्रचण्डले भनेजस्तो संविधान बनाउन पाइएन, त्यसकारण एमाओवादीलाई दुई तिहाई बहुमत दिनुहोस् भनेर जनतासँग मत मागेका थिए । साथै, त्यतिबेला उनले सहमति नभएको खण्डमा मतदानका प्रक्रियाबाट संविधान बनाउने भीष्मप्रतिज्ञा पनि गरेका थिए । जनताले उनलाई पहिलोबाट झारेर तेस्रो पार्टी बनाइदिए । उनले दुई तिहाइ पाएको भए के उनी सहमति कुरेर बस्थे ? निश्चित छ, बस्दैनथे । तर, आज एमाले र कांग्रेसले दुई तिहाइबाट संविधान बनाउँछौं भन्दा पाइँदैन भनेर उफ्रँदैछन् ।
एमाओवादीले एमाले र कांग्रेस त दुई तिहाइ मत सुनिश्चित भएको हुँदा शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले विषय टुंगियोस् भन्ने चाहन्छन् । मतदानको प्रक्रिया रोकेर संविधान बन्न नदिने खेलमा प्रचण्ड, बाबुराम भट्टराई र ‘मधेसी’ दलका नेताहरू छन् । उनीहरू मतदान प्रक्रियालाई बलजफ्ती रोक्ने र संविधान बन्न नदिने दाउमा छन् । त्यसैले संविधानसभामा बल प्रयोगमार्फत् मुठभेड निम्त्याउने र बाहिर जातीय–क्षेत्रीय नारा उरालेर जनता–जनताबीच रक्तपात मच्चाउने प्रपञ्च प्रचण्डले रचिरहेका छन् । कथित दसबर्से जनयुद्धमा १५ हजारभन्दा बढी नेपाली नागरिकको हत्या र हजारौं परिवारको बेहाल हुँदा पनि अझै प्रचण्डको चित्त बुझेको रहेनछ । यिनलाई जनताको आँसुले छुँदोरहेनछ, पोल्दोरहेनछ । यिनलाई त नेपालीमा छोराछोरी आफ्नो सत्ता पाउने लोभका लागि बली दिँदा आनन्द आउँदोरहेछ ।
जनताको गरिबी, निराशा र पीडाप्रति यिनलाई कुनै चिन्ता छैन । नक्कली लडाकुहरूका नाममा जम्मा गरेको अर्बौं रुपियाँ यिनले आफ्नो र परिवारको सुख सयलमा खर्च गरिरहेका छन् । क्रान्तिको नाममा हिजो आफ्नो जीवन र जवानी सुम्पिएका लडाकुहरू गरिबी र पीडामा जीवन गुजार्न विवश छन् । यिनलाई तिनको पनि चिन्ता छैन । मुलुकको राष्ट्रियता, स्वाभिमान र भविष्यको पनि कुनै चिन्ता छैन । चिन्ता छ त केवल कुर्सीको । त्यसैले प्रचण्ड केही नलाग्ने भएपछि धम्की र घुर्कीको सहारा लिएर आफूले भने जस्तो संविधान बनाउने, नभए बन्नै नदिने, संविधानसभामा मारमुङ्ग्री मच्चाउने र सडकमा रक्तपात गराउने सुरमा छन् । मुलुकको प्रधानमन्त्री भइसकेको प्रचण्डको यो ‘रक्तपिपाशु’ चोला र अलोकतान्त्रिक ताण्डव नृत्य नेपाली राजनीतिको विभत्स दृश्य बनेको छ । यस्तो दृश्य जसलाई हेर्न जनता पटक्कै चाहँदैनन् तर हेर्नैपर्ने बाध्यता पनि छ । यस्तो अवस्थामा कांग्रेस र एमालेले खुट्टा कमाउने होइन, दह्रो भएर खुट्टा टेक्नुपर्छ । प्रचण्डका धम्की, घुर्की र बन्दजस्ता अराजक र अलोकतान्त्रिक व्यवहारको जवाफ लोकतान्त्रिक तरिकाले दिने हो र लोकतान्त्रिक संविधानको पक्षमा दृढतापूर्वक अडिने हो ।
परीक्षा यतिबेला प्रचण्डको मात्र होइन, एमाले र कांग्रेस पार्टीको समेत भइरहेको छ । संविधानसभामा दुई तिहाईभन्दा बढी मत आफ्नो पक्षमा हुँदा पनि एमाले र कांग्रेसले लोकतान्त्रिक संविधान बनाउन सक्दैनन् भने फेरि कहिले बनाउँछन् ? यतिबेला कुनै पनि विदेशी दबाब र प्रभावमा नपरी कांग्रेस र एमालेको नेतृत्वले केवल देश र जनताको हितलाई ध्यानमा राखेर चल्नुपर्छ । सहमतिका नाममा देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय निर्णय क्षमतालाई नकारात्मक प्रभाव पार्ने कुनै सम्झौता एमाओवादी र मधेसी दलहरूसँग गर्नु आवश्यक छैन । यतिबेला नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेतृत्वका अन्य नेताहरूले वार्तामा लिएको अडानलाई देशभक्त र लोकतान्त्रिक नेपालीहरूले आमरूपमा रुचाएका छन् । आफ्नो अडानबाट नेकपा (एमाले) पछि हट्नु हुँदैन ।
यतिबेला नेपाली कांग्रेसको नेतृत्व सत्ता स्वार्थका कारणले होला, दह्रो अडानका साथ प्रस्तुत हुन सकिरहेको छैन । प्रचण्डले सुशील कोइरालाको कानमा कुनै मीठो प्रस्ताव हालिदिएका हुनसक्छ । त्यही भएर प्रधानमन्त्री सुशील कोइराला सबैले जित्ने संविधान बनाऊँ, सबै ‘विन–विन’ हुने अवस्था बनाऊँ भन्ने बीचको र अस्पष्ट कुरा बोल्छन् । वास्तवमा यतिबेला सबैभन्दा दह्रो अडान त प्रधानमन्त्री कोइरालाले लिनुपर्ने हो । तर, उनी विचार, नीति, राजनीति र अडानविहीन नेताका रूपमा देखिन थालेको कारणले गर्दा पनि प्रचण्डले खेल्ने मौका पाएका हुन् । प्रचण्डको यो खेललाई कांग्रेस र एमालेका नेताहरूले राम्ररी बुझ्नु र त्यसलाई पराजित गर्नु आवश्यक छ ।
नेपाली जनतालाई एकथान संविधान चाहिएको होइन, लोकतान्त्रिक संविधान चाहिएको हो । जातीय र क्षेत्रीय द्वन्द्व बढाउने होइन, राष्ट्रिय एकता बलियो पार्ने संविधान चाहिएको हो । एमाओवादी जालझेल र समयमा संविधान बन्न नदिने षड्यन्त्रले गर्दा माघ ८ मा संविधान आउने सम्भावना त सक्किइ नै सक्यो । त्यसैले छिटोभन्दा छिटो संविधान ल्याउन अब वार्तामा धेरै अलमलिन जरुरी छैन ।
एमाओवादी सहमत भए पनि नभए पनि संविधान बनाउन प्रक्रियामा जानैपर्छ । त्यसो हुँदा किन ढिलो गर्ने ? प्रचण्डले पनि उनको दललाई जनताले जनादेश वा मनोदशा नदिएको तथ्यलाई बुझ्नुपर्छ र आफ्नो ‘रक्तपिपाशु’ प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ । नेपाली जनताको रगत नेपालको स्वाधीनता रक्षाका लागि बग्नुपर्छ, प्रचण्डको सत्तास्वार्थका लागि होइन । प्रचण्डले नेत्रविक्रम चन्दको पछि लागेर भूमिगत हुने बाटो रोज्ने होइन भने लोकतन्त्रबाहेक उनको लागि पनि अर्को कुनै बाटो छैन । त्यसैले लोकतन्त्रलाई स्वीकार गर्नु र आफ्नो र पार्टीको लोकतान्त्रिकरण गर्नु उनको पहिलो कर्तव्य हो । लोकतन्त्रमा अल्पमत/बहुमत हुन्छ र निर्णय बहुमतकै लागू हुन्छ । लोकतन्त्र विधि र प्रक्रियाअनुसारै चल्छ । त्यसैले लोकतन्त्रलाई मान्ने हो भने प्रचण्डले आफू अल्पमतमा रहेको तथ्यलाई स्वीकार गरेर विधि प्रक्रिया मान्दै आफ्ना विचारलाई सुरक्षित राख्नुपर्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
-
निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
-
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply