प्रहरीमा देखिएका समस्या र समाधानका उपाय
लोकतन्त्र संस्थागत भएको जुनसुकै मुलुकमा पनि नागरिक सुरक्षाको प्रमुख जिम्मेवारी प्रहरी संगठनले निर्वाह गर्दछ । त्यसैले भनिन्छ कि चाड पर्व, बिदा अनि बारको हिसाब नगरिकन अहोरात्र खटिने प्रहरी कर्मचारीको सक्रियताले आम मानिसको जीवनमा चैनको निन्द्राको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो मुलुकमा पनि सीमित स्रोत र साधनको बाध्यता झेल्दै, आवश्यकभन्दा न्यून जनशक्तिको यथार्थसँग पांैठेजोरी खेल्दै भए पनि नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षालाई प्रभावकारी राख्न आवश्यक भूमिका निर्वाह गर्दै आएको छ । त्यस अर्थमा प्रहरी संगठनका सम्पूर्ण सदस्य धन्यवादका पात्र छन् । तर, प्रहरी संगठनको कामलाई समग्रमा मूल्यांकन गरेर यसका सदस्यहरूलाई धन्यवाद व्यक्त गरिरहँदा यसभित्रका विकृति, विसंगति र यसले झेलिरहेका समस्याहरूलाई नजरअन्दाज गर्न, संगठनको सञ्चालनको दौरान देखिने र देखिएका पक्षपात र अव्यवस्थापनलाई सम्बोधन नगर्ने गल्ती गरिनु हँुदैन । सेना, प्रहरी जस्तो फौजी संगठनका प्रत्येक सदस्यको मनोबल उँचो रहँदा मात्रै उक्त संगठनहरूले अपेक्षित सफलता हासिल गर्न सक्दछन् । अनि त्यसो हुनका निम्ति संगठनको सञ्चालन योग्यता, क्षमताको विकास गर्ने अवसर सबैले पाउने कुराको ग्यारेन्टी र योग्यता, क्षमताको प्रयोगमा देखिने निष्पक्षतामा निर्भर गर्छ । तर, के हाम्रो मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेर बसेको नेपाल प्रहरीको सञ्चालन उल्लिखित सिद्धान्तको आधारमा भएको छ त ? कसैलाई प्रिय लागे पनि नलागे पनि बिनाझिझक भन्नैपर्छ कि नेपाल प्रहरी विगतदेखि अहिलेसम्म तारिफयोग्य ढंगले सञ्चालन भएको छैन । समय–समयमा कोसिस नभएका हैनन् तर कोसिसले सार्थकता पाउन सकेको छैन । त्यसैले जुन उच्च मनोबल हुनुपर्ने हो त्यो तहको मनोबल प्रहरी संगठनमा छैन । अब त्यसलाई बदल्नु आवश्यक छ र त्यसका निम्ति केही महत्त्वपूर्ण विषयमा यसका हर्ताकर्ताहरू तयार हुनैपर्छ ।
प्रहरी संगठन अपेक्षाकृत राम्रो हुनका निम्ति यसको भर्ना निष्पक्ष हुनु आवश्यक हुन्छ । विगतमा यसको भर्नामा हुने गरेको धाँधली र पक्षपात यस संगठनको भर्ना प्रक्रियामा लोकसेवा आयोगको संलग्नतासँगै क्रमश: कम हुँदै गएको देखिन्छ । जुन अत्यन्त सकारात्मक पक्ष हो तर अझै पनि चलखेलका सबै सम्भावना समाप्त भने भइसकेको छैन किनकि भर्ना छनोटको लिखित परीक्षामा मात्रै लोकसेवा आयोगको महत्त्वपूर्ण भूमिका हुन्छ, यसको सबै प्रक्रियामा लोकसेवा जस्तो स्वतन्त्र र सम्मानित निकायको भूमिका बढाउँदै लाने काम गर्नु आवश्यक छ । त्यसभन्दा पनि ज्यादा सुधार हुँदै गएको भर्ना छनोटले चलखेलयुक्त भर्ना प्रक्रियाबाट लाभान्वित हुने गरेको तप्काको मनमा पक्कै अशान्ति पैदा गरेको र उनीहरू विभिन्न बहानामा फेरि सक्रिय हुने र भर्ना छनोट प्रक्रियालाई फेरि पुरानै पद्धतिमा फर्काउने सम्भावनासमेत रहन्छ । त्यसप्रति हामी नागरिकको निरन्तर खबरदारीको आवश्यकता छ । निष्पक्ष भर्ना छनोटपश्चात प्रहरी कर्मचारीको मनोबल उँचो राख्न आवश्यक अर्काे महत्त्वपूर्ण पक्ष भनेको उनीहरू र उनीहरूको परिवारको जीवनयापनलाई सहज हुने हिसाबको सेवा सुविधा । अत्यन्त दु:खका साथ भन्नुपर्छ अहिले प्रहरी कर्मचारीले पाउने तलब, सुविधा उनीहरूले गर्नुपर्ने मेहेनत र अहिलेको महँगो सामाजिक यथार्थसँग मेल खाने खालको छैन । कतिपय प्रहरी कर्मचारीको विलाशी जीवन देख्नेहरूलाई प्रहरीको तलब सुविधा उचित छैन भन्दा अनौठो लाग्न सक्छ तर सत्य के हो भने बर्दीको इज्जत बेचेर पैसा कमाउने अनि सानदार जीवन बाँच्नेहरूलाई आफ्नो जीवन दाउमा राखेर जनताको सेवामा समर्पित हुने तर आफू र आफ्नो परिवारलाई राम्रो खान/लाउन दिन नसक्ने राष्ट्रसेवकहरूसँग तुलना गर्ने गल्ती गरिनुहँुदैन । हामी सबैले स्विकार्नुपर्छ कि दिनरात नभनी जीवन हत्केलामा राखेर हाम्रो सुरक्षका खातिर सक्रिय रहने प्रहरीको सेवा सुविधा वृद्धि विवादको विषय हुनुहँुदैन ।
प्रहरीको मनोबल उच्च राख्न आवश्यक अर्काे महत्त्वपूर्ण कुरा भनेको उनीहरूको वृत्ति–विकास हो । वृत्ति–विकास भन्नाले उनीहरूले पाउने तालिम, समयमा सरुवा अनि न्यायोचित र समयमा बढुवा जस्ता कुराहरू पर्दछन् । तर, हाम्रो मुलुकमा प्रहरीको वृत्ति–विकास अक्सर तत्कालको राजनीतिक, प्रशासनिक र सांगठनिक नेतृत्वको अनुकम्पाको विषय बन्ने गरेको छ । सबैलाई थाहा छ जब–जब प्रहरीमा सरुवा–वढुवाको समय हुन्छ तब शक्तिशाली नेताहरू, प्रशासकहरू अनि प्रहरीका उपल्लो दर्जाका अधिकृतहरूको घर–घरमा चहलपहल बढ्ने गर्दछ । जसको परिणाम सरुवा, बढुवाहरू योग्यता, क्षमता र आवश्यकताको आधारमा होइन, शक्ति सन्तुलनका आधारमा हुने गरेको छ । को गृहमन्त्री छ ? को गृहसचिव छ ? अनि को आइजीपी छ ? भन्ने आधारमा कुन–कुन अधिकृतले कस्तो भूमिका पाउँछन् भन्ने पूर्वअनुमान सार्वजनिक हुन्छ अनि त्यही पूर्वअनुमानको सेरोफेरोमा निर्णयहरू बाहिर आउँछ । के सरुवा–बढुवा कसैको निगाह र अनुकम्पाको विषय हुनु ठीक हो त ? पक्कै हैन । प्रहरी संगठनमा आवधिक बढुवा हुनुपर्छ अनि बढुवा गर्दा सम्पूर्ण प्रतिस्पर्धीहरूको सवल र दुर्वल पक्षको वैज्ञानिक मूल्यांकन गर्ने अनि त्यसलाई संगठनको आवश्यकतासँग तौलिने र त्यसपछि निष्पक्ष ढंगले निर्णय गर्ने परिपाटी हुनुपर्छ । तर, विडम्बना हाम्रो देशमा अक्सर त्यस्तो भएको छैन । अझै पछिल्लो केही समययता त शक्तिवालाहरूलाई बढुवा गर्नका निम्ति लोकसेवा आयोगले निर्धारण गरेको वरीयतालाई समेत बेवास्ता गर्ने काम भएका छन् । त्यति मात्रै होइन, शक्तिको आडमा आफ्ना निकटहरूलाई मात्रै बढुवा गर्ने निर्णयलाई सच्याउनु भनेर सम्मानित अदालतले दिएको आदेशलाई समेत लत्याउने काम भएको छ । नेपाल प्रहरीको इतिहासकै सबैभन्दा बदनाम र विवादित भएको पछिल्लो एआईजीपी बढुवा प्रकरण त्यसको ज्वलन्त उदाहरण हो । यदि साँचो अर्थमा प्रहरी संगठनको हरेक सदस्यको मनोबल उच्च राख्ने हो भने निष्पक्ष र वैज्ञानिक बढुवा नीति ल्याउने र त्यसलाई कडाइका साथ लागू गर्नुपर्छ । त्यसो गर्दा बढुवा हुनेले आफू बढुवा भएकोमा कसैप्रति कृतज्ञ हुनुपर्ने छैन भने बढुवा नहुनेले पनि आफ्नो त कोही भएनन् भनेर आफ्ना बनाउन हिँड्न परेन बरु आफ्नो योग्यता, क्षमता बढाउन मेहेनत गर्न पाउने भए ।
जब–जब योग्यता, क्षमताको कुरा आउँछ तब दुईटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, सबैलाई न्यायोचित ढंगले वृत्ति–विकास हुनेखालका तालिमको अवसर अनि दोस्रो, सबैलाई योग्यता देखाउने उचित अवसर । भन्दा अनौठो लाग्ला तर सत्य के हो भने अहिलेसम्म पनि प्रहरीमा राम्रो–राम्रो तालिम गर्नका निम्ति कसै न कसैको सिफारिस नै चाहिन्छ । त्यस्तो प्रवृत्तिको अन्त्य गर्नैपर्छ र त्यसो गर्नका निम्ति हरेक तालिमको निम्ति छनोट गर्दा आन्तरिक परीक्षा लिने एउटा उपाय हुनसक्छ । त्यसमा अर्काे पनि विकृति छ त्यो के भने निकट र शक्तिवालालाई तालिम दिने अनि प्राप्त तालिमको उपयोग हुने जिम्मेवारी भने दिन नखोज्ने वा नचाहने । उदाहरणका निम्ति ट्राफिक सम्बन्धी तालिम दिलाउने तर ट्राफिक तालिम लिएकालाई ट्राफिक सेवामा सरुवा गर्न भने ध्यान नदिने, अनुसन्धानको तालिम दिने तर अनुसन्धान गर्नुपर्ने भूमिकामा नलाने प्रवृत्ति पनि देखिन्छ । बढुवामा तालिमबापत नम्बर हुन्छ भन्ने आधारमा आफ्नालाई बिना आवश्यकताको तालिम दिलाउने प्रवृत्तिसमेत छ । यस्तो प्रवृत्तिको अन्त्य हुनैपर्छ । जे विषय वा विधामा तालिम लिएको छ त्यस विधा वा विषयअनुरूपको जिम्मेवारी दिने दिलाउने कार्यलाई संस्थागत गर्नुपर्छ ।
प्रहरी संगठनमा काम गर्ने हरेक सदस्यका निम्ति आवधिक र येथोचित सरुवाको निकै ठूलो महत्त्व हुन्छ । सरुवाको महत्त्व हुनुको प्रमुख तिन वटा कारण छन् । पहिलो, यसले आफ्नो परिवारसँगको दूरी तय गर्छ । दोस्रो, हरेक सरुवाले सिक्ने सिकाउने अवसर प्रदान गर्छ । र तेस्रो, कतिपय कार्यालयमा गरिने कामको आधारमा पाउने पारिश्रमिकमा समेत अन्तर हुने हुनाले आर्थिक पक्षसमेत जोडिएको हुन्छ । तर, विडम्बना अक्सर हाम्रा प्रहरीहरूको समयमा सरुवा हँुदैन, अनि सरुवा भइहल्दा पनि त्यो योग्यता, क्षमता र सरुवा भएर जाने कार्यालयको आवश्यकताको तादात्म्यताको आधारमा हँुदैन । तत्कालको राजनीतिक, प्रशासनिक वा सांगठनिक नेतृत्व आफू अनुकूलको हुनेहरूको त्यसै अनुसारको सरुवा हुने अनि नहुनेहरूको सरुवा भगवान भरोसे हुने कुरा प्रहरी संगठनमा सामान्य बन्दै गएको छ । गृहमन्त्री, गृहसचिव अनि आईजीपी समग्र संगठनका अभिभावक हुनुपर्ने हो तर उनीहरू पनि कसैलाई काखा अनि कसैलाई पाखा गर्नमै मस्त अनि व्यस्त देखिन्छन् । भर्खरै प्रहरीको डीआईजीपीहरूको सरुवा भएको छ, जसमा कसैले इन्चार्जबाट फेरि इन्चार्ज हुन पाएका छन् भने कतिपयले प्रधान कार्यालयको एउटा भूमिकाहीन विभागबाट अर्काे त्यस्तै भूमिकाहीन विभागमा सरुवा हुन बाध्य भएका छन् । भनिन्छ, गृहमन्त्रीको आशीर्वाद प्राप्त भनिनेहरूको सरुवा राम्रो विभाग र क्षेत्रमा भएको छ, सचिव निकटका भनिनेहरूको समय पुग्दा पनि सरुवा भएको छैन, आईजीपी निकट भनेर चर्चामा रहेकाहरूले राम्रो क्षेत्र पाएका छन् । के यस्तो प्रवृत्तिले प्रहरी संगठनको मनोबल बढाउला ? काम गर्ने अवसर नै नदिने अनि बढुवामा कार्य सम्पादन मूल्यांकनलाई आधार मानिनेछ भन्नुको के मतलब रहला ? तसर्थ निकट र पहुँचको आधारमा कसैले महत्त्वपूर्ण जिम्मेवारी पाइराख्ने अनि कतिपयले योग्यता, क्षमता प्रदर्शन गर्नसमेत नपाउने अवस्थाको अन्त्य हुनैपर्छ । त्यस्तो हुनसक्दा प्रहरी संगठनका हरेक सदस्यको ध्यान कुनै अमूक नेता, प्रशासक वा प्रहरीका ठूला अधिकृतलाई खुसी पार्नेमा भन्दा पनि आफ्नो योग्यता, क्षमताको विकास र त्यसको प्रयोगमार्फत जनताको सेवामा लाग्ने विषयमा जानेछ ।
One response to “प्रहरीमा देखिएका समस्या र समाधानका उपाय”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
“गलत गर्नेलाई दण्ड, राम्रो गर्नेलाई पुरस्कार,” संगठनलाई आन्तरीक रुपमा सुदृढ बनाउने एउटा सुत्र हो यो । नेपाल प्रहरीजस्तो संवेदनशिल संगठनमा त झन यसको ठुलो महत्व छ । विविध अभावको विचमा पनि मुलुक र जनताको सेवामा अहोरात्र खटिने प्रहरीको मनोबल उच्च राख्ने एकमात्र बाटोको रुपमा यहि सुत्रलाई लिदा अनुपयूक्त नहोला । तर, वर्तमान अवस्थामा यहि सहज सुत्रलाई पनि व्यवस्थित ढँगले कार्यान्वयन गर्न सकिरहेको अवस्था छैन् । पुरस्कार भन्नाले कुनै तक्मा वा नगदलगाएतलाई मात्र बुझ्नु पनि उपयूक्त नहोला । राम्रो गर्नेलाई मानसिक रुपमा कुनै तरिकाले पुरस्कृत भएको अनुभव दिलाउन सक्नु सबैभन्दा ठुलो पुरस्कार हो । यसो हुन नसक्दा राम्रो गर्नेहरुको मनोबल खस्कदै जान्छ र राम्रो गर्न खोज्नेहरुको जाँगर मर्दै जान्छ । फलस्वरुप संगठन आन्तरीक रुपमा झनझन कमजोर हुँदै जाने सम्भावना प्रवल हुन्छ ।