एमालेमा इतिहास बोकेकालाई सम्मान
काठमाडौं । नेकपा (एमाले)ले हालै मनोनीत गरेका १० केन्द्रीय सदस्यहरूमा लामो समय जेलनेल भोगेकादेखि निरन्तर क्रियाशील नेताहरूले प्राथमिकता पाएका छन् ।
गत साता एमालेले घनेन्द्र बस्नेत, केदार न्यौपाने, रामकुमार ज्ञवाली, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, कल्याणी खड्का, जया घिमिरे, सुमन प्याकुरेल र हरि पराजुलीलाई मनोनयन गरेको छ । झापा आन्दोलनमा परेर १४ वर्ष लगातार जेल परेका नेता केपी ओली अध्यक्ष भएका बेला पुराना अनुहारले बढी महत्त्व पाएको देखिएको छ ।
१७ वर्ष लगातार जेल परेका झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेत यसअघि एमालेको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । ०२८ सालमा झापा आन्दोलनदेखि लगातार आन्दोलनमा लाग्नुभएका उहाँ जेलमै जेल कमिटीको सचिवको जिम्मेवारी सम्हाल्दै ०३३ सालको नख्खु जेल विद्रोहको अगुवाइ गरेर जेल तोड्न सफल हुनुभएको थियो । कठिन भूमिगत कालमा पार्टी काममा ज्यानको बाजी थापेर होमिनुभएका बस्नेत त्यसलगत्तै फेरि पक्राउ पर्नुभयो । उहाँ संखुवासभा जिल्ला सचिव, कोसी अञ्चल सचिव र ०४८ सालमै केन्द्रीय सदस्य हुनुभएको थियो । ०४९ सालमा पाँचौं महाधिवेशनपछि कानुन विभाग सदस्य, छैटौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य निर्वाचित भएर जनकपुर र कोसीको इन्चार्ज भएर ६ वर्ष काम गर्नुभयो । उहाँले यसअघि कानुन विभाग र शिक्षा फाँट प्रमुख भएर समेत काम गर्नुभएको थियो । उहाँ ०४८ सालमा संखुवासभा र ०५६ सालमा भोजपुरबाट प्रतिनिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
पार्टी सदस्यता प्राप्त गरेकै ४० वर्ष भन्दा बढी भइससकेका अर्का केन्द्रीय सदस्य केदार न्यौपाने पनि एउटा जिउँदो इतिहासका रूपमा चिनिनुहुन्छ । स्थायी शिक्षकका रूपमा कार्यरत रहेकै बेला ०२९ सालमा पार्टी सदस्यता लिनुभएका उहाँ ०३१ सालदेखि पूर्णकालीन भूमिगत हुनुभएको थियो । बाराबाट गिरफ्तार हुनुभएका उहाँलाई वीरगन्जमा ३ महिना जेल हालियो । ३ महिनामा छुट्नुभएका उहाँले चितवनमा भूमिगत रूपमा सचिव भएर काम थाल्नुभयो । चौथो महाधिवेशनबाटै केन्द्रीय सदस्य हुनुभएका उहाँ त्यसयता लगातार केन्द्रीय कमिटी सदस्य र २ कार्यकाल नारायणी अञ्चल इन्चार्ज भएर काम गर्नुभएको छ । ०४६ सालमा जनकपुर अञ्चलको समेत इन्चार्ज हुनुभएका उहाँ ६ वर्ष राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि केन्द्रीय सल्लाहकार सदस्य हुनुहुन्थ्यो ।
०३१ सालमा झापामा अपिल प्रकाशन गरेदेखि देवराज घिमिरे निरन्तर विद्यार्थी राजनीति र त्यसपछि पार्टी राजनीतिमा संलग्न हुनुहुन्छ । महेन्द्र मोरङ क्याम्पस मोरङमा युथ लिगमा संगठित भएदेखि को–अर्डिनेसन केन्द्रसँग जोडिएर काम थाल्नुभएका उहाँले ०३३ को अन्त्यमा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनका कारण त्यहाँको पढाइ छोडेर हिँड्नुभएको थियो । ०३५ सालमा को–अर्डिनेसन केन्द्रमार्फत पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँले त्यसपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायतमा जिल्लामा काम गर्नुभयो । इलाममा रत्न वान्तवा र आफ्नै मामा हरि नेपालको हत्या भएपछि उहाँले ०३६ बाट पूर्ण रूपमा भूमिगत भएर काम थाल्नुभयो । चौथो महाधिवेशनदेखि प्रतिनिधि हुन थाल्नुभएका घिमिरे पाँचौंमा केन्द्रीय वैकल्पिक सदस्य, छैटौं र सातौंमा पूर्ण सदस्य तथा आठौंपछि सल्लाहकार हुनुभयो । घिमिरेले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पनि निर्वाह गर्नुभएको छ । स्वास्थ्य विभाग र इन्जिनियरिङ फाँटको पनि जिम्मेवारी सम्हालिसकेका उहाँ ११ वर्षदेखि सुखानी सहिद स्मृति प्रतिष्ठानको अध्यक्षसमेत हुनुहुन्छ ।
कृष्णगोपाल श्रेष्ठको राजनीतिक उचाइ कम्ती संघर्षपूर्ण छैन । विद्यार्थी राजनीतिबाट तत्कालीन नेकपा (माले)को राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ सुरुमा त्रिचन्द्र क्याम्पसस्थित रेड गार्ड अर्गनाइजेसन (आरजीओ)को सचिव हुनुहुन्थ्यो । ०३७ सालमा कीर्तिपुरको पाँगाबाट पार्टी सदस्यता लिएर तत्काल दक्षिण पश्चिम इलाकाको काम भूमिगत ढंगले संयोजन गर्नुभयो । उहाँसँग उपत्यकाको काठमाडांै, ललितपुर र भक्तपुर तीनै जिल्लाको सचिव भएर पार्टी काम गरेको अनुभव छ भने अखिल नेपाल किसान संघको केन्दीय सचिव भएर पनि उपत्यकामा किसानहरूलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीको चौथो महाधिवेशनदेखि लगातार प्रतिनिधि बनिरहनुभएका उहाँ छैटौदेखि केन्द्रीय कमिटी सदस्य बन्नुभयो । ०४८ सालको निर्वाचनपछि भएको उपनिर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं–५ र ०५१ मा काठमाडौं–७ बाट निर्वाचित हुनुभएका श्रेष्ठको उपत्यकामा राम्रो जनसम्पर्क छ । श्रेष्ठले उपत्यका संगठन कमिटीको सदस्य, सचिव, सह–इन्चार्ज हुँदै संकटको घडीमा इन्चार्ज भएर पार्टी काम संयोजन गर्नुभएको छ भने स्वास्थ्य विभागको पनि रचनात्मक ढंगले काम गरेर कुशल नेतृत्व प्रदान गर्नुभएको थियो ।
कल्याणी खड्का ०३६–३७ देखि विद्यार्थी राजनीतिबाट पार्टीमा जोडिन थाल्नुभएको हो । त्यसयता निरन्तर पार्टीकै जिम्मेवारीमा सपरिवार लागिरहेको पाइन्छ । उहाँ अनेरास्ववियुको जिल्ला कमिटी सचिव, अनेमसंघको गाउँ र जिल्ला अध्यक्ष तथा अञ्चल संयोजक हुदै केन्द्रीय सदस्य हुनुभयो भने रौतहटको पार्टी भूगोलको राजनीतिमा उत्तिकै पकड राखेर अघि बढ्नुभयो । ०४८ सालदेखि निरन्तर जिल्ला कमिटीमा सक्रिय उहाँ आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुअघिसम्म नारायणी अञ्चल कमिटी सदस्य हुनुहुन्थ्यो । ०४८ मा पार्टीले उहाँलाई टिकटको निर्णय गरेको थियो तर केही महिना उमेर नपुगेपछि उम्मेदवार बन्न पाउनुभएन । कृषि मजदुर संघ नेपालको महासचिव र अध्यक्ष भइसक्नुभएकी उहाँको सो क्षेत्रमा राम्रो पकड छ भने जता जिम्मेवारी पाए पनि गहिरो ढंगले सगठन गर्नसक्ने खुबी छ । माधवकुमार नेपाल प्रधानमन्त्री हँुदा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुनुभएकी उहाँ पार्टीको वैदेशिक रोजगार फाँटको इन्चार्जसमेत हुनुहुन्थ्यो ।
जया घिमिरेलाई मानव अधिकारकर्मी योद्धा पाण्डवराज घिमिरेकी छोरी भनेर परिचय दिइरहन आवश्यक छैन । तत्कालीन को–अर्डिनेसन केन्द्रको गठनदेखि नै सम्पर्कमा रहेर ०३२ सालदेखि भूमिगत ढंगले पार्टी काम सम्हाल्नुभएकी घिमिरेले माले गठनपछि ०३६ सालदेखि सिरहा, सप्तरी र उदयपुरमा लामो समय काम गर्नुभयो । अनेरास्ववियु (एकताको पाँचौं)को केन्द्रीय सचिवालय सदस्यसमेत भएर विद्यार्थी राजनीतिमा काम गर्नुभएको थियो । राजविराज जेलमा अढाइ वर्ष बसेर राजकाज मुद्दा खेप्नुभएकी जयाले महिला संघ पुनर्गठित गर्न भूमिका खेल्नुभयो । ००८ सालमा गठन भएको अनेमसंघलाई ०३५ साल फागुन १७ गते पुनर्गठन गर्दा उहाँ संस्थापक सदस्य बन्नुभयो भने अनेमसंघको त्यसयता लगातार जिम्मेवारी लिँदै हाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । ०६४ सालको संविधानसभामा समानुपातिक कोटाबाट सभासद् बन्नुभएकी जयाका श्रीमान् नरेन्द्रराज पोखरेल पनि राजनीतिमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
रामकुमार ज्ञवाली विद्यार्थी राजनीतिबाट उदाएका र निरन्तर पार्टी काममा समर्पित योद्धा हुनुहुन्छ । ०३६ सालमा अनेरास्ववियु एकताको पाँचौंको केन्द्रीय सदस्य हुनुभएका उहाँ अनेरास्ववियुको सुदूरपश्चिम क्षेत्रीय कमिटी अध्यक्ष हुनुभयो, जसअन्तर्गत त्यसबेला राप्ती, भेरी, कर्णाली, सेती र महाकाली अञ्चल थिए । तीन पटक पार्टीको महाकाली अञ्चल सचिव भएर काम गर्नुभएका ज्ञवाली सुदूरपश्चिम क्षेत्रमा एमालेलाई विस्तार र स्थापित गर्नेमध्येका अग्रणी नेता हुनुहुन्छ ।
०३१ सालमा नै कलेज पढ्दा राजनीतिक गतिविधिमा संलग्न भएबापत प्रशासनको आँखाको तारो बन्नुभएका सुमन प्याकुरेल अदालतले रिहा गरेपछि पुष्पलाल समूहसँग सम्पर्कमा पुग्नुभएको थियो । ०३२ सालमा बीएल पढ्न काठमाडौं आएपछि खास राजनीतिमा होमिनुभएका उहाँ अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुभयो भने फेरि पार्टी कामका लागि सप्तरी फर्कनुभयो । भूमिगत कालमा सप्तरीको कार्यबाहक सचिव, मोरङ नगर कमिटी सदस्य भएर काम गरेको अनुभव उहाँसँग छ । त्यसयता सगरमाथा अञ्चल सदस्य, सचिव र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर काम गरिरहनुभएका उहाँले सप्तरीमा तीन पटक चुनाव लडेर जित्न नसके पनि मधेसी जनसंख्या बाहुल्य भएकै स्थानबाट बढी मत ल्याएर आफ्नो लोकप्रियता देखाइसक्नुभएको छ ।
०२७–२८ सालबाट राजनीतिप्रति आकर्षित प्रमेश हमाल तत्कालीन को–अर्डिनेसन कमिटीको सम्पर्कमा रहेर पार्टी काममा जोडिनुभएको थियो । ०३८ सालमा नेकपा (माले)को सदस्यता लिएर जिल्ला कमिटीमा आबद्ध उहाँहरूकै पहलमा बुद्धिजीवी विशेष जिल्ला कमिटीलाई भूगोलबाट छुट्याइएको थियो, जसको संस्थापक सचिव नै हमाल हुनुहुन्थ्यो । हमालले ०४७ केन्द्रीय बुद्धिजीवी विभाग सचिव तथा ०४७ मै स्थापना भएको नेपाल बुद्धिजीवी परिषद्को संस्थापक संयोजक भएर बुद्धिजीवी क्षेत्रको नेतृत्व गर्नुभएको थियो । छैटौं र सातौं महधिवेशनबाट केन्द्रीय लेखापरीक्षण समितिको सभापतिमा निर्वाचित उहाँ नवांैं महाधिवेशनमा अन्तिममा प्रतिनिधि मनोनयन रोकिएपछि भाग लिनबाट रोकिनुभएको थियो । ०४७ सालको अन्तिरिम कालमा झलनाथ खनालले सम्हालेको कृषि, भूमि र वन मन्त्रालयको सल्लाहकार हुनुभएका उहाँले त्यसयता एमाले सरकारमा रहँदा लाभको कुनै पदबाट सकेसम्म वञ्चित हुनुपरेको छैन । उहाँ त्यसलगत्तै कृषि आयोजना सेवा केन्द्र एप्रोक्सको कार्यकारी निर्देशक, ०५१ संयुक्त राष्ट्र संघको नायब स्थायी प्रतिनिधि र ०६३ पछि बेल्जियममा राजदूत भएर समृद्ध भइसक्नुभएको छ ।
हरि पराजुली आफैं चाहिँ किसान नभए पनि लामो समयदेखि किसान आन्दोलनसँग जोडिनुभएको छ । उहाँ कृषिमन्त्री हुनुअघि नेपाल किसान महासंघको केन्द्रीय सचिव हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply