विकराल बन्दै मानव तस्करीको जालो
काठमाडौं । वैदेशिक रोजगारीको नाममा राम्रो तलब तथा आकर्षक सुविधाको प्रलोभन दिएर अवैध रूपमा विदेश पठाउने धन्दा फस्टाइरहेको छ । सरकारद्वारा श्रम स्वीकृतिका लागि प्रतिबन्ध लगाइएका मुलुकमा समेत विवाहको कागजात बनाएर नेपालबाटै वा भारतको विमानस्थल प्रयोग गरेर त्यसरी अवैधानिक रूपमा मानव बेचबिखन हँुदै आएको छ । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीमै सञ्चालित एक म्यारिज ब्युरोमा छापा मारेपछि मानव तस्करीको जालोको केही अंश खुलासा भएको हो । नेपाली सोझा युवतीहरूलाई चीन, कोरियालगायतका देशका पुरुषहरूसँग म्यारिज ब्युरोमार्फत विवाह गरी त्यहाँ पठाउने र बच्चा पाउने मेसिनको रूपमा प्रयोग गरेको देखिएको छ । मानव तस्करहरूले परम्परागत शैलीमा ओसारपसार र बेचबिखन गर्न चुनौतीपूर्ण भएकाले डान्सर, कलाकार, गोष्ठी सेमिनारमा सहभागी तथा विभिन्न नवीन रोजगारीको आवरणमा विदेश लैजान थालेको भेटिएको छ । गैरकानुनी तवरले विदेश लैजान टिकेटिङ गर्दा सूचनाको चुहावट रोक्न आफंैले ट्राभल सञ्चालन गर्ने गरेको पनि पाइएको केन्द्रीय अनुसन्धान ब्युरो पिलर नम्बर ३ का प्रहरी निरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । त्यति मात्र होइन, नाइजेरिया, तान्जानियालगायतका विभिन्न अफ्रिकन तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा नेपाल तथा भारतबाट पर्यटक भिसामा पठाउने र बेच्ने गरेको पनि खुलासा भएको छ । सो गिरोहले डिस्को, डान्स क्लब, रेस्टुरेन्ट, बार जस्ता मनोरञ्जनात्मक क्षेत्रमा उच्च पारिश्रमिक दिने प्रलोभन देखाएर बेचबिखन गर्ने र यौनजन्य कार्यमा लगाउने गरेको पाइन्छ । ब्युरोले राजधानीबाट सो गिरोह पनि पक्राउ गरेको छ ।
इति मात्र होइन, वैदेशिक रोजगारीको नाममा खाडी राष्ट्र तथा इजरायल जस्ता मुलुकहरूका लागि श्रम स्वीकृति लिएर वा नलिएर केयर गिभर तथा घरेलु कामदारका रूपमा लगी घरधनीलाई बिक्री–वितरण गर्ने गरेको समेत पाइन्छ । त्यही भएर सरकारले महिला कामदारका लागि इजरायलमा जान प्रतिबन्धसमेत लगाएको थियो ।
विवाहका नाममा युवती तस्करी
पेपर म्यारिजको नाममा सोझा नेपाली युवतीलाई फसाएर विदेशमा बिक्री गर्ने गिरोह पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्ता लगाएको छ । ब्युरोको पिलर नं ३ ले नेपाली युवतीलाई पेपर म्यारिजमार्फत चीन र कोरियामा बेच्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहलाई पक्रिएको हो । विभिन्न पत्रपत्रिकामा सूचना तथा विज्ञापन दिई नयाँ शैली र तरिका अपनाएर सो गिरोहले काम गर्दै आएको प्रहरीको दाबी छ । गिरोहले १ महिना लामो अनुसन्धान गरी सो गिरोहको सञ्चालिका र विदेशी नागरिक समेतलाई पक्राउ गरेको छ । उनीहरूले लजका रूपमा सिंगै घर भाडामा लिएर विदेशी केटा र नेपाली केटीलाई एकै ठाउँमा राख्ने समेत गर्दै आएका थिए । फागुन १८ गते काठमाडौं चुनदेवी स्थीत छेरु इन्टरनेसनल नामक म्यारिज ब्युरो कम्पनीमा छापा मारी प्रहरीले कोरियामा जाने पक्रियामा रहेका ५ र चीनमा १५ लाखमा बेचिएर फर्किएका गरी ६ जना युवती तथा सञ्चालिका पासाङ भन्ने छेरु शेर्पा, हि चाङ पार्क नामक कोरियन दलाल र छेरुको सहयोगी विपीन नगरकोटीलाई पक्राउ गरेको थियो ।
छेरुले नेपाली युवतीहरूलाई विभिन्न प्रलोभन देखाई चीन र कोरियालगायतका देशका नागरिकसँग विवाह गराउने तथा चिनियाँ तथा कोरियाली दलालहरूसँग समन्वय गर्दै आएकी थिइन् । ठूलो घर भाडामा लिई सो म्यारिज ब्युरो सञ्चानन गरिएको र विवाह गर्ने तथा गरिसकेका युवा युवतीहरूलाई खाने बस्ने व्यवस्था नै त्यही हुने गरेको थियो । नेपाली युवतीहरूको फोटो खिचाई दलालमार्फत कोरिया, चीनमा फोटो पठाई युवतीहरू छान्न लगाउने गरेको प्रहरीको दाबी छ । छानिएका युवतीसँग विवाह गर्न कोरियन र चिनियाँ युवाहरू नेपाल आउने गरेको र छानिएका युवतीहरूको म्यारिज ब्युरोकै खर्चमा नागरिकता र राहदानी बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ । सो गिरोहले दलालमार्फत गाविसको सिफारिस पत्र, अविवाहित सिफारिस पत्र तथा अन्य आवश्यक कागजात तयार पार्दै आएका थिए । दलाल र कर्मचारीहरूको सेटिङ मिलाएर अधिकांश विवाह दर्ता जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरबाट गर्ने गरेको खुलेको छ । विवाह दर्तापश्चात युवतीहरूलाई विभिन्न देशको भाषासमेत सिक्न लगाउने गरेको र विवाह दर्तापश्चात भिसाका लागि आवश्यक काजजात पनि सोही गिरोहले सम्बन्धित देशमा पेस गर्ने गरेको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । भिसा आएपछि म्यारिज ब्युरोकै खर्चमा हवाई टिकटसमेतको व्यवस्था गरी कोरिया तथा चीन पठाउने गरेको थाहा भएको छ ।
बच्चाकै लागि युवती खरिद
पछिल्लो समय चीन र कोरियामा पुरुषको तुलनामा महिलाको संख्या कम हँुदै गएको छ । त्यसैले पुरुषको विवाह हुन गाह्रो हँुदै गएको छ । उनीहरूका सन्तान वृद्धिका लागि महिलाको खाँचो हुने भएकाले ठूलो रकम खर्चिएर नेपाली केटीहरू खरिद गर्न ती देशका नागरिक तयार भएको बुझिएको छ । उनीहरूले बच्चा पाउनकै लागि नेपाली केटीहरू १५ देखि २० लाख रुपियाँ खर्च गरेर खरिद गरेको बताउने गरेका छन् । ती देशमा पुगेपश्चात नेपाली युवतीलाई शारीरिक तथा मानसिक यातना दिई योन शोषण गर्ने गरेको पत्ता लागेको छ । उनीहरूलाई बच्चा पाउने मेसिनको रूपमा प्रयोग गरेको, बच्चा नपाए ज्यान मारिदिने धम्की दिने गरेको र सुरुमा भनिएजस्तो काम र सुविधा नदिई सिधै बेचबिखन गर्दै आएको खुलेको छ । यसरी लगिएका युवतीहरूलाई सम्बन्धित देशको अत्यन्त पिछडिएका दुर्गम स्थानमा पुर्याई बच्चा जन्माउने कार्यमा संलग्न गराउने गरेको खुलेको छ । विवाह गर्ने विदेशी पुरुष र नेपाली महिलाको उमेर भिन्नता २० देखि ३० वर्षसम्म रहने गरेको छ । अझ अचम्मको कुरा त विवाह भएका नेपाली युवतीहरूलाई आफ्नो श्रीमान्को नाम, घर, ठेगानालगायत न्यूनतम जानकारीसमेत नदिने गरिएको बताइन्छ । त्यसरी दर्ता विवाह गराई चीनको उत्तरपूर्वी प्रान्तमा पुर्याइएका पीडित युवतीहरूले आफूहरू बेचबिखनमा परेको भनी टेलिफोनबाट चीनस्थित नेपाली दूतावास बेइजिङमा सूचना गरेका थिए । त्यसरी बेचेर त्यहाँ पुर्याई नारकीय जीवन भोगिरहेका नेपालीको संख्या सयौं हुनसक्ने प्रहरीको अनुमान छ ।
‘अप्रेसन इगल’को करामत
नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुक तान्जानिया, केन्या, यूएई, बहराइन, मलेसिया, युगान्डा, ओमानलगायतका मुलुकहरूमा बेचबिखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेका सात जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर इमाडोल–६ घर घई काठमाडांै–१४ कलंकी बस्ने राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौ–७ वटु घर भई काठमाडांै मैतीदेवी तथा कालोपुल बस्ने सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर, भारतको नयाँ दिल्ली घर भएका रियान भन्ने तरुण रोजना खनगवाल, काठमाडांै इचङ्गु–६ ठूलो भर्याङ बस्ने ललितराज सिंह सुवाल, विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने सुनिल अधिकारी, संखुवासभा, आखीभई–८ घर भई काठमाडांै सिनामंगल बस्ने केदारबहादुर खड्का र धनकुटा आँखीसल्ला–६ घर भई काठमाडौं मैतीदेवी बस्ने नवीन दाहाल रहेका छन् ।
प्रहरीले सविन राजा मानन्धरको घरबाट ८ लाख ५४ हजार ५ सय रुपियाँ, दुबई, केन्या, तान्जानियालगायतका देशबाट विभिन्न रेमिट्यान्समार्फत पठाएको नगद ७० लाख ५० हजारको रिसिप्ट विलहरू, राजेन्द्र सुवेदीबाट ८० हजार र अमेरिकी डलर १ सयको १ थान, सुनिल अधिकारीबाट ९९ हजार र अमेरिकी डलर १ सय को १ थान, विभिन्न युवतीहरूको राहदानी २४ थान र नागरिकता १२ थान र विभिन्न विद्युतीय सञ्चार माध्यमहरूमार्फत तस्करीको कारोबर गर्न आदान–प्रदान भएका फोटोहरू, पासपोर्ट, ई टिकेट, ई भिसालगायतका समान बरामद गरेको छ । उनीहरूलाई युवतीहरूलाई विदेश पठाई मानव बेचबिखन गरेको अपराधमा सीआईबीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गराएकोमा काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा छुटाएको छ । सुबेदी प्रतिवाद गर्नेमध्येका मुख्य नाइके भएको बताइन्छ । लामो समयदेखि यस्तो गतिविधि भइरहेको गुनासो आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सूक्ष्म रूपमा ‘अप्रेसन इगल’ नामको अनुसन्धान सुरु गरेको थियो । इन्टरपोल तथा तान्जानिया, केन्या, यूएई र भारतबाट प्राप्त सूचनाका आधारमा मनोरञ्जनका लागि नेपाली युवतीहरूलाई विश्वका विभिन्न मुलुकमा लैजाने गरेको खुलेको हो । ती देशमा नृत्य गर्दा प्रतिमहिना १ लाख रुपियाँ भन्दा बढी कमाउन सकिन्छ भन्दै भारत लगी दिल्ली र मुम्बईबाट भिजिट भिसा लगाएर पठाउने गरिएको थियो । तर केन्या, तान्जानियालगायतका मुलुकमा अवैधानिक रूपमा काम लगाई पारिश्रमिकसमेत नदिई यातना दिएर राखेको थियो । केन्याको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले उद्धार गरी नेपालमा खबर आएपछि सो गिरोह प्रहरीले पत्ता लगाएको हो । उनीहरूले नेपालका विभिन्न डान्स ट्रेनिङ सेन्टर तथा डान्सबारबाट आकर्षक शारीरिक बनावट भएका तथा नृत्य कला भएका युवतीहरूलाई छनोट गरी प्रलोभनमा पार्ने गरेका थिए । साथै, ती युवतीहरूलाई काठमाडौंका विभिन्न फोटो स्टुडियोमा लगी विभिन्न पोजमा फोटो खिचाई मोडलको रूपमा प्रस्तुत गरी फोटो विदेश पठाउने गरेका थिए । फोटो ती देशमा पठाइसकेपछि छानिएका युवतीलाई दलालमार्फत मोलमोलाइ गर्ने गरिएको प्रहरीको दाबी छ । तिनीहरूलाई अग्रिम भुक्तानी स्वरूप १–२ लाख रुपियाँसम्म ‘एड्भान्स पेमेन्ट’ विदेशी दलालमार्फत नेपाली दलालको हातमा पठाइने र युवतीलाई दिइने गरेको बताइन्छ । विदेश पुर्याइएका युवतीहरूलाई विदेशी दलालहरूले डान्स बार, होटल आदिमा लामो समयसम्म कोठामा बन्धक बनाई यौन शोषण तथा वेश्यावृत्तिमा लगाउने गरेको प्रहरी निरिक्षक रञ्जनकुमार
सिंगापुर, जापानजस्ता विकसित मुलुकमा रोजगारीका लागि पठाउने भनी ठगी गर्ने पर्सा वीरगञ्ज उपमहानगरपालिका–१६ का महावीरप्रसाद जैसवाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । जैसवालले पब्लिक केयर फाउन्डेसन नामक संस्थामार्फत गैरकानुनी रूपमा विदेश पठाउने भनी विभिन्न व्यक्तिहरूलाई आईएमईमार्फत रकम राख्न लगाई ठगी गरेका हुन् । जैसवालले काठमाडौं कीर्तिपुर बस्ने कैलाली धनगढी नगरपालिकाकी दीक्षा पाण्डे भट्टलाई आकर्षक तलब दिन्छु भनी कर्मचारीको रूपमा कार्यालयमा राखी पाण्डेका श्रीमान्लाई सिंगापुर पठाउँछु भनी ४ लाख ८५ हजार नगद र १ तोला १९ लाल सुनको सिक्री लिई विभिन्न प्रलोभन देखाई विश्वासमा पारी ठगी गरेपछि पाण्डेले महाशाखामा जाहेरी दिएकी थिइन् ।
जैसवाललाई ठगी मुद्दामा कारबाही भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply