देश–प्रेममा प्रतिबद्ध
दसबर्से जनयुद्धले देशको कुना–काप्चासम्मै भय, आतंक र पीडाको बिजारोपण गर्यो । जनयुद्धले उब्जाएका खतहरू देखेर अहिले नेपालीहरूको मन मस्तिष्क तरंगित हुन पुग्छन् । र, विगतका कहालीलाग्दा क्षणहरूका भुक्तभोगीहरूबाट स्मरण हुनु स्वाभाविक पनि हो ।
पचासको दशकदेखि नै गजल लेखनमा क्रियाशील लक्ष्मी निरौलाले पनि जनयुद्धले नेपालीहरूको कोतरिएको मन र मस्तिष्कलाई छाम्न चाहेका छन् । उनको नवीनतम् गजलकृति ‘प्रेरणाको धुन’ भित्रका गजलहरूले राजनीतिक क्षेत्रमा व्याप्त विसंगति, सामाजिक क्षेत्र र तहमा आएको परिवर्तन र आर्थिक एवं सांस्कृतिक धरातलमा देखिएका उतार–चढावहरूलाई अत्यन्तै मिहिन ढंगले पस्किन चाहेको गहिरो प्रतीत हुन्छ । जनयुद्धका नकारात्मक पाटो उजिल्याउने सन्दर्भमा उनको गजलकारिता यसरी सल्बलाउँछ–
‘गुलाब नि पड्किएर क्षणभरमै धुजा भयो
मन्दिरमा बारुदको मात्र आज पूजा भयो
सशंकित वर्तमान भविष्यको भरै छैन
विगतको मुहार नि चाउरिएर मुजा भयो’
नेपाली साहित्यमा गजल लेखनको आरम्भ गर्ने मोतिराम भट्टले शृंगारिक रसका गजलहरू लेखे । संजोग कस्तो भने, निरौलाको प्रभाव–पुरुष पनि उनै भट्ट नै हुन् । उनीपछिका प्राय: सबै गजल सर्जकले शृंगारिक रसलाई नै पछ्याउँदै आए । र, गजल लेख्नु भनेकै शृंगारिक पक्षलाई आत्मसात गर्नु हो भन्ने मान्यता अझैसम्म स्थापित छ । गजल सर्जक निरौलाले पनि शृंगारिक रसलाई आफ्नो लेखनमा भरपूर मात्रामा स्थान दिएका छन् ।
जीवनको एउटा विन्दुमा हरेक मानिस प्रेमको रंगीन क्षितिजमा लहराउन पुग्छन् । खासगरी, बैंसका दिनहरूमा हरेक व्यक्तिले प्रेम, प्रणयका सुखद् स्वप्न देख्नु र त्यसको विस्तृत परिकल्पनामा डुब्नु अनौठो विषय होइन । तर, सबै मानिसको प्रेमको परीक्षामा उत्तीर्ण हुँदैनन् । एकाध उत्तीर्ण हुन्छन्, एकाध अनुत्तीर्ण । त्यतिबेला, प्रेममा अनुत्तीर्ण हुनेहरूमा कस्ता भावना सल्बलाउँछन् ? उनको गजल यसरी बोल्छ :
‘झुक्याएर कहाँ गयौ मेरी दिलकी रानी
बालुवाको माछा पारी मेरो जिन्दगानी
कागज त कति सकें तिम्रो वर्णन गर्दा
तिमीलाई स्वर्गकी एक अप्सरा ठानी’
०६२/६३ को जनआन्दोलनपछि देशले परिवर्तनको नौलो दिशा समात्यो । देशमा अढाई सय वर्षदेखि जह्रा–किला गाडेर बसिरहेको एउटा निरंकुश व्यवस्था र परिपाटीको अन्त्य भयो । तर, परिवर्तनपछि पनि राज्यको उपल्लो तहमा जनताको पहुँच भने पुग्ने स्थिति जन्मिन सकेन । त्यो स्थितिलाई उनले पनि अरू सामान्य जनताले जस्तै अनुभूत गरेका छन् र देशको शासन सत्ताको केन्द्र मानिने सिंहदरबार सामान्य जनताको पहुँचभन्दा टाढै रहेको यथार्थलाई उनले औंल्याउन चाहेका छन् ।
हरेक मानिसले आफ्नो राष्ट्रलाई माया गर्छन् । राष्ट्रियतामाथि कसैले धावा बोले भने वा राष्ट्रियताको मुहारमा कसैले धब्बा लगाउन चाहे भने स्वाभिमानी र राष्ट्रिय भावनाले ओतप्रोत हरेक व्यक्तिमा आक्रोश उत्पन्न हुनु स्वाभाविकै हो । उनी लेख्छन्–
‘आज आफ्नै जन्मदिन आफ्नै मृत्यु हुन पाए
बदनाम पर्दाहरू जिन्दगीका धुन पाए
चाँदनी र दोधारामा राष्ट्रियता तड्पिदिँदा
मैले आफैं उभिएको माटो आजै छुन पाएँ’
नेपाली जनता जहिल्यै पनि, राष्ट्रियता विरुद्ध मूर्त वा अमूर्त रूपले षड्यन्त्र हुँदा जागृत हुँदै आएका छन् । चाहे क्रियात्मक रूपमा होस् वा सिर्जनाका कुनै माध्यमबाट नै किन नहोस्, राष्ट्रियताको पक्षमा आवाज उठाउन हरेक नेपाली तत्पर रहन्छन् । यही पक्षलाई आत्मसात् गर्दै राष्ट्रियताकै सन्दर्भमा कोरिएका अर्को गजलमा उनी यसरी व्यक्त हुन चाहन्छन्–
‘राष्ट्रियता रेस्टुराँको भेटभित्र गए भयो
मन्त्रीजीको पल्टन त जेटभित्र गए भयो
‘लक्ष्मी’ तेरा कालापानी, सुस्ताहरू छट्पटिँदा
देश खोज्न सिंहदरबार गेटभित्र गए भयो’
प्रेम प्रसंग, राष्ट्रियता, राजनीतिक विसंगतिबोधमा तन्किएका उनका गजलमा जनताका कवि गोकुल जोशीको सम्झना, सहिदप्रति श्रद्धा, आफ्नो संगतमा रहेका सर्जहरूप्रति स्मरण पनि अटाएका छन् । त्यसो त, गजलमा शृंगारिकताले जति स्थान लिएको छ, मदिराले पनि लगभग त्यत्तिकै स्थान लिएको छ । त्यसैले त उनी लेख्छन्–
‘पिउँदा पिउँदा जिन्दगीमा पोखरी नै सुकाई सकें
सिंगै ढल पिउनलाई ह्युमपाइपको घाँटी चाहियो’
मोतीराम भट्टको प्रभावले गजल लेखनमा तानिएका निरौलाको लेखनलाई समालोचक डा.विन्दु शर्माले भनेझैं उनी ‘अनुभूति, भावना र आदर्शका गजलकार’ नै बन्न पुगेका छन् । ‘प्रेरणाको धुन’ भित्रका ६ दर्जनभन्दा बढी गजलले उनको विशिष्ट गजलकारिताको राम्रै
परिचय दिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply