समाजका नवीन विम्बहरू
नेपाली गीति–लेखन फाँटमा श्रवण मुकारुङको बेग्लै पहिचान रहेको छ । आफ्नै पहिचान र लेखन–विशिष्टताका कारण उनका अधिकांश गीतले त्यत्तिकै मात्रामा चर्चाको शिखर पनि चुम्दै आएका छन् । ‘सुुन रे सियाराम’ गीति–सर्जक मुकारुङले अहिलेसम्म सिर्जना गरेका सम्पूर्णत: गीतहरूको सँगालो हो, जुन सँगालोमा उनले लेखेका राष्ट्रिय भाव, सामाजिक परिवेश, वैदेशिक रोजगारका पीडालगायत विविध रूप र बान्कीका गीतहरू अटाएका छन् ।
नेपाली साहित्यमा पछिल्लो समयमा आदिवासी, जनजाति, दलित र महिलाहरूका आवाज पनि प्रतिध्वनित हुन थालेका छन् । सीमान्तकृत वर्गका स्वरहरूलाई साहित्यले विस्तारै स्पर्श गर्न थालेको छ । हुन त, विगत समयावधिमा दलित, जनजाति, महिलाहरूलाई शीर्षस्थानमा राखेर गीत नलेखिएका होइनन् । तर, त्यस्ता गीतहरू ती वर्गलाई होच्याउने, अपमान गर्ने तहभन्दा माथि उठ्न सकेनन् । पछिल्लो समय ती वर्ग र तप्काका बारेमा लेखिएका गीतहरूले भने ती वर्गका वास्ताविक आवाज, स्वप्न र स्वरलाई उँचो तुल्याउने ध्येय सँगालेको पाइन्छ । ‘सुन रे सियाराम’ एउटी आदिवासी महिलाको पीडा अभिव्यक्त भएको गीत हो, जहाँ ती महिलाको वेदना यसरी प्रस्फुटित हुन्छ :
‘अब तँ एक्लै घोँगी टिप
अब तँ एक्लै माछा झिक
अब म तँलाई पर्खन्न
अब म देहात फर्कन्न’
ग्रामीण क्षेत्रमा अझै पनि रोजगारको सिर्जना हुन सकिरहेको छैन । परम्परागत कृषि कर्मबाहेक गाउँमा बसोवास गर्नेहरूले रोजगारको कुनै बाटो समात्न पाइरहेका छैनन् । तसर्थ, अचेल ग्रामीण क्षेत्रका मानिसहरू रोजगारका लागि सहर, बजार र अझ विदेश जाने क्रम निकै बाक्लिएको छ । ‘गौंथलीझैं’ गीतमा उनले गाउँ छाडेर परदेशतिर लाग्नेहरूप्रति स्मरण गरेका छन् । जसरी गौंथली निश्चित अवधिका लागि आउँछन्, गुँड लगाउँछन् र त्यसपछि अलप हुन्छन्, उनले परदेशीहरूलाई पनि तिनै गौंथलीझैं ठानेका छन् । लेख्छन्–
‘गौंथलीझैं यो गाउँमा
कसको मायाले
भन † तिमी आयौ
कुन घरको दलानमा गुँड लगाउने
कसको खेतको पानी र माटो चलाउने’
नेपाली समाजमा महिलाहरूले आफ्नै पीर, व्यथा र वेदना सँगालेर बाँच्नु परिरहेका छन् । महिलाहरूको वेदनाको चाङ निकै नै बाक्लो रहँदै आएको छ, वर्षौदेखि । समाजभित्र अनेक उत्पीडन बेहोरेर बाँच्न तिनै महिलाहरूप्रति मुकारुङले अनेक सन्दर्भ र प्रसंगमा अडिएर गीति–सिर्जना गरेका छन् । मलाई खोज्नु भो कि, सुनकोसीको सुनको पानी, माइतीघर, हुलाकी दाइले, देखिनँ मैले जस्ता गीतमा उनले महिलाहरूको तीतो व्यथा सघन रूपले उतारेका छन् ।
देशभित्र श्रम र सीप नबिक्दा लाखौं नेपालीहरू विदेसिन बाध्य भइरहेका छन् । अझ, प्रतिभा पलायन त यति डरलाग्दो रूपमा पन्पिएको छ कि, जसले गर्दा देशभित्र दक्ष जनशक्तिको अभाव दिनानुदिन खट्किँदै गइरहेको छ । बढ्दो प्रतिभा पलायनप्रति सचेत देखिएका उनले गीतमार्फत् यस्तो आह्वान गरेका छन्–
‘गइसकेपछि
गाह्रो हुन्छ फर्किन
ए मेरो देश †
रोक न रोक उसलाई’
विदेशको रमझम, सुविधायुक्त जिन्दगी र धनको थुप्रोमा डुबे पनि मानिसहरूलाई आफू जन्मिएको थलोप्रति निश्चय नै माया, मोह हुन्छ । आफ्नो जन्मथलोको स्मृतिले पछ्याइरहन्छ, भूगोलको जुनसुकै कुनामा पुगे पनि । मुकारुङले आफ्ना केही गीतमा परदेशमा रहेर घर, परिवार र ग्रामीण परिवेशको सम्झनामा डुबुल्की मार्नेहरूको अवस्था उजागर गर्न चाहेका छन् । लेख्छन् :
‘बाटो हेरे हुन्छ आमा † म त आउँदै छु
माफ रहोस् सानो कुरा साथी ल्याउँदै छु’
प्राय: हरेक विषय र प्रसंगमा गीत लेख्दै आएका मुकारुङले तेन्जिङ नोर्गे, सगरमाथा, लाहुरे जीवन र आदिवासी समाजजस्ता विषयमा पनि कलम चलाएका छन् । त्यसो त, उनले कुनै ठाउँ विशेषका बारेमा पनि गीत लेख्न रुचि देखाएका छन् । उनी लेख्छन् :
‘भन नानी बोकिरा’को थुन्से हो कि डोको
चाँप खिल्ने ठाउँमा कतै पसिनाको पोको
कठैबरी खातिरलाग्दी जूनकिरीको हार
म पनि त उहीँ जाने घरै रुम्जाटार’
पूर्वी नेपालको भोजपुरमा जन्मिएका मुकारुङका प्राय: गीतहरूमा पूर्वेली समाजका विम्बहरू सघन रूपमा उतारिन्छन् । किरात संस्कृति, खोला, नदी, चराचुरुङ्गी, उकाली–ओराली, भीर, लहरा, जनजाति स्वरदेखि परदेसिएकाहरूको पीडासमेत अभिव्यक्त हुने उनका गीतहरूमा सिंगो नेपाली समाजको चरित्र र अवस्था छताछुल्ल भएर पोखिएका छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply