समको थप खोजतलासे
नेपाली नाटक–लेखनमा बालकृष्ण समको विशिष्ट, पृथक् एवम् उल्लेख्य उचाइँ स्थापित छ । नाट्य–सम्राट समको लेखनमा जुन वैचारिक प्रबलता, उच्च चिन्तनशैली र विशिष्ट कल्पनाशीलता पाइन्छन्, ती पक्षहरू उनका समकालीन र समवर्ती दुवै नाट्य–सर्जकहरूमा कमै पाइनुले उनले नेपाली नाटक जगत्मा बिसाएको डोब कति अजर र अद्वितीय थियो भन्ने स्पष्ट बोध हुन्छ ।
समको नाट्यकारितालाई विभिन्न कोणबाट केलाउने क्रम अद्यावधि कायम नै छ । यही क्रममा, समालोचक युवराज मैनालीले समले आफ्नो नाट्य लेखनका क्रममा उभ्याएका केही पौराणिक पात्रहरूसँग सम्बन्धित नाटकबारे इमानदारितापूर्वक चिरफार गरेका छन् । ‘समको पौराणिक नाट्य कौशल’मा मैनालीले समका दुई पौराणिक नाट्य कृति प्रल्हाद र धु्रवमाथि चर्चा/परिचर्चा चलाउन चाहेका छन् । साहित्यमा नाटकलाई सबैभन्दा थोरै लेखिने र पढिने विधाका रूपमा अथ्र्याइँदै आएका छन् । यसमा आंशिक सत्यता नरहेको होइन । तर, साहित्यमा अरू विधा मोटाए पनि मञ्चीय हिसाबले भने नाटकले जुन विशिष्टता र गरिमा हासिल गर्दै आएको छ, त्यो अहिले झनै विकास र विस्तार हुँदै गएको छ । र, अझै पनि समले लेखेका नाटकहरू मञ्चन हुने गरेका हुँदा नाटकको जीवन्तताको स्वत: पुष्टि हुन्छ ।
समालोचक मैनालीले समलाई सिधै ‘नेपाली नाट्य वाङ्मयका सम्राट’ भनेका छन् । सम्राट घोषणा गर्नुको कारण अथ्र्याउँदै उनले लेखेका छन्– ‘उनले मुकुन्द–इन्दिराजस्ता उच्च कोटीको सामाजिक नाटक दिएर पतिव्रता सामाजिक आदर्श र पति–पत्नीप्रतिको दायित्वबोध गराउने प्रयत्न गरे भने अर्कोतर्फ प्रल्हादजस्तो वैचारिक नाटकद्वारा आजको मनस्थिति विक्षत मानसिक भौतिक प्रगति एवम् आभ्यान्तरिक र्हासको सन्तुलनका लागि ज्ञानमय विज्ञान वा विज्ञानसहितको ज्ञानको यथासापेक्षता स्थापित गर्दै जीवनले पदार्पण गर्नुपर्ने मनोगत भूमि र देहात्मक परिस्थिति औँल्याए । प्रेमपिण्डजस्तो मर्मस्पर्शी नाटकमा दु:ख–सुख एवम् सुख–दु:खको दोहोरो अनुभूति दिए भने अमरसिंहजस्तो ऐतिहासिक नाटकमार्फत् देश, राष्ट्रियता र यसप्रतिको हाम्रो उत्तरदायित्व सहज रूपमा अघि सारी राष्ट्रियताको बिगुल बजाए ।’
फ्रान्ज बोआसले एउटा सन्दर्भमा भनेका थिए–‘पौराणिक कथाहरूको विषयवस्तुमा सृष्टिको उत्पत्ति, देवीदेउताको वर्णन, प्राकृतिक घटनाजस्ता जल, पृथ्वी, आकाश र वायु आदिको रहस्यको विश्लेषण र निरूपण हुन्छ ।’ प्रल्हाद पनि त्यस्तै एक पौराणिक पात्र हुन्, जसलाई दानवी प्रवृत्तिविरुद्ध लड्ने पात्रको रूपमा उभ्याइँदै आएको छ अहिलेसम्म । समले तिनै प्रल्हाद र दानवका रूपमा चित्रण गरिएको उनका बुबा हिरण्यकसिपुबीचको द्वन्द्वलाई नाटकको मूल विषय बनाएका थिए । प्रल्हादमाथि चिरफार गर्ने क्रममा मैनालीले भने यस्तो धारणा बनाएका छन्– ‘प्रल्हाद पौराणिक प्रयोग भएकोले ईश्वरीय प्रेरणा र ईश्वरत्वको अन्धसमर्थन गरी आदर्श प्राप्तिमा प्रद्वेलित भइदिन्छ । नत्र वैज्ञानिक विचारको कशिपुमा पनि कतिपय वैचारिक सत्यता छन् । श्रम–सीपप्रति अगाध मोह छ, आत्मनिर्भरताको व्याख्या ऊ पनि गर्छ, वस्तुत: आफूलाई मृत्युञ्जयी सम्झन्छ भने अन्तिम अवस्थामा ईश्वरवादी बनेको देखाइन्छ ।’ साथै, उनी लेख्छन्– ‘वैचारिक प्रयोक्ता समका दुई परस्पर विरोधी चरित्र कशिपु तथा प्रल्हाद दुवैमा अन्तसम्म जीवनप्रति लघुताभास हुन्न । एक जना विज्ञानको पक्षमा भौतिक श्रम साधनामा अडिग तपस्वी छ भने अर्को ज्ञानसाधना या भक्तिमार्गको तपस्वी भनौं उनकै अर्थमा गान्धीवादी रूपमा प्रयोगित छ ।’
समालोचक मैनालीले समका दुई पौराणिक नाटक प्रल्हाद र धु्रवलाई सघन रूपले केलाउने क्रममा उनी के निष्कर्षमा पुगेका छन् भने, प्रल्हादभन्दा धु्रवको ओजन केही कम छ । धु्रवको कथानक परिवेश र नाटकको लागि आवश्यक परस्पर द्वन्द्व भूमिका सफल हुन नसकेको निचोडमा उनी पुगेका छन् । उनी लेख्छन्– ‘धु्रव केवल सौतेनी इष्र्या, रोष र घृणाको सस्तो सामाजिक मनोभावको सानो कथानकलाई लिएर अगाडि बढेको छ । धु्रव र उत्तानपादको स्थिति र कशिपु–प्रल्हादको स्थिति बिल्कुल फरक देखिन्छ ।’
मूलत: मैनालीको यो समालोचना–कृतिले नेपाली नाट्य लेखनमा बेग्लै धरातल बनाएका समको व्यक्तित्व र कृतित्वको विशद् चर्चा त गरेको छ नै, समको नाट्य लेखनमा नाट्य वस्तु र संरचनाको द्वन्द्वलाई जसरी उठाइएको छ, पात्रहरूको मनस्थितिलाई जसरी केलाइएको छ र संवादको संयोजन जुन कलात्मक ढंगले गरिएको पाइन्छ, ती सबै पक्ष बुझ्न पनि यो लघु–समालोचनाले निश्चय नै सघाउनेमा दुईमत नहोला ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply